ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 1, 2009

राष्ट्रपतिका बारेमा छलफल गर्न दिन्नौं ;'माओवादीलाई सरकारको नेतृत्व गर्न दिनु भनेको देशलाई खाल्डामा पुर्नु हो' - सुशील

नेपालगन्ज, असोज १५ (नागरिक) - नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले राष्ट्रपतिको कुनै पनि बिषयमा संविधान सभा बैठकमा छलफल चलाउन नदिइने बताएका छन्। नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक सभापति कोइरालाले भने -'अन्तरिम संविधानमा पनि राष्ट्रपतिका बिषयमा संशोधन हुनै सक्दैन।' नेकपा एमाले र एकिकृत नेकपा माओवादीका नेताहरु जारी राजनीतिक संकट निकासका लागि राष्ट्रपतिका विषयमा अन्तरिम संविधानमा भएको कार्याक्षेत्र संशोधन गर्न तयार भएका बेला कोइरालाको उक्त भनाइ प्रकासमा आएको हो। 

एकिकृत नेकपा माओवादीलाई सरकारको नेतृत्व गर्न दिनु भनेको देशलाई खाल्डामा पुर्नु हो भन्दै उनले सरकारमा सहभागि हुन पनि पहिले एकिकृत माओवादीले जङ्गली प्रवृति त्याग्नु पर्छ भने। 

उनले एमाले नेतृत्वको सरकारलाई नेपाली कांग्रेसको पूर्ण समर्थन रहने स्पष्ट पारे। 'सरकार गिराउछु भन्नेले बहुमत सिद्ध गर्नु पर्छ, हावामा मात्र गफ गरेर सरकार ढल्दैन' - कोइरालाले भने।

एकिकृत माओवादीले शान्ति सम्झौताको पूर्ण पालन नगरुञ्जेल थप वार्ताको औचित्य नभएकोमा कोइरालाले जोड दिए। 'अहिले दलहरुबीच चलिरहेको वार्ता सकारात्मक भए पनि एकिकृत माओवादीले लोकतान्त्रिक संस्कृतिलाई आत्मसात नगरेसम्म वार्ताले सार्थकता पाउन सक्दैन" कोइरालाले भने। 

कार्यवाहक सभापति कोइरालाले जनसंख्या, भूगोल, संस्कृति तथा आर्थिक संभाव्यताका आधारमा संघीय संरचना निर्माण गर्ने तयारीमा पार्टी लागेको बताए। उनले आगामी महाधिवेशनमा आफू पार्टी सभापति पदको उम्मेदवारी दिने दाबी पनि गरे।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by