ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 3, 2009

जिल्ला प्रहरी कार्यालयभित्र महिला प्रहरी बलात्कृत

५ सदस्यीय छानविन समिति गठन
दिलबहादुर छत्याल, अछाम असोज १७ - अछाम जिल्ला प्रहरी कार्यालयभित्रै आफूलाई ६ जना प्रहरीले बलात्कार गरेको आरोप एक महिला प्रहरी जवानले लगाएकी छन्। मासुमा चरेस मिसाएर खान दिइ प्रहरी सहायक निरीक्षकसहितले बलात्कार गरेको भन्दै उनले धनगढीस्थित डिआइजी कार्यालयमा उजुरी दिएकी हुन। नवमीको दिन असोज ११ गते राति प्रहरी सहायक निरीक्षक दानसिंह भण्डारीलगायतले बलात्कार गरको महिलाले बताएकी छन्। प्रहरी कार्यालयभित्रै सामूहिक बलात्कार गरेको किटानीसहित उजुरी दिए पनि कसैलाई कारबाही अगाडि बढाइएको छैन। 
घटनाको छानविनका लागि क्षेत्रीय प्रहरी कार्यालय दीपायलका एसपी प्रेम चन्दको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको छ। ५ दिनपछि मात्र मेडिकल जाँच पनि गरिएको छ। नवमीको दिन साँझ प्रहरी कार्यालयभित्र सञ्चारका साधनको पूजा गर्न बोका बली दिइएको थियो। सञ्चारको पूजा गर्नुपर्ने भएकाले साँझ सञ्चारमा आउन प्रहरी सहायक निरीक्षक भण्डारीले दिउसै खवर गरेर बोलाएको ती महिला प्रहरीले बताइन्। 

'साँझ ढल्किँदै जाँदा असहीलगायतका प्रहरी मासु र मदिरा खान थाले। मैले खाएको मासुमा के नशालु पदार्थ मिसाएको रहेछ। टाउको घुमेर ढल्छु जस्तो भइरहेको थियो', उनले भनिन्- सञ्चारको पूजाका लागि अगरबत्ति बाल्न भन्यो। अगरबत्ति बालेर राख्न खोज्दा मलाई समातेर सामूहिक बलात्कार गरे।
बलात्कृत भएपछि बेहोस भएकी महिला प्रहरी जवानको दोश्रो दिनमात्र होश खुलेको उनका श्रीमान् टेकेन्द्र शाहले बताए।

'राति ११ बजेको थियो। म सदरमुकाममा आफ्नो कोठामा थिएँ। मलाई श्रीमतीले फोन गरेर बलत्कृत भएको बताइन्, म राति साँढे ११ बजे प्रहरी कार्यालय पुग्दा उनी बेहोस थिइन', उनले भने- म उनको मुखमा पानी छर्कंदै थिएँ, प्रहरीहरु आएर मलाई कुटपिट गरे।

श्रीमतीसँगै धनगढी आएका शाहले उनीसँग गत वैशाखमा प्रेम विवाह भएको बताए। दोश्रो दिन नै सामूहिक बलात्कार भएको भनेर उजुरी दिँदा जिल्ला प्रहरी कार्यालय अछामले दर्ता नगरेको उनले बताए। जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता नगरेपछि फोनबाट नै डिआइजीलाई खवर गरिन्। डिआइजीको सल्लाहअनुसार नै असोज १४ गते क्षेत्रीय प्रहरी कार्यालय दीपायलमा उजुरी दर्ता गराएकी थाहा भएको छ। डिआइजी पार्वती थापा मगरले ती महिला प्रहरीलाई धनगढी बोलाएर आफैं बयान लिएकी थिइन्। 

ती महिलाको ५ दिनपछि बिहीबार मात्र अञ्चल अस्पताल धनगढीमा मेडिकल जाँच गरिएको छ। थापा मगरले यो घटनाप्रति निकै संबेदनशील बनेको प्रतिक्रिया दिइन्।  ती महिलाले उजुरीमा प्रहरी सहायक निरीक्षक भण्डारी, प्रहरी हवल्दार वीरेन्द्र बम, प्रहरी हवल्दार करवीर थलाल, प्रहरी हवल्दार बिरादत्त बडु , प्रहरी जवान डम्बर पाल, जगदीश पाण्डे र नरिभान महताराले सामूहिक बलात्कार गरेको उल्लेख गरेकी छन्।

एसपी चन्दको नेतृत्वमा २ जना महिला प्रहरी सहायक निरीक्षकसहित ५ सदस्यीय छानविन समिति गठन गरेको डिआइजी थापा मगरले बताइन्। समितिले ५ दिनभित्र प्रतिवेदन बुझाउनेछ। 'अछाम जिल्ला प्रहरी कार्यालयबाट उसलाई रेस्क्यु गर्नुपर्ने थियो। म संवेदनशील भएर नै रेस्क्यु गरेर धनगढी बोलाएको हुँ। म महिला डिआइजी भएकाले पनि बढी संवेदनशील भएकी छु', डिआइजी थापा मगरले भनिन्- अहिले नै सबै कुरा भन्न मिल्दैन तर दोषीलाई कडाभन्दा कडा कारबाही हुन्छ।

माथिबाट निर्देशन नआएकाले अहिलेसम्म आरोपितहरुलाई निलम्बन नगरिएको उनले बताइन्। आरोप लगाइएका प्रहरी सबैजना जिल्ला प्रहरी कार्यालय अछाममा काममा खटिएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरीले भने ती महिलामाथि सामूहिक बलात्कार नभएको दाबी गरेका छन्। बाहिरको केटासँग सुतेको अवस्थामा भेट्टाइएपछि उनले बलात्कार गरेको आरोप लगाएको आरोपितहरुको आरोप छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by