ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 13, 2009

गृहमन्त्रीलाई चाहियो ८५ लाखको मित्सुबिसी







सागर पण्डित/नयाँ पत्रिका
मन्त्रिपरिषद्का सदस्यलाई गाडी नपुगेपछि सरकारले ११ वटा गाडी किन्ने तयारी गरेको छ । यही मौकामा गृहमन्त्री भीम रावलले भने आफ्ना लागि ८५ लाख मूल्यको विशेष कार मगाउन थालेका छन् । चार महिनामा मन्त्रिपरिषद् आठपटक विस्तार हुँदा ४४ जना मन्त्री भएपछि अहिले गाडीको अभाव भएको छ । मन्त्रीका लागि गाडी नपुगेको मौकामा गृहमन्त्री रावलले ८५ लाख मूल्यको जापानिज मित्सुबिसी जीप किन्न मन्त्रालयका अधिकारीहरूलाई दबाब दिएका छन् । गृह मन्त्रालय स्रोतका अनुसार मन्त्री रावललाई सुरुमा ५५ लाखसम्म पर्ने गाडी खरिद गर्ने प्रस्ताव मन्त्रालयका अधिकारीहरूले गरेका थिए । तर, मन्त्री रावलले ८५ लाख नै पर्ने अत्याधुनिक मित्सुबिसी जिप खरिद गर्न दबाब दिएपछि अधिकारीहरूको कम मूल्यमा गाडी खरिद गर्ने योजना विफल भएको छ । गृह मन्त्रालयले अरू मन्त्रीका लागि खरिद गर्न लागेका कार प्रतिकार झन्डै ५० लाखका छन् ।

यसरी १० वटा कार किन्दा थप ५ करोड र एउटा जिप किन्दा थप ८५ लाख खर्च हुने भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार नै एउटा जिप र १० वटा कार किन्न लागिएको गृह प्रवक्ता रत्नप्रसाद पाण्डेले जानकारी दिए । उनले प्रक्रिया पुर्‍याएर नै जिप र कार खरिद गर्न लागिएको जानकारी दिँदै गृहमन्त्रीको दबाब सम्बन्धमा अनभिज्ञता जाहेर गरे । 'गाडी किन्न लागिएको हो, प्रक्रिया सबै मिलेको छ,' प्रवक्ता पाण्डेले नयाँ पत्रिकासँग भने । मन्त्रालयका सहसचिव श्रीवत्स घिमिरेका अनुसार मन्त्रालयले १० वटा कार किन्न टेन्डर प्रक्रिया अगाडि बढाइसकेको छ । एक-दुई दिनभित्रै टेन्डरका लागि सूचना प्रकाशित गर्ने तयारी गरिएको उनले जानकारी दिए । मन्त्री रावल अहिले बा १ झ ५२६५ नम्बरको कोरोला कार चढिरहेका छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by