ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 27, 2009

के होला कोइराला-दाहाल वार्तामा?

समाचार विश्लेषण
काठमाडौँ, असोज ११ (नागरिक)- दुई पूर्वप्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका प्रमुखहरु नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आज साँझ वार्ता हुँदैछ। यो वार्तापछि केही समयदेखि रहेको राजनीतिक गतिरोध अन्त्य हुने विचार कोइरालाले विराटनगरमा व्यक्त गरेका छन्। तर दुवै पक्ष आफ्नो अडानबाट पछि नहटेसम्म यो संभव देखिँदैन।

वर्तमान गतिरोधको अन्त्यका लागि प्रधानमन्त्री माधवकुमार नेपालको पहलमा माओवादीसँग भएको वार्तामा विभिन्न सहमति भएको थियो। यसै अनुरुप बजेट सत्रका लागि सदन खोलेर माओवादीले आन्दोलन फिर्ता लिएको थियो। तर सहमति पूरा नभएको भन्दै माओवादी पुनः आन्दोलनमा उत्रेको हो। एमालेभन्दा पनि मूलतः काँग्रेस र माओवादी कै अडानका कारण वर्तमान गतिरोध कायम छ।



राष्ट्रपतिको कदमबारे सदनमा कुनै छलफल नहुने अडानमा काँग्रेस दृढ छ। माओवादीमा भने अध्यक्षको विचार र पार्टीको अडान बाझिएको छ। पार्टीले राष्ट्रपतिको कदमबारे सदनमा छलफल हुनैपर्ने अडान राखे पनि अध्यक्ष दाहालले संविधान संशोधन पनि विकल्प हुनसक्ने, सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने जस्ता अभिव्यक्ति दिइरहेका थिए।

दाहालको त्यस्तो अभिव्यक्तिका कारण माओवादीका वरिष्ठ नेताहरु समेत हैरान भएका थिए।

यद्यपि माओवादी सामान्यतया आफ्नो अडानमा दृढ नै छ। उसले राष्ट्रपतिको कदम र नागरिक सर्वोच्चताको विषयलाई आफ्नो मूल मुद्दा मानेको छ।

दुवै पक्ष आआफ्नै अडानमा कायम रहने हो भने जतिसुकै वार्ता भए पनि कुनै उपलब्धि संभव छैन।

यस्तो अवस्थामा काँग्रेस सभापति कोइरालाले आजै गतिरोध अन्त्य हुने बताएपछि काँग्रेस कुनै नयाँ रणनीतिमा लागेको संकेत प्राप्त हुन्छ। सभापति कोइरालाको प्रस्तावलाई माओवादी अध्यक्षले स्वीकार्ने हुन् कि हैनन् त्यो भने हेर्न बाँकी छ।

तर, पछिल्ला दिनमा कोइराला र दाहाल दुवैको बोली अचम्मैसित मिल्न थालेको छ। दुवैले दशैँका बेला नै सहमति हुने बताउँदै आएका छन्।

अस्वस्थताको निहुँमा प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न अस्वीकार गरेपछि कोइराला र नेपालबीचको दूरी सतहमा आइसकेको छ। नेपालको कार्यशैलिप्रति कोइराला असन्तुष्ट रहेको बताइन्छ। यस्तो अवस्थामा नेपाल देशबाहिर रहेका बेला हुन लागेको यो वार्ताले नेपालको राजनीतिमा कस्तो मोड लेला, हेर्न बाँकी छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by