राजनीतिक ब्युरो/नयाँ पत्रिका
काठमाडौं, २ असोज
काठमाडौं, २ असोज
बिहानदेखि बेलुकासम्म सहकर्मी नेता, कार्यकर्ता, सहयोगी र शुभेच्छुकसँग हेलमेल भइरहने उच्च तप्काका राजनीतिक सबै नेताका दुख्ख उस्तै-उस्तै छन् । यान्त्रिक जीवन-शैली । अभाव, पीरमर्का र अन्यायका अनुभव भरिएका गुनासा या मागसहितका भेटघाट । निजी जीवनका लागि समय अभाव, यस्तै-यस्तै
। धन्न नेताहरू दुख्ख देखाउँदैनन् र भन्छन्—जनताको सुखको मूल्यमा नेताका दुख्ख केही होइनन् । हामीलाई यस्ता सामान्य दुःखले छुँदैनन् ।
खुला राजनीतिको मनग्गे स्वाद चाखेका एमाले नेता तथा प्रधानमन्त्री माधवकुमार नेपाल हुन् या लामो युद्धको पृष्ठभूमि हुँदै उदाएका माओवादी अध्यक्ष प्रचण्ड, सबै नेताका रुचि र जीवन-शैली फरक-फरक भए पनि अप्ठेराहरू भने एकै प्रकारका छन् ।
प्रधानमन्त्री भएदेखि माधवकुमार नेपालको व्यस्तता अरू बढ्यो । भीडभाडका बीचमा रहने एमालेका वरिष्ठ नेता नेपाल प्रधानमन्त्री भएयता कति दिन त भोकै बसेका छन् । कुनै पीर वा चिन्ताले होइन, बढ्दो व्यस्तताकै कारण !
कयौँ दिन खाना खान नपाउनुलाई प्रधानमन्त्री कहिल्यै दुःख ठान्दैनन् । 'निर्धारित कार्यक्रममा समयमै पुग्ने बानीले पनि प्रधानमन्त्री नेपालको पटक-पटक खाना मिस भएको छ,' प्रधानमन्त्रीका स्वकीय सचिव नीतेश पौडेल बताउँछन्, 'उहाँ यस्तै हो राजनीति भन्नुहुन्छ, चित्त बुझाउनुहुन्छ ।'
लामो समयदेखि प्रधानमन्त्री नेपालनजिक रहेका पौडेलले एउटा प्रसंग सुनाए । नेता नेपाल संवैधानिक समितिको सभापति भएका बेलाको कुरा हो रे ! कोटेश्वरस्थित नेपाल-निवासमा खाना पाकिसकेको थियो । प्रज्ञाभवन, कमलादीमा एउटा कार्यक्रममा जाने निर्णय गरिसकेका थिए उनले । समयमै कार्यक्रममा पुग्न नेपाल खाना छाडेर निस्केछन् कोटेश्वरबाट । 'म समयमा नपुगे अरू धेरैले दुःख पाउँछन्, आफ्ना कारणले अरूलाई किन दुःख दिने भन्दै उहाँ हिँड्नुभो,' पौडेल सुनाउँछन् । घरमा खाना नखाएका बेला नेपाल पार्टी कार्यालयको क्यान्टिनमा कार्यकर्तासँगै बसेर खाइदिन्थे विगतमा । तर, बढ्दो व्यस्तताका कारण धेरै समयदेखि उनले पार्टी कार्यालयको क्यान्टिनमा खाना खान भ्याएका छैनन् ।
