ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 2, 2009

'मधेसी र जनजाति दबाउन विशेष सुरक्षा-योजना’


सप्तरी, १५ असोज/ 
नेकपा माओवादीका अध्यक्ष मातृका यादवले मधेसका मधेसी र पहाडका जनजातिलाई दमन गर्न सरकारले विशेष सुरक्षा-योजना ल्याएको आरोप लगाएका छन् । नेकपा माओवादी सप्तरीद्वारा आयोजित कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्न राजविराज आइपुगेका यादवले बिहीबार बिहान सञ्चारकर्मीसँग यस्तो आरोप लगाएका हुन् ।

सरकारले इन्काउन्टरका नाममा मधेसी जनता मार्न थालेको आरोप लगाउँदै यादवले भने, 'विशेष सुरक्षा-योजना मधेस लुट्न ल्याइएको हो ।' नियम-कानुन पालनाको कुरा गर्ने सरकारले आफैं कानुन हातमा लिई मधेसमा नक्कली इन्काउन्टर गर्न थालेको आरोप उनले लगाए । सरकारले मानवअधिकारको उल्लंघन गरिरहँदा पनि मधेसवादी दलहरू भने विशेष सुरक्षा-योजनामा औंठा छाप लगाई मौन बसेको उनले यादवले बताए ।

नक्कली इन्काउन्टरमा मधेसका सशस्त्र समूहहरू नमासिने दाबीसमेत नेकपा माओवादीका अध्यक्षले गरे । मधेसका सशस्त्र समूहहरूसँग मधेसमुक्तिको कुनै योजना नभएकोसमेत यादवले आरोप लगाए । उनले भने, 'उनीहरू पनि मधेस लुट्ने योजनामै छन्, सशस्त्र समूहका केही नेतामात्र राजनीतिक पृष्ठभूमिका छन्, अधिकांश कार्यकर्तामा आपराधिक प्रवृत्ति छ ।'

अहिलेको परिस्थितिमा अलग देशको माग उपयुक्त छैन भन्दै यादवले आत्मनिर्णयसहित स्वशासनको मागका लागि सबै सशस्त्र समूहलाई एकजुट भएर लड्न आह्वानसमेत गरे । सशस्त्र समूहसँग कार्यगत एकता गर्न जयकृष्ण गोइतसँग तीनपटक टेलिफोन सम्पर्क गरेको खुलासासमेत यादवले गरेका छन् ।

यादवले पृथ्वी समूह, पवन गिरीको समूह र रामविलास यादवको समूहसँग भेटघाटसमेत गरेको र मधेस मुद्दामा संवाद अघि बढाउन उनीहरूसँग आग्रह गरेको बताए । सञ्चारकर्मीको एक जिज्ञासामा यादवले जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष ज्वालासिंहको उदय अपराधीकरणबाटै भएको आरोप लगाउँदै उनीसँग आफू कुरा गर्ने पक्षमा नरहेको बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by