ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 30, 2009

संविधान निर्माणलाई केन्द्रमा राखेर सहमति खोजिनेः खनाल मंगलवार

काठमाडौँ, असोज १३-नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष झलनाथ खनालले मुलुकका सबै प्रमुख राजनीतिक दलले संविधान निर्माणलाई केन्द्रमा राखेर कार्य गर्नुपर्ने बताएका छन्। कजाकस्तानको अस्तानामा आयोजित एसियाली पार्टीहरूको पाँचौ सम्मेलनमा भाग लिई मंगलबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै
अध्यक्ष खनालले संविधान निर्माणमा देखिएका बाधा-व्यवधान पन्छाएर राजनीतिक सहमतिका साथ अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता रहेको औँल्याए।

सहमति र सहकार्यका निम्ति नेकपा एमाले सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै अध्यक्ष खनालले सहमतिको सरकार नबनेसम्म संविधान निर्माणको कार्य पूरा हुनसक्दैन भन्नेमा पार्टीको धारणा यथावत रहेको बताए।

अध्यक्ष खनालले एकीकृत नेकपा (माओवादी)ले संसदमा छलफल गर्न चाहेको सङ्कल्प प्रस्तावलाई साझा सङ्कल्प प्रस्तावका रुपमा अघि बढाउनु उपयुक्त हुने धारणा एमालेले प्रस्तुत गरिसकेको बताउँदै भने-"अहिले आन्दोलन र दलीय प्रतिस्पर्धा गर्ने समय होइन भन्ने कुरालाई माओवादीले बुझ्नुपर्छ, संविधान निर्माणका निम्ति सहकार्य र सहमति गरेर अघि बढ्नुबाहेक अर्को विकल्प छैन।"

समयमै संविधान बन्न सकेमा मात्र मुलुक संवैधानिक प्रक्रियाबाट अघि बढ्ने चर्चा गर्दै उहाँले राजनीतिक रुपमा हाल देखिएका केही गतिरोध फुकाउन दलहरूबीच सहमति भएमा संविधान संशोधन हुनसक्ने बताए।

उनले नेपाली काङ्ग्रेस र एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताहरूबीच राजनीतिक गतिरोध अन्त्यका लागि सहमति बनेको हो भने त्यसलाई सकारात्मक मान्न सकिने उल्लेख गरे।

तपाईं आउनुभएपछि राजनीतिक गतिरोध अन्त्य हुने चर्चा चलिरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष खनालले प्रमुख दलहरूबीच देखिएको गतिरोध अन्त्यका निम्ति विगतदेखि नै प्रयास भएको थियो तर अब त्यसलाई तीव्रता दिइनेछ भने। रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by