नेताका घरमा हरेकजसो समय जम्मा भइरहने भीडलाई दुःख र झर्को मान्ने हो भने राजनीतिलाई सेवा मान्न नसकिने धारणा रहेछ प्रधानमन्त्री नेपालको । 'त्यो दुःख होइन, बरु आफ्ना समस्या लिएर आएका सर्वसाधारणको समस्या समाधान गर्न नसक्नुचाहिँ दुःख हो' पौडेलका अनुसार परिवारका सदस्यमाझ पनि प्रधानमन्त्री नेपाल यसै भन्ने गर्छन् । प्रधानमन्त्री नहुँदा पनि नेपालको घरमा बिहान ८ बजेदेखि नै भेट्नेहरूको भीड लाग्थ्यो । भेट्न आउनेलाई बुँदागत रूपमा कुरा राख्न सुझाउँछन् प्रधानमन्त्री नेपाल । सबैलाई चिया खुवाउनु, उनीहरूका कुरा सुन्नु र नबिर्सिई कार्यान्वयन गर्नुपर्ने भएकाले प्रधानमन्त्री परिवारले पनि झर्को नमान्ने पौडेलको अनुभव छ ।
सञ्चारमाध्यमबाट आइरहने टेलिफोनले नेताहरूलाई पार्ने हैरानीको सिकार नेपाल पनि हुन्छन् । प्रधानमन्त्री भएका बेलाचाहिँ त्यो क्रम घटेको छ । खाना खाँदा-खाँदै पनि बोल्नुपर्ने बाध्यतालाई पनि नेपाल सहज रूपमा स्वीकार गर्छन् । प्रधानमन्त्री हुनुअघि नेपाल खाँदा-खाँदै पनि पत्रकारसँग टेलिफोनमा कुरा गरिरहेका हुन्थे भने अहिले त्यो झन्झट छैन । त्यस झन्झटबाट उनलाई मुक्ति दिलाउँछन् पत्रकार विष्णु रिजालले ।
प्रधानमन्त्रीले परिवारका सदस्यलाई भने समय दिन सकेका छैनन् । एक छोरा र एक छोरीका बाबु नेपाललाई छोराछोरीले पनि पर्याप्त समय नपाएकामा गुनासो गरेका छैनन् । 'सधैँ, सबै समय राजनीतिक काममै भएपछि परिवारले पनि आफ्ना लागि समय नमाग्ने रहेछन्,' प्रधानमन्त्री नेपालको अनुभव सुनाउँदै पौडेलले भने । नेता नेपाल घरमा आएका बेला पिता मंगलप्रसादको चासो खुब राख्ने गर्छन् । 'जतिसुकै व्यस्त भए पनि पिताको भने खुबै ख्याल राख्नुहुन्छ,' पौडेलले भने । पौडेलका अनुसार व्यक्तिगत र पारिवारिक जीवनका लागि समय छुट्टयाउन नपाएकामा नेपाललाई पश्चात्ताप छैन न त उनका छोरा-छोरीको नै त्यसप्रति गुनासो छ ।
त्यसैगरी, सबैभन्दा ठूलो दलका सुपि्रमो अर्थात् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दैनिक जीवन पनि कम व्यस्त छैन । झट्ट हेर्दा लाग्छ प्रचण्डको पनि निजी जीवन छैन । बिहानैदेखि भेटघाटका लागि आफ्नै पार्टीका नेता, अन्य दलका नेता र शक्तिकेन्द्रका मान्छे पनि पुग्छन् प्रचण्ड-निवास, नयाँबजारमा । उनी पत्रकारहरूबाट चाहिँ अलिक टाढै छन् । पत्रकारहरूको फोन उठाउनुपर्दैन उनलाई, सहयोगी छन् । पार्टी काममा देशदौडाह गर्छन् बेलाबेलामा । पत्नी सीता पनि साथमा देखिन्छिन् उनीसँगै । 'भेटघाट र पार्टी काममै सबै समय खर्चिनुपर्छ,' प्रचण्डपुत्री रेणुको अनुभव छ । प्रचण्ड पुत्री रेणु भन्छिन्, 'जति नै व्यस्त भए पनि उहाँले हामी परिवारसँग आफ्ना दुख्खबारे कहिल्यै गुनासो पोखेको सुनिएको छैन ।'
