ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 27, 2009

गाईपालनमा आकर्षण बढ्यो

रुकुम, असोज ११- भैंसीको भन्दा बढी दूध उत्पादन हुन थालेपछि रुकुममा गाईपालनप्रति आकर्षण बढेको छ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार गाईपाल्ने किसानहरूको सङ्ख्या तीन हजार पैतालिस छ। बजारनजिक हुँदा व्यापार गर्न सकिने र गाईले दिनमा तीनपटकसम्म दूध दिने भएकाले आफूले गाई पाल्न थालेको खलङ्गा-५ का सुरवीर खत्री बताउँछन्।

यिनले सुरुमा दाङबाट रु. ३२ हजारमा एउटा गाई किनेर ल्याएको बताए। गाईले दिनमा १५ लिटरसम्म दूध दिन थालेपछि आफै छक्क परेको खत्री बताउँछन्।

गाईपालनप्रति किसानको आकर्षण बढेपछि जिल्लामा सातवटा दुग्ध सहकारी संस्थाहरू खुलेका छन्। सदरमुकाममा खुलेका किसान बहुउद्देश्यीय दुग्ध सहकारी संस्थामा दैनिक गाईको दूध ५०० लिटरसम्म खपत हुने अध्यक्ष नरबहादुर खड्काले बताए।

'एउटा गाईको दूध तीनवटा भैँसीको भन्दा बढी हुन्छ, त्यसैले सबै किसानलाई यही पेसा अँगाल्न आग्रह गरेको छु' - उनले बताए।

उनीजस्तै साँख- ४ का हरिबहादुर केसीलाई पनि गाई पालन खुबै रहरको विषय बनेको छ। दूधको बाल्टी देखाउँदै उनले भने -'बिहानै उठेर दूध लिएर बजार जान पाउँदा खुसी लाग्छ।'

आफूले चाहेको बेला खान पाइने र बिक्री गरी आम्दानी पनि हुनेभएकाले गाईपालन उचित पेसा भएको उनी बताउँछन्। रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by