ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, September 18, 2009

यही राष्ट्रिय झन्डा 'राम्रो'

कान्तिपुर संवाद्‍दाता
काठमाडौ, २०६६ आश्विन २ - माओवादीलगायतका दलले राष्ट्रिय झन्डा फेर्ने प्रस्ताव ल्याएलगत्तै यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ । अध्येताहरूले नेपालको त्रिकोणात्मक झन्डा विश्वमा छुट्टै महत्त्व रहेकाले फेर्नु आवश्यक नरहेको बताएका छन् । उनीहरूले नयाँ सन्दर्भमा झन्डालाई फरक ढंगबाट व्याख्या गर्न सकिए पनि यसलाई परिवर्तन गर्नु ठीक नहुने धारणा राखेका छन् ।
'नेपालको झन्डा अन्य मुलुकको जस्तो कुनै व्यक्ति वा समूहले बनाएको होइन,' नेपालको झन्डाका विषयमै अनुसन्धान गरेका प्रा डा दयाराम श्रेष्ठ 'सम्भव'ले कान्तिपुरसँग भने, 'यसले इतिहासदेखि नै सांस्कृतिक र धार्मिक महत्त्व बोकेको छ ।' माओवादी अध्यक्ष पुष्पकमल दाहालले झन्डाको विषय छलफलका लागि मात्र ल्याएको बताएका छन् । 'राष्ट्रिय झन्डा फेर्ने विषय छलफलमा मात्र ल्याइएको हो,' उनले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने । 
प्राध्यापक श्रेष्ठले विश्वका अन्य धेरै मुलुक उपनिवेश र पराधीन रहेका कारण परिवर्तनपछि उनीहरूले झन्डा फेरेको सन्दर्भ उल्लेख गर्दै भने, 'नेपाल सधंै स्वतन्त्र रहँदै आएको छ, त्यसैले झन्डा बदल्नु आवश्यक छैन ।' 
संविधानसभा संवैधानिक समितिअन्तर्गत गठित उपसमितिको बुधबारको बैठकमा माओवादी, राष्ट्रिय जनमोर्चा र दलित जनजाति पार्टीका सभासदले राष्ट्रिय झन्डा फेर्नुपर्ने प्रस्ताव राखेका थिए ।
उनीहरूले हालको चन्द्र/सूर्य अंकित झन्डा राजतन्त्रकै मान्यतामा निर्माण भएको धारणा राखेका छन् । कांग्रेस, एमाले, नेमकिपालगायत दल भने हालकै झन्डा राख्नुपर्ने अडानमा छन् । 
माओवादीले चन्द्रवंशी र सूर्यवंशी राजाहरूको अवधारणामा अहिलेको झन्डा बनेको उल्लेख गर्दै यसले राजतन्त्रको झल्को दिने धारणा राखेको छ । 
संस्कृतिविद सत्यमोहन जोशी पनि झन्डा परिवर्तनको बहस सान्दर्भिक नहुने बताउँछन् । 'यो राजतन्त्रको प्रतीक होइन,' उनले भने, 'त्रिकोणात्मक झन्डाले विश्वमा नेपालको छुट्टै अस्तित्व राखेको छ ।' उनले लिच्छवि कालदेखि मठमन्दिरमा पित्तलको त्रिकोणात्मक झन्डा राख्ने गरिएको उल्लेख गर्दै त्यसैको आधारमा मुलुकको झन्डा बनेको बताए । 'झन्डामा रहेको चन्द्र/सूर्य सबैको साझा हो,' उनले भने, 'यसले कुनै तन्त्रको प्रतिनिधित्व गर्दैन ।' एमाले सभासद अग्नि खरेलले विश्वका अन्य मुलुककोभन्दा फरक खालको झन्डाको रूपमा पहिचान बनाएकाले फेर्न जरुरी नरहेको बताए । 'सूर्य र चन्द्रले नेपाल अटल छ भनेर परिभाषित गरेका छन्,' उनले भने, 'झन्डा फेरेरमात्रै नयाँ नेपाल बन्दैन ।' 
नागरिक समाजका अगुवा कृष्ण पहाडीले शान्ति प्रक्रिया र संविधानका मूल विषय छोडेर दल र सभासदहरू झन्डाको निरर्थक बहसमा लागेकामा आपत्ति जनाए । 'राजनीतिक दलहरूले आफ्नो चरित्रचाहिँ फेर्नुपर्‍यो,' उनले भने, 'पुराना विकृति नफेर्ने हो भने झन्डाको नाम फेरेर केही हुँदैन ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by