व्यस्ततम जीवनशैलीबीच पनि प्रचण्डको चासो पोसाकमाथि बढी छ । परिवारका सदस्यका अनुसार उनी सार्वजनिक समारोहमा उपस्थिति हुनुअघि पोसाकका बारेमा चासो व्यक्त गर्छन् । अघिल्लो दिनको कुनै कार्यक्रममा जाँदा लगाएको पोसाक भोलिपल्टको कार्यक्रममा जाँदा नदोहोरियोस् ।
बिहान पाँच बजे उठ्ने प्रचण्ड प्रधानमन्त्री भएर बालुवाटार रहँदा दैनिक ब्याडमिन्टन खेल्थे, तर पूर्वप्रधानमन्त्री भएर नयाँबजार सरेपछि खेल्न छाडेका छन् । राति १० बजेसम्म काममा खटिइरहने उनी समय भए स्वदेशी र भारतीय टिभी च्यानल पनि हेर्ने गर्छन् । छोरी रेणु सम्झन्छिन्, 'उहाँ भारतमा भूमिगत बस्दा कहिलेकाहीँ आफैँ पनि कपडा किन्न बजार जानुहुथ्यो ।' तर, पछि सपिङका लागि प्रचण्डसँग समय पनि नपुग्ने अवस्था आउँदै गयो । प्रचण्ड पहिरनको रङप्रति पनि त्यत्तिकै चासो राख्छन् । उनलाई, रातो, सेतो, खैरो र कालो रङ मन पर्छ ।
कतै जानुअघि उनी सुरक्षा-प्रबन्धका बारेमा ध्यान पनि पुर्याउँछन् । अहिले पनि प्रचण्ड आफू प्रधानमन्त्री हुँदा प्रयोग गरेकै गाडी चढ्छन् । कुनै बेला लोकल कुखुराको मासु र माछा भनेपछि हुरुक्कै हुने प्रचण्ड डेढ वर्षअघि बिरामी परेदेखि माछा-मासु हप्तामा एक दिन मात्रै खान्छन् । उनलाई खानासँगै हरियो साग नभई हुँदैन । उनका लागि बेलुकाको खानामा भात अनिवार्य छैन, रोटीले चल्छ । कहिलेकाहीँ ढिँडोमा पनि रमिदिन्छन् उनी ।
सत्तारूढ दल एमाले अध्यक्ष झलनाथ खनालको व्यस्तता पनि कम छैन । भेट्न आउने भीड देखेर खनाल-निवासमा कार्यरत देवी श्रेष्ठ छक्क परेकी छिन् । खनाल राजनीतिक कामले घरबाहिरै हुँदा पनि घरमा आएर पर्खनेको भीड हुन्छ । 'सबैसँग भेट्दैमा उहाँले राति अबेरसम्म खाना खान पाउनुहुन्न,' देवी भन्छिन्, 'पार्टी अध्यक्ष भएपछि उहाँको व्यस्तता झन् बढेको छ ।' 'सधैँ बाहिर, घरको काम त के गर्नु उहाँले । घर आउन नपाउँदै भेट्नेको भीड हुन्छ,' आगन्तुकलाई चिया खुवाउने गरेकी देवीले नयाँ पत्रिकासँग भनिन् । खनालको निजी सचिवालय पनि छ घरमै । कतिपय कार्यकर्ता र सर्वसाधारण आफ्ना समस्या त्यहाँ टिपाएर जान्छन् खनाल नभएका बेलामा । छोरा देशबाहिर भएकाले खनालका घरमा श्रीमती रविलक्ष्मी चित्रकार मात्रै छिन् । उनी पनि कलेज पढाउन जान्छिन् । देवीका अनुसार व्यस्त रहेका खनाल दम्पतीले सँगै खाने समय पाउँदैनन् 'कहिलेकाहीँ मात्र हो, उहाँहरूले सँगै खाना खाने, त्यस्तो समय नै पाउनुहुन्न,' देवीले भनिन् । देवीका अनुसार खनालपत्नी रविलक्ष्मी अध्यक्ष खनालसँगै बसेर खाना खान रुचाउँछिन्, तर उनलाई त्यो अवसर विरलै मिल्छ । सँगै खाना खान नपाएकामा गुनासो हुँदैन त श्रीमतीको ? 