ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 13, 2009

भनेको नमान्ने कर्मचारी र प्रहरीलाई डम्प गर्छु: गृहमन्त्री आइतवार



बनेपा, भदौ २८ (नागरिक)- गृहमन्त्री भीम रावलले कानुन अनुसार काम नगर्ने निजामति कर्मचारी र प्रहरीलाई 'डम्पिङ' गराएर राख्न सकिने बताएका छन्। 'कानुन अनुसार काम नगर्ने मन्त्रालय मातहतका उच्चस्तरीय निजामति र प्रहरी कर्मचारीलाई डम्पिङमा राख्न सकिन्छ', उनले शनिबार आयोजित एक कार्यक्रममा भने। 
मन्त्री रावलले आफ्नो मन्त्रालय संविधान र कानुन बाहेक कसैको आवाज नसुन्ने बताए। एमाले, काँग्रेस, माओवादीलगायत सबै पार्टीका कार्यकर्ताहरुले अपराध गर्न छुट पाइन्छ भन्ने सोच त्याग्न उनले आग्रह गरे।'अपराध गर्ने कुनै पनि दलका कार्यकर्ताले छुट पाउने छैनन्।' माओवादीले अझै पनि बन्दुकको मोह त्याग्न नसकेको उनको जिकिर थियो। माओवादीहरु एकातिर नागरिक सर्वोच्चताको र अर्कातिर बन्दुकको कुरा गरिरहेका छन्, यो विरोधाभास पूर्ण हो, उनले भने।

माओवादी अध्यक्ष प्रचण्डले शुक्रबार खुलामञ्चमा हतियार र सेना आफूसँग रहेको अभिव्यक्ति दिएकोप्रति टिप्पणी गर्दै गृहमन्त्री रावलले भने,'नागरिक सर्वोच्चताको कुरा गर्ने माओवादीले आफ्ना लडाकूको समायोजन र पुनर्स्थापनका लागि काम अघि बढाउन दिनु पर्छ।' माओवादीको बन्दुकले मात्र गणतन्त्र आउने भए १९ दिनको आन्दोलन किन चाहिन्थ्यो? मन्त्री रावलको प्रश्न थियो।'बन्दुकवाटै परिवर्तन हुने भए दशवर्षे युद्धमै परिवर्तन किन नआएको?' मानसिकता र व्यवहार नै अवैध भएको माओवादीले वर्तमान सरकारलाई अबैध देख्नु कुनै अनौठो नभएको उनको भनाई छ। संसदबाट बजेट पास भएमा गाउँगाउँमा बजेट जाने र विगतको एमालेको नौ महिने सरकारझैं लोकप्रिय हुने डरले माओवादीले संसद चल्न नदिएको उनले बताए।'जनताकहाँ जान दिएर हेरे हुन्छ, हामीले नाटक गरेको हो भने हामी नाँगिन्छौं।'

बन्दुक बोकेर मात्र नागरिक सर्वोच्चता स्थापित हुँदैन बरु माओवादीले अयोग्य लडाकु शिविरवाट हटाउने, कब्जा गरिएका सम्पत्ति फिर्ता गर्नेलगायतका काममा सहयोग गर्नुपर्छ, मन्त्री रावलले आग्रह गरे।'यसो नगर्दासम्म शान्ति प्रक्रिया अघि बढन सक्दैन।' सरकारी विशेष सुरक्षा योजनाको विरोध गर्नेहरु हिंसात्मक गतिविधिमा संलग्नहरु मात्र हुन सक्ने उल्लेख गर्दै उनले सुरक्षा योजनापछि तराई र पूर्वी पहाडमा शान्ति स्थापना हुँदै गएको दाबी गरे। वर्तमान सरकार छिट्टै ढल्ने र सुजाता कोइरालाको नेतृत्वमा नयाँ सरकार गठन हुने भनि माओवादीले हल्ला चलाएपनि काँग्रेसले वर्तमान सरकार ढाल्नु आत्महत्या गर्नु जस्तै भएको प्रतिक्रिया दिएकोले संविधान नबनेसम्म सरकार टिक्ने मन्त्री रावलको भनाई छ। नेकपा एमालेभित्रको विवादबारेमा बढाइचढाइ कुरा भएको उनले उल्लेख गरे।'एमालेको आन्तरिक विवादलाई सडकमा उछालेर नेताहरुले गल्ती गरेकाछन्। तर, २०५४ सालको जस्तै एमाले काँक्रोको चीरा परेको जस्तो चीरा पर्ने वाला छैन.' उनले थपे।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by