ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 3, 2009

रात्री गस्तीले अपराध घट्यो

महोत्तरी, २०६६ आश्विन १७ - लोकमार्गमा सुरक्षा सतर्कता बढेपछि सवारी लुटका घटनामा कमी आएको छ । विगतमा दसैं तिहारका बेला दिनहुँजसो लुटपाट घटना भएपछि यसपटक सुरक्षा कडा पारिएको र यात्रा सहज, सुगम र सुरक्षित भएको यात्रु एवं सवारी चालकले बताएका छन् । यसअघि आपराधिक क्षेत्रका रूपमा रहेको लोकमार्गका जंगल इलाकामा 'भयरहीत यात्रा' का लागि सशस्त्र प्रहरीले सुरक्षा निगरानी बढाएपछि अपि्रय घटना हुन नपाएको हो । यसका लागि सुरक्षा विशेष रणनीति अन्र्तगत सडक क्षेत्रमा चेकप्वाइन्ट, रात्रि गस्ती, सूचना सम्प्रेषण तथा पिकेट ड्युटीजस्ता सुरक्षा गतिविधि तीव्र पारेको सशस्त्र प्रहरी बल छिन्नमस्ता गणले जनाएको छ ।

गत वर्ष दसैं तिहार तथा छठका बेला पूर्व पश्चिम लोकमार्गको जंगली क्षेत्रमा सवारी लुटका सयौं घट्ना हुनुका साथै आपराधिक गोली प्रहार गरी सत्यसाई ट्राभल्सका चालकको हत्या गरेपछि आवागमन असुरक्षित बनेको थियो । जसका कारण कतिपय सवारीधनीले रात्री सेवा बन्द गरेका थिए भने दीवा सेवामा यात्रु चाप बढेको थियो ।
'यसपालादेखि सुरक्षित यात्राका लागि अपराध नियन्त्रण प्रयासमा जुटेका छौं', बर्दिवासस्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता गणका एसपी राजेन्द्र शाक्यले भने ।
रात्री पोस्टको निगरानी, अनुगमन र सहयोगका लागि सशस्त्र प्रहरीेले सवारीसहितको रात्री गस्ती परिचालन गरेको हो । रात्री पोस्ट, सशस्त्र गस्ती र नियन्त्रण कक्षबीच सूचना सम्प्रेषणको नेटवर्किङले अपराध नियन्त्रणमा सहयोग मिलेको शाक्यले
जिकिर गरे । 
सशस्त्र प्रहरी निरीक्षक विकास अधिकारीका अनुसार ती स्थानमा ११ बेसक्याम्पले अघिदेखि नै सुरक्षा दिँदै आएकामा ३० रात्रीपोस्ट थपिएपछि अब ५ देखि ८ सय मिटरको दूरीमा सशस्त्र प्रहरीको उपस्थिति बाक्लिएको छ । यी पोस्टले आउने जाने सवारीको सूचना अघिल्ला पोस्टमा दिने गरेका छन् । सूचना अनुसार सवारी नआए निगरानी तथा अनुगमन गस्तीलाई जानकारी गराई तत्काल खोजी तथा उद्धारको व्यवस्था मिलाइकाले लोकमार्गमा सबैले सुरक्षा अनुभूति गर्न सकेको अधिकारीले जिकिर गरे । 
रात्री सेवाका चालकले समेत विगतको घट्ना सुनाउँदै यसपटक सुरक्षित अनुभूति गरेको बताए । विगत वर्ष घटेका सवारी लुटपाटका थुप्रै त्रासदी सुनाउँदै पवनहंस ट्राभल्सका स्टाफ शेष अहमदले यसपटक सुरक्षा व्यवस्थाले राहत महसुस गरेको अनुभव सुनाए ।
'यो वर्ष त दसंैको बेलासमेत कुनै घटना भएन', अहमदले भने, 'निर्धक्क गाडी चलेका छन् ।' जिप चालक चन्दन साहले गत वर्ष सर्लाहीबाट विहेको गाडी लिएर आउँदा बाँके र लक्ष्मीनियाबीचको जंगलमा सात मोटरसाइकलमा आएका हतियारधारी लुटेराले पिछा गरी आफूहरूलाई लुटेको घटना सुनाए । त्यसपछि उनले उक्त रूटमा सेवा नै बन्द गरेको बताए ।
जिल्लामा विशेष सुरक्षा व्यवस्था लागू भएकाले लोकमार्ग बाहेक बर्दिवास, ढल्केबर, वीरेन्द्रबजार, लालबन्दीलगायत स्थानमा चौबीस घन्टे पिकेट ड्युटी खटाएको एस्पी शाक्यले बताए । स्थानीय व्यापारीका अनुसार पिकेट ड्युटीका कारण बजार क्षेत्रमा चोरी, नशाखोरी तथा आवांक्षित गतिविधिमा कमि आएको छ ।
गत वर्ष दसंैको बेला बर्दिवासमा एकै रात दर्जन पसलका सटर फोरेर चोरी भएपछि बजारमा असुरक्षाको स्थिति सिर्जना भएको थियो । यसपाला भने त्यस्ता घटना नभएको बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश राउतले बताए ।
सुरक्षा व्यवस्थाले सवारी र यात्रुलाई मात्र नभई लोकमार्गका चोकहरूमा साना व्यवसाय सञ्चालन गरी गुजारा चलाउने परिवारलेसमेत राहत महसुस गर्न थालेका छन् । जंगल क्षेत्रमा पर्ने लक्ष्मीनिया चोकमा सशस्त्र प्रहरीले बेसक्याम्प खडा गरेपछि अहिले उक्त चोकमा ७ परिवारले चिया नास्ताको पसल गरी व्यवसाय चलाएका छन् ।
यसअघि असुरक्षाका कारण घाम अस्ताउनुपहिले नै लुटको डरले गाउँ र्फकनुपर्नेमा अहिले निर्धक्क व्यवसाय चलाउन पाएको चोकमा चिया नास्ताको पसल चलाउँदै आएकी पुनमदेवीले बताइन् । सुरक्षा व्यवस्थित भएदेखि लक्ष्मीनिया लगायत सडक छेउका गौशालारोड, बाँकेचोक, माईस्थान, सागरनाथ, रानीगन्जलगायत जंगली क्षेत्रका चोकहरूमा सयांै परिवारले गुजाराका लागि साना व्यवसाय चलाउने अवसर पाएका छन् ।
केही सवारी चालकले भने सशस्त्रले सुरक्षा कडा पारेदेखि अपराधीले स्वरूप परिवर्तन गरी लुटपाट जारी राखेको दाबी गरे । राजधानीमा खाद्यान्न आपूर्ति गर्दै आएका संजय सहनीका अनुसार सशस्त्रले सुरक्षा कडा पारेदेखि विभिन्न स्थानमा जवरजस्ती चन्दा असुली हुन थालेको छ ।
कडा सुरक्षा व्यवस्थाले लुट्न नपाएपछि उनै लुटेरा जबर्जस्ती असुलीमा लागेको उनको दाबी छ । यस्ता समूह नियन्त्रित नहुन्जेल राजमार्गमा सुरक्षा अनुभूति गर्न नसकिने उनले जनाए । 'कुनै न कुनै रूपमा हामी लुटिदै छांै', सहनीले भने, 'कहिले जंगलमा कहिले चन्दाका नाममा ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by