'कहिलेकाहीँ पर्खनुहुन्छ नआएपछि एक्लै खाना खानुहुन्छ,' देवीले भनिन् । देवीका अनुसार खनाल दम्पती बजारमा सँगै किनमेल गर्न ननिस्केको पनि धेरै भयो । घरको सबै व्यावहारिक काम खनालपत्नीकै जिम्मामा छ ।
प्रायः राति अबेर आउने गरेका खनाल अबेर खाना खान्छन् र अबेरै सुत्छन् । खाना खाएपछि र सुत्नुअघि पढ्न रुचाउँछन् खनाल । खनालको जिन्दगी मेसिनजस्तै चलिरहेको अनुभव गरेकी छिन् देवीले ।
अर्को सत्तारूढ दल कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपति बाराक ओबामाको एउटा प्रसंग भुलेका छैनन् । एक सञ्चारकर्मीले जीवनको अनुभव के हो भन्ने प्रश्न गर्दा राष्ट्रपति ओबामाले भनेका थिए
— 'राजनीति गर्नेको जीवन सबैभन्दा कष्टकर दुःखी हुँदो रहेछ । त्यसभन्दा कष्टकर जीवन राजनीति गर्नेको श्रीमतीले सहनुपर्छ ।' 'राजनीति गर्ने व्यक्तिहरूको नियति यही हो,' नेता पौडेलको अनुभव छ, 'ज्यानको बाजी लगाएर राजनीतिक यात्रा गर्नुपर्छ ।'
जनताको स्वतन्त्रतालाई नै सर्वोपरि ठान्ने पौडेलको अनुभवले भन्छ
- राजनीति गर्नेले आफ्ना इच्छा, आकांक्षा, रिस सबै दबाउनुपर्छ । परिवार, छोरा-छोरी, थकाइ केही भन्न पाइँदैन । 'सुत्ने, खानेका साथै उठबस गर्ने निश्चित समय कहिल्यै हुँदैन । कुनै पनि स्वतन्त्रता नभएको कष्टकर जीवन व्यतीत गर्न तयार हुनुपर्छ, राजनीति गर्ने व्यक्तिले,' पौडेल भन्छन्, 'यदि कसैले परिवार, आफन्त र आफ्ना व्यक्तिगत स्वतन्त्रता त्याग्छ भने मात्र त्यो नेता बन्न सक्छ ।' पौडलेको निष्कर्ष छ, 'नेताले जस-अपजस, जय-विजय, भोक- तिर्खा र घृणा सबै सहनुपर्छ ।'
त्यसैगरी घुम्ती, मोड र जटिलताका बीचबाट राजनीति अघि बढ्ने धारणा राख्छन् माओवादी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण । 'देश र जनताका पक्षमा काम गर्दा दुःख हुँदा पनि सुख हुन्छ, तर मिहिनेतअनुसार जनताका पक्षमा सफलता नपाए दुःख हुन्छ,' किरण भन्छन्, 'दुःखै पाए पनि सफलताले सुखको अनुभूति गराउँछ ।' बिहानै ६ बजेदेखि भेट्न आउने कार्यकर्ताको भीड किरणनिवास महांकालमा लाग्छ । छोरी चेतनाका अनुसार किरण बिहानको खाना प्रायः १० बजे खान्छन् । 'घर-परिवारसँग बसेर खानसमेत पाउनुहुन्न उहाँ,' छोरी चेतना सुनाउँछिन् । अन्य नेताजस्तै प्रायः घरमा हुँदैनन् उनी । उनी प्रायः सार्वजनिक भोज-भतेर र पार्टीहरूमा खाना खाँदैनन् । नियमित औषधी सेवन गर्नुपर्ने बाध्यतामा रहेका किरण खाना सकेसम्म घरमै खान रचाउँछन् ।
एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई पनि अति व्यस्त नेता हुन् । सामान्य जीवनशैली भएका उनी कामलाई आफ्नो जिम्मेवारी ठान्छन् र दुःख-सुख जाँच्दैनन् पनि । बिहान ५ बजेदेखि सुरु हुने उनको राजनीतिक व्यस्तता अबेरसम्म रहन्छ । बिहान ८ देखि नौ बजेसम्म केही जरुरी भेटघाट गर्छन् । निजी सहायक विश्वदीप पाण्डेका अनुसार बिहान खाना र बेलुका रोटी खाएर राति ११ बजेपछि सुत्छन् डा. भट्टराई । समयअनुसार उनी अनुसन्धानमूलक वृत्तचित्र तथा मन परेको फिल्म पनि हेर्छन् । अर्थमन्त्री हुँदा १२ घन्टा मन्त्रालयमा रहन्थे उनी । भट्टराईलाई आफ्नो जीवनमा दुःख-सुखका कुराले खासै महत्त्व राख्दैनन् । दैनिकजसो दर्जनौँ फोन आउँछन् उनलाई । र, उनी त्यत्तिकै मात्रामा भेटघाट गर्छन् पनि ।
एमाले नेता केपी शर्मा ओलीलाई भेटघाट लम्बिँदै जाँदा रात बितेको पनि पत्तो हुँदैन । कार्यकर्तासँगको भेटघाटमा धेरै समय खर्चिने नेतामा पर्छन् ओली । बाहिर सांगठनिक काममा भन्दा भेट्न आएका कार्यकर्ताका गुनासा सुन्न र त्यसलाई पूरा गरिदिन ओलीको ध्यान धेरै जाने गरेको छ । ओलीको मुख्य दुःख भनेकै असन्तुलित सुताइ हो । तर, ओलीसँगको भेटघाट पनि रमाइलो वातावरणमा हुने भएकाले न ओली कुरा गर्न झर्को मान्छन् न त भेट्न आएका कार्यकर्ता नै समय गएको पत्तो पाउँछन् । 'कहिलेकाहीँ त राति २ बजेसम्म पनि सुत्नुहुन्न,' स्वकीय सचिव इन्द्र भण्डारीले भने । ओली सामान्यतया राति १२ देखि १ बजेसम्म जाग्राम बसेकै हुन्छन् । राति जतिसुकै ढिलो सुते पनि नियमित औषधी खानुपर्ने भएकाले बिहान ५ बजे उठिसकेका हुन्छन् उनी । ८ नबजी उनलाई भेट्न आउनेहरूको भीड लाग्छ । त्यसो त राजनीतिक कामले ओली पनि राति अबेरसम्म बाहिरै हुन्छन् ।
त्यसो त ओलीसँगको भेटघाट नै पनि पारिवारिक जमघटजस्तो हुन्छ । परिवारका नाममा श्रीमती राधिका शाक्य र ओली मात्र छन् काठमाडौंमा । दाजुभाइ सबै झापामै बस्ने भएकाले आफ्ना कार्यक्रममा कहिलेकाहीँ श्रीमतीलाई लिएर हिँड्नुबाहेक उनले अरू समय परिवारलाई दिएका छैनन् । परिवारको सम्पूर्ण व्यावहारिक काम ओलीपत्नी राधिकाले नै गर्छिन् । आगन्तुकहरूसँगको समय पनि रमाइलो गरी बिताउँछन् ओली ।
