ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 17, 2009

सोलुबाट किरात वर्कर्स कार्यकर्ता पक्राउ

महेश्वर चामलिङ राई, उदयपुर, असोज १ -


किरात जनवादी वर्कर्स पार्टीका कार्यकर्ता भएको आशंकामा ५ जनालाई सोलुखुम्बु प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ। सदरमुकामदेखि ३ दिन लाग्ने जुगु गाउँ विकास समिति -४ बाट हतियार र कागजातसहित उनीहरु पक्राउ परेका हुन्। सोलु र ओखलढुङ्गाको सीमास्थलमा पर्ने उक्त
गाउँमा हतियारधारी समूह लुकेर बसेको बिशेष सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा खोटाङका १, ओखलढुङ्गाका ३ र मोरङका १ छन्। खोटाङ जलेश्वरी -१ का भरुणकुमार राई (४०), ओखलढुङ्गा रगीनी -८ का रेञ्जी शेपा (३०) ओखलढुङ्गाकै सिद्धीफलाँटे -५ का पासाङ शेर्पा (१८) र पुर्वारिञ्जी शेर्पा (१७) तथा मोरङ मधुमल्ला -४ का अरुण गुरुङ (१७) रहेका छन्। उनीहरुसँग २ थान पेस्तोल, १० राउण्ड गोली, ३ थान कटुवा पेस्तोल, ५ थान सुतली बम प्रहरीले बरामद गरेको छ। उनीहरुसँग अन्य वर्कस र संयुक्त जातीय मोर्चासम्बद्ध कागजात पनि बरामद भएको सोलु प्रहरी नायव उपरिक्षक सुदमकुमार सिजापतिले नागरिकलाई बताए। 

लुकेर बसेको गोप्य सुराकीका आधारमा गएको बिशेष गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको सिजापतिले बताए। नजिकको चौकीको सक्रियतामा पक्राउ गरिएको भएपनि चौकीको नाम सिजापतिले बताउन चाहेनन्। नियन्त्रणमा लिइएका उनीहरुलाई सदरमुकामसम्म लान थप सुरक्षाका लागि खोटाङ प्रहरीसँग सहयोग मागेपछि इलाका प्रहरी ऐसेलुखर्कबाट थप बल पठाएको खोटाङका असई भोजराज रखालले बताए। शुक्रबार बिहानसम्ममा उनीहरुलाई सदरमुकाम ल्याईपुर्‍याउने प्रहरीले जनाएको छ। उनीहरुलाई हातहतियार तथा खरखजाना ऐनअन्तरगत कारबाही प्रक्रिया अगाडि बढाउने डिएसपी सिजापतिले बताएका छन्।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by