ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 14, 2009

लाइसेन्स अब इन्टरनेटमा






केदार ओझा काठमाडौं, भाद्र २८ - तपाईंको सवारी चालक अनुमतिपत्र -लाइसेन्स) सक्कली हो कि नक्कली ? सावधान ! जानीजानी वा दलालको विश्वासमा पर्दा लाइसेन्स नक्कली परेको छ भने त्यसले अब कुनै पनि बखत तपाईंहरुलाई हिरासतको चिसो छिँडीमा पुर्‍याउनेछ । ट्राफिक प्रहरीले नक्कली लाइसेन्स खोजी अभियान सुरु गरेपछि यतिखेर यातायात व्यवस्था विभागमा आफ्नो लाइसेन्सको वैधता जाँच्नेको ठूलो भीड लाग्न थालेको छ।
वैधता जाँच्ने भीड बढेकाले विभागले देशभरिबाट जारी भएका यससम्बन्धी सूचना केही महिनाभित्रै सर्वसाधारणले घरघरमा इन्टरनेटबाट हेर्न पाउने गरी व्यवस्था गर्न लागेको छ । 'एक लाख लाइसेन्सको विवरण तयार भइसकेको छ, बाँकी सबै सकेर मंसिरभित्र इन्टरनेटबाट सबै थाहा पाउने व्यवस्था हुनेछ,' विभागका महानिर्देशक शरद पौडेलले भने, 'तयार भइसकेका एक लाख लाइसेन्स वाहकको विवरण भने दसैं र तिहारबीचमै इन्टरनेटमा हेर्न पाइनेछ ।' इन्टरनेटमा राख्ने अन्तिम तयारी भइसकेका लाइसेन्समध्ये ८५ हजार वाग्मतीको मात्र छ भने बाँकी अन्य अञ्चलका छन् । देशभरिबाट १२ लाख व्यक्तिका नाममा सवारी चालक अनुमतिपत्र वितरण भइसकेको छ । 



महानगरीय ट्राफिक महाशाखाले नक्कली लाइसेन्स बनाई सवारी साधन चलाउनेलाई पक्राउ गरी मुद्दा चलाउन थालेपछि वैधानिकता जाँच्नेको भीड लाग्न थालेको हो । 'नक्कली लाइसेन्स वाहकका कारण सर्वसाधारणको यात्रा जोखिमपूर्ण देखिएपछि वैधता जाँच्ने कामलाई प्रभावकारी बनाइएको हो,' महानगरीय ट्राफिक महाशाखाका कार्यवाहक प्रमुख रविराज श्रेष्ठले भने, 'नक्कली लाइसेन्स वाहकमाथि मुद्दा चलाई कारबाही गरिनेछ ।' नक्कली बनाएको प्रमाणित भएमा सरकारी कर्मचारीको मिलोमतो भए दुई वर्ष र सामान्य नागरिक भए एक वर्ष जेल र १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । असार १८ यता प्रमाणित भइसकेका ६ सय ७२ वटा नक्कली लाइसेन्स वाहकमध्ये सार्वजनिक सवारी साधन चलाइरहेका ४४ जनालाई मुद्दा चलाइएको छ । निलम्बनपछि पनि नक्कली लिएर चलाउँदै छ महिना कुनै पनि गाडी चलाउन नपाउने गरी महानगरीय ट्राफिक महाशाखाको सिफारिसमा यातायात व्यवस्था विभागले निलम्बन गरेका एक सार्वजनिक सवारी साधनका चालक उर्गेन लामा नक्कली लाइसेन्स लिएर गाडी चलाउँदा चलाउँदै पक्राउ परेका छन् ।


०६४ पुस १७ देखि ०६६ जेठ २८ भित्र आठ पटक सवारी नियम उल्लंघन गरेको अभियोगमा उनको लाइसेन्स निलम्बन गरिएको थियो । तर उनले निलम्बन लगत्तै 'ए' अर्थात् मोटरसाइकलको समेत नक्कली लाइसेन्स बनाई गाडी चलाउन थालेका थिए । ट्राफिकले उर्गेनलाई निलम्बन गरिएको पत्र र नक्कली लाइसेन्ससहित मुद्दा चलाउन काठमाडौं परिसरको हिरासतमा पठाएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by