जतिसुकै दिक्क लागेको भए पनि सार्वजनिक जीवनलाई नीरस बनाउँदैनन् ओली । 'दिक्क लाग्यो भनेर साध्य हुँदो पनि रहेनछ, राजनीति भनेकै समाजका प्रतिकूलतालाई सामना गर्नु र त्यसलाई अनुकूलतामा बदल्नु हो भन्ने उहाँले ठान्नुभएको पाएको छु,' भण्डारीले भने ।
एकीकृत माओवादीका सचिव सिपी गजुरेलचाहिँ आफू दुःखकष्ट हुन्छ भन्ने थाहा पाएरै राजनीतिमा आएका कारण कुनै अप्ठ्यारो महसुस नभएको सुनाउँछन् । 'दुःख-कष्ट हुन्छ भन्ने जानेरै हामी राजनीतिमा आएका हौँ, ठूलै झन्झट भो भन्ने मलाई लाग्दैन,' उनले आफ्नो अनुभव राखे, 'जनताको सेवा गर्ने कुरा नै महत्त्वपूर्ण हो, बाहिरबाट हेर्दा राजनीतिज्ञको जीवन असामान्य लागे पनि यो आवश्यकताले पैदा गरेको व्यस्तता मात्र हो ।' त्यागको भावना नभएको मान्छे राजनीतिमा आउन नसक्ने उनको बुझाइ छ । भन्छन्, 'आफ्नो दैनिकी, खानपान र आरामलगायतका सबै कुरा नियमित खोज्ने मान्छे अरू नै पेसामा जान्छन् । उनीहरूले आफ्नो प्रतिभा उतै देखाउँछन् । त्यस्ता मान्छे राजनीतिमा आउँदैनन् र सक्दैनन् पनि ।'
माओवादी नेता गजुरेलले आफूलाई दैनिक एक सयभन्दा बढी फोनकल आउने गरेको अनुभव सुनाए । 'बिहानै साढे ६ बजेबाट भेटघाट सुरु हुन्छ,' उनले भने, 'अन्य राजनीतिक फोरममा पनि जानैपर्छ, फोन पनि रेस्पोन्स गर्नैपर्छ ।' अनियमित खानपान, सुताइ, आरामजस्ता कुराले ग्यास्टि्रकको समस्या भए पनि गजुरेल दीर्घरोगी भने होइनन् । सकेसम्म घरमै खाना खान रुचाउने उनी सकेसम्म आफैँ पकाउँछन् खाना पनि ।
एमाले उपाध्यक्ष वामदेव गौतमलाई आफ्नै सहकर्मीले दिने धोकाबाहेक केही कुराको दुःख छैन । व्यस्त राजनीतिक जीवन व्यतीत गरिरहेका गौतम आफ्नै सहकर्मीले विश्वासघात गरेर कहिलेकाहीँ दुःखी भएको बताउँछन् । कस्तो विश्वासघात हो त त्यो ? गौतमले भने, 'यस्तो भावनात्मक प्रश्नको मूर्त जवाफ हुँदैन ।'
घरमा मान्छे आउनु, मिडियाले नियमित पछ्याउनु र घर-परिवारको सुखका लागि आफूले समय दिन नसक्नुलाई उनले राजनीतिक जीवनको आनन्दका रूपमा लिएका छन् । 'अरूका लागि आफूले काम गर्न पाउनु कसरी दुःख भन्न मिल्छ ?' गौतमले प्रश्न गरे । गौतमका अनुसार घरको काम आफूबाट नहुने ठानेपछि उनको परिवारले पनि चित्त बुझाएको छ । 'हाँसी-हाँसी दुःख बेहोरौँला भनेरै राजनीतिमा आएको हुँ,' गौतमले भने, 'अरूका घरमा हली लागेर पनि पार्टीको काम गरेको र बाख्राका खोरमा सुतेर कयौँ रात बिताएको वामदेवलाई अहिले कुनै दुःख छैन ।' कयौँ दिनसम्म भोकै बसेको, राम्रा लुगा लगाउन नपाएको कुराले उनलाई कहिल्यै दुःखी बनाएन रे !
