इटहरी, असोज ११- सुनसरी जिल्लाको मधुवन र पश्चिम कुशाहा गाविसमा बसोवास गर्दैआएका झाँगड समुदायका मानिसका लागि यतिखेर पटेरको गुन्द्री बनाई पेसा आम्दानीको गतिलो माध्यम सावित भएको छ।
विगतमा सामान्य रूपमा खेतीपाती र माछा मार्ने पेसा गर्दैआएका झाँगड समुदायका केही मानिसले मात्र यो पेसाको रूपमा पटेर गुन्द्री बुन्दै आएकोमा यतिखेर प्रायः सबै झाँगड समुदायका महिलाहरू पटेर गुन्द्री
बुनाइलाई आफ्नो प्रमुख पेसाको रूपमा अङ्गाल्न पुगेका छन्।
सप्तकोसी नदीको सीमसारक्षेत्रमा पाइने पटेरबाट तयार भएको गुन्द्रीको बिक्रीबाट राम्रो आम्दानी आर्जन हुन थालेपछि मधुवन तथा पश्चिम कुशाहाक्षेत्रका सबै झाँगड महिलाहरू घरमा नै तान राखेर नियमितरूपमा गुन्द्री बुन्न व्यस्त हुन थालेका छन्।
एकजना महिलाले दैनिक रूपमा एकदेखि दुईवटासम्म गुन्द्री तयार गर्नसक्ने अनुभव सङ्गालेका झाँगड महिलाहरूले महिनामा पटेरको गुन्द्री तयारीबाट राम्रो आम्दानी पाउन थालेकाले पटेर गुन्द्री बुनाइ उनीहरूका लागि मुख्य आयस्रोत बन्न गएको छ।
सबै उपभोक्ताहरूले मन पराउने र प्रयोगमा समेत सजिलो हुनेभएकाले यसको बजार पनि राम्रो रहेको र एउटा सामान्य गुन्द्री रु.१५०। देखि २००।- सम्ममा बिक्री हुनेभएकाले पनि पटेर गुन्द्री बुनाइ पेसा झाँगड समुदायका महिलाका लागि रोजाईको पेसा बन्न पुगेको हो।
यसको बजार मागसमेत उच्च रहेको र गुन्द्री बुनाइ पेसाबाट धेरै मुनाफासमेत हुनेभएकाले उनीहरू यस पेसाप्रति आकर्षित रहेको झाँगड महिलाको भनाइ रहेको छ।
माछा मार्ने र खेतीमा बनिबुतो गर्दैआएका झाँगड महिलाको अहिले आफ्नै घरमा बसीबसी आम्दानी आउन थालेपछि उनीहरू बिहानैदेखि आफ्नै आँगनमा आम्दानीको स्रोतको रूपमा रहेको गुन्द्री बुन्न व्यस्त हुन थालेका छन्।
झाँगड महिलाहरूले तयार गरेको गुन्द्री हिजोआज पूर्वी नेपालका प्रायः सबै बजारमा पुग्नेगरेको छ भने काठमाडौँतिर समेत पठाउन थालिएको उनीहरूले बताए।
रङ लगाएर तयार गरिएको पटेरको गुन्द्रीको मूल्य रु.५००।- सम्ममा बिक्री हुनेगरेकाले पनि यो पेसा झाँगड समुदायका महिलाका लागि मुख्य स्रोत बन्न पुगेको पाइएको छ। रासस
No comments:
Post a Comment