ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 1, 2009

६ महिनापछि राष्ट्रपति-माओवादी अध्यक्ष भेट


काठमाडौं, १४ असोज/ झन्डै पाँच महिना लामो संवादहीनताको अन्त्य गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति डा. रामवरण यादवसँग संवाद थालेका छन् । राजनीतिक गतिरोध अन्त्य गर्न माओवादी अध्यक्षले बुधबार साँझ राष्ट्रपतिलाई भेटेका छन् ।

माओवादी नेतृत्वको सरकारले गरेको तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गर्ने निर्णय राष्ट्रपति डा. यादवले उल्ट्याएपछि माओवादी नेतृत्व र राष्ट्रपतिबीचको सम्बन्ध चिसिएको थियो । राष्ट्रपतिको कदम र माओवादी अडानका कारण जारी राजनीतिक गतिरोध अत्य गर्न तीन प्रमुख दल तात्तिएको वेला माओवादी अध्यक्षले राष्ट्रपतिलाई पनि भेटेका हुन् ।

माओवादी अध्यक्ष प्रचण्ड र राष्ट्रपति डा. यादवबीच झन्डै एक घन्टा छलफल भएको हो । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राष्ट्रपति र माओवादी अध्यक्षबीच आपसी सहमतिमा भेटको समय तय भएको बताए । 'उहाँहरूको आपसी सहमतिमा भेटवार्ता भएको छ,' उनले भने ।

भेटवार्तामा राष्ट्रपति डा. यादवले माओवादी अध्यक्ष प्रचण्डलाई अन्य प्रमुख राजनीतिक दलहरूलाई पनि विश्वासमा लिएर राष्ट्रिय हितमा अघि बढ्न सुझाब दिएका थिए । उनले शान्ति-प्रक्रियालाई निष्कर्षमा पुर्‍याउँदै निर्धारित समयमा लोकतान्त्रिक संविधान निर्माण गर्न आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको जानकारी दिएको पनि स्रोतले जनाएको छ ।

राष्ट्रपतिले दलहरूको एकताले मात्र निर्धारित समयमा संविधान निर्माण सहज हुने उल्लेख गर्दै दलहरूबीच सहमति कायम नहुँदा मुलुकमा अन्योल र अस्थिरता उत्पन्न भएको गुनासो गरेका थिए । उनले संविधानसभाको सबैभन्दा ठूलो दलको हैसियतले जस र अपजस पनि धेरै माओवादीमाथि नै जानेतर्फ पनि माओवादी अध्यक्षलाई सतर्क गराएका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक गतिरोध अन्त्य गर्दै दलहरूबीच उन्नत स्तरको सहमति कायम गर्दै अघि बढ्न तयार रहेको बताएका थिए । उनले राष्ट्रपति डा. यादवसँग राजनीतिक गतिरोध अन्त्यका लागि सकारात्मक सहयोग गर्न राष्ट्रपतिलाई आग्रह पनि गरेका थिए ।

राष्ट्रपति र माओवादी अध्यक्षले विगतकोे समीक्षा गर्दै आगामी दिनमा मिलेर जाने सहमतिसमेत गरेका छन् । माओवादी अध्यक्षले राष्ट्रपति यादवलाई आगामी एक साताभित्र दलहरूबीच सहमति कायम गरी पुनः भेट्न आउने आश्वासन दिएको पनि स्रोतले जनाएको छ ।

भेटबारे सञ्च्ाारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डलेे समसामयिक विषयमा कुराकानी भएको बताए । उनले भने, 'विगतको समीक्षा गर्दै एक-अर्काको भावना साटासाट गर्‍यौँ । भेट निकै सौहार्द भयो ।' प्रचण्ड २१ वैशाखमा प्रधानमन्त्रीबाट राजीनामा दिन गएपछि उनीहरू आम्ने-साम्ने भएको यो पहिलोपटक हो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by