गौतमका घरमा पनि उसैगरी भेट्न आउनेको भीड लाग्छ । परिवारले झिँजो-झर्को मान्दैन त ? गौतम भन्छन्, 'राजनीति दुःख सामना गरेरै गर्ने हो भन्ने मेरो परिवारले पनि बुझेकाले रमाइलो पो हुन्छ त आगन्तुकको उपस्थिति ।' गौतमले परिवारका लागि पनि आफूले यदाकदा समय दिने गरेको बताए । 'कहिलेकाहीँ परिवारसँगै बजार पनि गइन्छ, तर त्यस्तो दिन हत्पती आउँदैन,' गौतमले भने ।
माओवादी सचिव पोष्टबहादुर बोगटी दिवाकर व्यस्त छन् राजनीतिक दौडधूपमा । 'दुःख-सुखको कुरै हुँदैन आफ्नो जिम्मेवारी पूरा गर्नमै व्यस्त रहनुहुन्छ,' आफ्ना बाबुको व्यस्त राजनीतिक जीवनमाथि छोरी प्रभा टिप्पणी गर्छिन् । प्रायः बिहान ५ बजे उठेर हल्का व्यायाम गर्नेगरेका उनी बाँकी बिहान कार्यकर्ता भेटघाट, रेडियोमा अन्तर्वार्ता र पत्रपत्रिका पढ्ने काममा खर्चिन्छन् । संविधानसभा दलका प्रमुख सचेतक भएपछि उनको बिहानको खाना अनिश्चित छ । 'दिउँसो खाना खाने समयसमेत मिल्दैन, साँझको खाना प्रायः घरमै हुन्छ,' छोरी प्रभाले बताइन्, 'बुबा राजनीतिमा यस्तै हो भन्नुहुन्छ ।' छोरी प्रभाका अनुभवमा युद्धकालमा समय व्यवस्थित हुन्थ्यो, आजकाल व्यवस्थित छैन ।
कांग्रेस उपसभापति गोपालमान श्रेष्ठका विचारमा राजनीति गर्ने हरेक व्यक्तिले प्रतिकूलता सहन तयार रहनुपर्छ । 'राजनीति गर्नेले बिरामी पनि भन्न पाइँदैन खाना खान लागेको पनि भन्न पाइँदैन परिस्थितिअनुसार चल्नैपर्छ,' श्रेष्ठ भन्छन्, 'अन्य पेसा र व्यवसायमा जस्तो होइन, राजनीतिमा उतार-चढाब आई नै रहन्छन् ।'
राजनीतिक व्यक्तिको व्यक्तिगत जीवन र पारिवारिक जीवन नहुने उनको तर्क छ । 'परिवार र आफन्तहरूको पे्रसरलाई पनि सहँदै, त्यसलाई सन्तुलन कायम गर्दै अघि बढ्नुपर्छ,' श्रेष्ठ भन्छन्, 'नेताले सर्वोपरि मुलुक र जनतालाई ठान्नुपर्छ । अनि, आफू आबद्ध पार्टी र त्यसपछि मात्र आफ्नो र परिवारको कुरा आउने गर्छ ।'
राजनीति सजिलो नहुने उनको तर्क छ । 'व्यापार गर्नेले पैसा कमाउँछ, राजनीति गर्नेले इज्जत प्राप्त गर्छ, त्यसमै आनन्द लिन सक्नुपर्छ,' श्रेष्ठको अनुभव छ, 'अन्य पेसाजस्तै आफूअनुकूल बनाउन कहिल्यै सकिँदैन राजनीतिलाई । जस्तोसुकै कठिनाइलाई पनि चिर्नुपर्छ । अशक्त, अप्ठ्यारो, रातदिन जस्तोसुकै अवस्थामा पनि जनताको आवाजलाई सुन्नुपर्छ ।'
कांग्रेस उपसभापति प्रकाशमान सार्वजनिक जीवन बिताउने प्रतिबद्धता गरेर राजनीतिमा आएपछि दुःख र सुखको परिभाषा स्पष्ट नहुने बताउँछन् । अन्य नेताजस्तै उनको पनि ठहर छ, 'राजनीति गर्ने भएपछि व्यक्तिगत र पारिवारिक जीवन भन्ने कहिल्यै हुँदैन ।' राजनीतिमा व्यक्तिगत र पारिवारिक जीवन खोज्न नहुने उनको भनाइ छ । 'राजनीतिकर्मीले जनता र पार्टीका काममै सबैभन्दा बढी समय बिताउनुपर्छ,' प्रकाशमानको भनाइ छ । तर, राजनीतिलाई दुःख भन्न नमिल्ने उनको तर्क छ । 'यसलाई दुःख भन्न मिल्दैन । हामी आफैँले रोजेको यही हो । समाज परिवर्तन र जनताको मुक्तिका लागि केही योगदान गर्नसक्छु भनेर राजनीति गरेपछि सानातिना समस्या आइरहन्छन्, त्यसलाई ठूलो समस्याका रूपमा लिनु हुँदैन,' उनी भन्छन्, 'आफूलाई मात्र फाइदा अनि सुखसयल खोज्ने हो भने त अन्य पेसा गरे भइहाल्यो नि, राजनीति किन गर्ने ?'
No comments:
Post a Comment