ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 2, 2009

कोइरालाद्वारा अरुलाई गाली नगर्न दाहाललाई सल्लाह

'अहिंसा नै ठूलो अस्त्र' - 
लेखनाथ पाण्डे, काठमाडौं असोज १६- कङ्ग्रेस नेता तथा पूर्व प्रधान मन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भाषण गर्दा अरुलाई गाली नगर्न सल्लाह दिएका छन्। उनले भने- गान्धीले 'कसैलाई अपशब्द नबोल्नु, मीठो बोल्नु, सँधै आफ्नो अडानमा अडिग रहनू' भन्ने सन्देश दिएका छन्। त्यसैले प्रचण्डजी, भाषण गर्दा अन्य दल र नेतालाई गालीगलौज नगर्नुस्। 
'प्रचण्डजीलाई भाषण गर्दा गालीगलौज नगर्न, बरु संविधान बनाउनतिर लाग्न म आग्रह गर्छु'- उनले व्यङ्ग्य गरे।  सोही कार्यक्रममा तीन प्रमुख दलका शीर्ष नेताले राजनीतिक समझदारीका आधारमा संविधान लेखन र शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्। 

महात्म गान्धीको १४० औं जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा शुक्रबार तक्षशीला एकेडेमीमा आयोजित 'शान्ति प्रक्रिया : चुनौती तथा विकल्पहरू' विषयक छलफलमा एकिकृत माओवादी, नेपाली कङ्ग्रेस र एमालेका प्रमुखले यस्तो प्रतिबद्धता दोहोर्‍याएका हुन्। कङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हिंसाबाट होइन, अहिंसाबाट राजनीतिक सहमति खोज्नुपर्ने बताए। 'हिंसाबाट हुँदैन, असिंहा नै ठूलो अस्त्र हो'- आफ्नो प्रेरणाको स्रोतै गान्धी भएको उल्लेख गर्दै कोइरालाले भने।
 
कोइरालाले भने- 'यसको सबैभन्दा ठूलो क्रेडिट प्रचण्डजीलाई जान्छ, उहाँले त्यत्रो हिंसा गरेर अहिले बन्दुक थन्क्याउनुभएको छ, शान्ति प्रक्रियाका लागि। तसर्थ नेपालको सन्दर्भमा गान्धीको आदर्शको ठूलो अर्थ छ।'
गान्धीले बताएको सात वटा सामाजिक पाप मनन गर्न सबैलाई आग्रह पनि गरे उनले । ती पापमा सिद्धान्तविनाको राजनीति, विनापरिश्रम आर्जेको सम्पत्ति, चरित्र विनाको ज्ञान, बलिदानविनाको प्रार्थनालगायत् छन्। कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर शान्ति प्रक्रिया अघि बढाउन र दलबीचको आपसी मनोमालिन्य अन्त्य गर्ने दिशामा सबै दल सकारात्मक भएको बताए।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले सेना समायोजन तथा पुनःस्थापन र संविधान लेखन शान्ति प्रक्रियाको खम्बा भएको उल्लेख गर्दै यसैको सफलताका आधारमा शान्ति प्रक्रियाको सफलता निर्भर गर्ने बताए।
देशमा संविधान विरोधी र नागरिक सर्वोच्चताविरुद्धका कार्यहरूले शान्ति प्रक्रिया अबरुद्ध पार्ने प्रवृति देखिएको औल्याउँदै त्यसलाई सफल हुन नदिन आफ्नो दल प्रतिबद्ध रहेको दाबी गरे। उनले मुख्यतः सेनापति प्रकरणमा राष्ट्रपतिको कदमप्रति संकेत गरेका थिए।

'यी नकारात्मक प्रवृतिविरुद्ध शान्ति, संविधान र नागरिक सर्वोच्चताका लागि राजनीतिक समझदारी गर्ने पक्षमा हाम्रो पार्टी प्रतिबद्ध छ'- दाहालले भने। दाहालले १० वर्ष सशस्त्र संघर्ष गरेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको आफ्नो पार्टीका लागि गान्धीको आदर्श र अहिंसा दिवस झनै सान्दर्भिक रहेको टिप्पणी गरे।

अध्यक्ष दाहालले सबै दलबीच सहमति कायम गरेर विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने विश्वाससमेत व्यक्त गरे। 'पार्टीबीच सहमति कायम गरेर विद्यालयलाई शान्ति क्षेत्र बनाउने विश्वास दिलाउन चाहन्छौं'- प्रचण्डले भने। कार्यक्रमको सुरुमा प्राध्यापक जयराज आचार्यले यससम्बन्धी प्रस्ताव राखेका थिए।

एमाले अध्यक्ष झलनाथ खनालले सबैलाई मान्य हुने राजनीतिक सहमति गरेर शान्ति प्रक्रिया, संविधान लेखन प्रक्रिया पूरा गर्न प्रस्ताव गरे। त्यसका लागि समझदारी गरेर अघि बढ्न आफ्नो पार्टी स्वार्थभन्दा माथि उठेर जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको उनले बताए 'सबै दलबीच साझा मार्ग निर्धारण गरौं, सबैलाई मान्य हुने समझदारी खोजौं र देश निर्माण गरौं'- उनको आग्रह थियो।

खनालले माओवादी संविधानसभाको सबैभन्दा ठूलो दल भएकाले उसका सामु दायित्व र जिम्मेवारी पनि ठूलो भएको औल्याउँदै हिंसाको औचित्य र उपादेयता समाप्त हुँदै गइरहेको बताए। 'हाम्रो देशमा हिंसाका माध्यमबाट नेपाली समाजमा परिवर्तन देखिएन' माओवादी जनयुद्धप्रति संकेत गर्दै उनले भने- तर शान्तिपूर्ण आन्दोलनले देशमा राजतन्त्र उन्मूलन गर्नेदेखि ठूला परिवर्तन सम्भव भए। खनालले सभापति कोइरालाको नामै लिएर भने- 'जीवनको यो महत्वपूर्ण घडीमा समझदारी र बृहत्तर एकताका लागि उहाँले गर्न सक्ने भूमिका अति महत्वपूर्ण छ।'

खनालले गान्धी दिवसका अवसरमा सबै दलले एकबद्ध भएर 'संविधान बन्छ, लोकतन्त्र फल्छ–फूल्छ र देश बन्छ' भन्ने सन्देश दिन सकौं भन्ने आग्रह गरे। कार्यक्रममा भारतीय राजदूत राकेश सुदले गान्धीको सिद्धान्त सत्य र अहिंसा भएको उल्लेख गर्दै उनको यही सिद्धान्तमार्फत् भारत झण्डै तीन शताब्दी लामो बेलायती उपनिवेसबाट स्वतन्त्र बनेको बताए। गान्धीको नैतिक शक्ति र प्रभाव भनेकै अहिंसा र सत्य भएको उनले बताए। 'शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्‍याउन गान्धीको आदर्श उपयोगी छ'- उनले भने।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by