ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, September 18, 2009

प्रहरीको यो सक्रियता


६० हजार चोरिएको दुई घण्टा नबित्दै हात पर्यो

विजय नेपाल/पोखरा, २ असोज
पोखराबाट पेन्सन थापेर घर फर्कने क्रममा तनहूँका एक भूपू भारतीय आर्मी, साथबाट ६० हजार रुपैयाँ लुटिएपछि इन्तु न चिन्तु भए। मुखैमा आएको दशै कसरी मान्ने हो भन्ने चिन्ता उनलाई बढेर गयो। तर घटना भएको २ घण्टा पनि नबित्दै उनको मुहारमा चमक छायो। पाइण्टको भित्री गोजीमा राखेको पैसा समेत लुटेर फरार भएका चोरहरुलाई प्रहरीले रंगेहात समात्यो। पत्रकारहरुको रोहबरमा उनलाई शुक्रबार उक्त रकम स-सम्मान प्रदान गरियो। 
तनहूँको मिर्लुङ-६, बोक्सेका ७२ वर्षीय भीमबहादुर रायमाझीले पोखराको रामबजारस्थित पेन्सन क्याम्पबाट पेन्सन थापेर शुक्रबार बिहान घरजाँदै थिए। तर, अमरसिंहचोकमा उनको साथबाट पैसाको थैली लुटिएको हो। पैसा लुट्नेहरु ट्याक्सी चढेर गएको देखेपछि तत्कालै नजिक रहेको प्रहरीलाई खबर गरेपछि प्रहरीको सक्रियतामा तीन जना अभियुक्तहरुलाई पोखराको शितलादेवीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा शुक्रबार मध्यान्ह पत्रकार सम्मेलनको आयोजना गरेर सो घटनामा संलग्न ३ अभियुक्तसहित हत्यामा संलग्न एक जना अभियुक्त र ठगी चोरीमा संलग्न अन्य तीन जना अभियुक्तलाई सार्वजनिक गरेको छ।
शुक्रबारको घटनामा संलग्न दाङ, शोरे-७ का २७ वर्षीय नारायण भोटे भनिने नरनिमा तामाङ, चितवन ज्यामिरेका २४ वर्षीय राजु केसी र ओखलढुंगा शोरुम(६ का २६ वर्षीय सागर गुरुङ हुन्।
पोखरामा डेरा लिई बस्दै आएका उनीहरु चारवर्षदेखि पोखरा, काठमाडौलगायतका स्थानमा लुटपाट र चोरीमा संलग्न रहेको प्रहरीको बयानमा स्वीकारेका छन्।
यता, तीनवर्षअघि आफ्नै हजुरआमाको हत्या गरेर हाल पोखरा बस्दै आएका रोल्पा, पाङ १ का बलराम भनिने यमबहादुर पुनलाई समेत प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
त्यस्तै, म्याग्दी, ओखरबोट-१ का दुई दाजुभाइ रसबहादुर र रेशम घर्तीमगरलाई समेत प्रहरीले ठगीकाण्डको आरोपमा पक्राउ गरेको छ। उनीहरुलाई बिहीबार प्रहरीले कास्कीको लुम्लेस्थित एक होटलबाट स्थानीयबासीको सहयोगमा पक्राउ गरेको हो। माओवादीद्धारा जनयुद्धको समयमा बेनी आक्रमणपश्चात् उनीहरु दुबैजना माओवादीमा संलग्न रहेकोसमेत बताएका छन्। उनीहरुको साथबाट प्रहरीले एकथान कटुवा पेस्तोल, ३ राउण्ड गोली, एक थान खुकुरी बराबद गरेको छ।
यता, आफूलाई टाइगर ग्रुपको विवेक बताउने काभ्रेको उग्रचण्डी १ घर भै हाल पोखरा बस्दै आएका ४० वर्षीय केदारराज अवाललाई पनि सार्वजनिक गरिएको छ। भदौ २८ गते बुटवलबाट पक्राउ परेका अभियुक्त अवालले यसअघि पोखरा-१७ का गण्डकी सुनचाँदी पसलका संचालक अम्मर विकलाई धम्क्याई २ लाख रुपैयाँ र पोखरा न्यूरोडमा सुरज रेष्टुरेण्टका संचालक शिव शिल्पकारलाई मार्ने धम्की दिदै ५ लाख रुपैयाँ लगेको प्रहरीको बयानमा स्वीकारेका छन्।
पक्राउ परेका सबै अभियुक्तहरुलाई प्रहरी हिरासतमा रहेको र कानुन बमोजिम कारबाही गरिने प्रहरी उपरीक्षक सुभाषचन्द्र चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए।
प्रहरीले झण्डै एक महिनाअघिमात्रै पोखरा र यसपासमा आपराधिक घटनामा संलग्न १६ जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरिसकेको थियो। यस्तै, आपराधिक घटनामा संलग्न रहेको आरोपमा बागलुङका महेन्द्र घर्तीमगर, रामेछापका प्रेम थापामगर, बाग्लुङका मानबहादुर पुन, र पूर्व प्रहरी हवल्दार ज्ञानुबहादुर बलामीको तस्वीर शुक्रबार सार्वजनिक गरिएको छ।
आपराधिक गिरोहका नाइकेलाई नियन्त्रणमा लिनका लागि सफल नभएकोले खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक रमेश पण्डितले बताए।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by