ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 15, 2009

संविधानसभा भङ्ग हुने हल्लाको पछि नलागौं : प्रधानमन्त्री

काठमाडौं, भदौ ३० - प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभा भङ्ग हुन्छ र देशमा सैनिक सर्वोच्चता कायम हुन्छ भन्ने हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन्। अन्तरराष्ट्रिय लोकतन्त्र दिवसको अवसरमा पूर्व सांसद क्लबद्वारा 'राजनीतिक सहिष्णुता र लोकतन्त्र' विषयमा सोमबार राजधानीमा आयोजित राष्ट्रिय सम्मेलनको उद्‌घाटन गर्दै प्रधानमन्त्री नेपालले जनआन्दोलनबाट प्राप्त लोकतन्त्रको संस्थागत सुदृढीकरणका लागि सहमति र सहकार्यबाट अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

उनले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मासात गर्दै निषेधको राजनीतिक खेल रोक्नुपर्ने र संसद सुचारु गर्नुपर्नेमा जोड दिए।  लोकतन्त्रको संस्थागत विकासका लागि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र निर्धारित समयमा नै संविधान निमार्ण गर्नुको अन्य कुनै विकल्प नरहेको प्रधानमन्त्री नेपालले बताए। 
उनले राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन गर्न नसके लोकतन्त्र दिगो नहुने धारणा राख्दै सम्पन्न र विपन्नको खाडल पुर्न लोकतन्त्रको नयाँ व्यवस्था गरिएको उल्लेख गरे। कार्यक्रममा सभामुख सुवास नेम्बाङले लोकतन्त्रलाई सिद्धान्तमा मात्र होइन व्यवहारमा उतारी जनतालाई प्रत्याभूति दिन सकेमात्र स्थायी हुने धारणा व्यक्त गरे।


लोकतन्त्रका आधारस्तम्भहरुलाई नेपालमा कसरी स्थापना गर्ने त्यसबारेमा व्यापक छलफल हुनुपर्नेमा सभामुख नेम्बाङले जोड दिए। उनले निर्धारित समयमा नै संविधान निमार्ण गर्न राजनीतिक दल र विभिन्न जनजाति, भाषभाषी र धर्म सम्प्रदायका बीच सहमति हुनुपर्ने बताए। परराष्ट्रमन्त्री सुजाता कोइरालाले लोकतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था भएको चर्चा गर्दै संसदीय व्यवस्था, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, विधिको शासन, सुशासन यसका राम्रा पक्ष हुन् भनिन्।
संयुक्त राष्ट्रसङ्घले सन् २००७ सेप्टेम्बर १५ तारिखलाई अन्तरराष्ट्रिय लोकतन्त्र दिवसको रुपमा मनाउने घोषणा गरेअनुरुप पूर्व सांसद क्लबले प्रथम अन्तरराष्ट्रिय दिवस मनाएको हो। कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित निर्देशक एनी इशावेल ब्लेटुले संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनको सन्देश पढेर सुनाउँदै मानवअधिकार, विधिको शासन, शान्ति सुरक्षा र विकास नै लोकतन्त्रको आधारभूत मान्यता रहेको बताइन्। रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by