ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, September 14, 2009

कालापानी र सुस्ता छोडेर सिमा बिबाद टुङ्याउने भारतीय प्रस्ताव

लेखनाथ पाण्डे, काठमाडौ भदौ २९ - सिमा सम्बन्धी समस्या एकैपटक 'प्याकज'मा समाधान गर्ने भन्ने नेपालको प्रस्तावलाई भारतले अस्वीकार गरेको छ। नेपाल भ्रमणमा सोमबार आएकी भारतीय विदेश सचिव निरुपमा रावसँग नेपालका समकक्षी ज्ञानचन्द्र आचार्यले सिमा विवाद टुङ्गाउने प्रस्ताव राखेका थिए।





"सुस्ता र कालापानीलाई छोडेर वार्ता गरौं भन्ने भारतीय प्रस्ताव आयो," परराष्ट्र स्रोतले उल्लेख गर्यो। नेपाल भारत सिमाका एक सय भन्दा धेरै ठाउँमा भारतले सिमा मिचेको विवाद बेला बेलामा आउने गरेको छ। रावले सुपुर्दगी सन्धीका लागि दबाब दिएको पनि परराष्ट्र स्रोतले जानकारी दिएकोफ छ।



परराष्ट्रमन्त्री सुजाता कोइराला र सचिव आचार्यले भारतीय परराष्ट्र सचिव रावसँग छुट्टाछुट्टै सोमबार छलफल गरेका हुन्। भेटपछि परराष्ट्र मन्त्री कोइरालाले प्रधानमन्त्री र आफ्नो भारत भ्रमणमा भएका सहमतिलाई कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताइन्।



मन्त्री कोइरालाले भनिन् -"सूचना आदान-प्रदान नहुँदा भ्रम र शङ्का रहन्छ, तसर्थ यस्ता कुरामा दुवै देशले मिलेर कार्य गर्नुपर्ने कुरा राखेँ, भारतीय विदेश सचिवले समेत यसमा सहमति जनाउनुभयो।"


परराष्ट्रमन्त्री कोइरालाले भारतीय विदेश सचिवसँग हुलाकी राजमार्ग, नौमुरे जलविद्युत परियोजना निर्माण, विद्युत प्रसारण लाइन निर्माणजस्ता विकाससम्बन्धी विषयमा चासो राखेको जानकारी पनि दिइन्।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतसँग भएको वाणिज्य सन्धिलाई औपचारिक रुपमा हस्ताक्षर गर्ने कार्यक्रम चाँडै सम्पन्न हुने जानकारी दिँदै परराष्ट्रमन्त्री कोइरालाले सन्धिमा हस्ताक्षरका लागि भारतीय वाणिज्य मन्त्रीलाई निमन्त्रणा गरिसकिएको जानकारीसमेत दिइन्। ।
उक्त सन्धिलाई दुवै मुलुकका मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि औपचारिकरुपमा हस्ताक्षर गर्ने परम्परा छ।
भारतीय विदेश सचिव राव र परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यबीचको भेटमा नेपाल र भारतबीच सञ्चालन भइरहेका परियोजनाको कार्यान्वयन, सुपुर्दगी सन्धि, सीमा व्यवस्थालगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव मदनकुमार भट्टराईले जानकारी दिए।
सुपुर्दगी सन्धिमा यही नोभेम्बर महिनामा दुवै देशका गृहसचिवबीच काठमाडौँमा वार्ता गर्न सहमति भएको सचिव भट्टराईले बताए।
भेटपश्चात् सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै भारतीय विदेश सचिव रावले नेपाल र भारतबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने सन्दर्भमा वार्ता केन्द्रित भएको जानकारी दिइन्।
विदेश सचिव रावले नेपालमा रहँदा राष्ट्रपति, प्रधानमन्त्री, नेपाली काङ्ग्रेसका सभापति, नेकपा एमालेका अध्यक्ष र एकीकृत नेकपा (माओवादी)का नेताहरुसँग भेटघाट गर्नुहुने भारतीय दूतावासले जनाएको छ।
राव सोमबार बिहान काठमाडौं आइपुगेकी थिइन् । उनले संवाददाताहरुसंग नेपाल र भारतको सम्बन्धमा धेरै पुरानो रहेको उल्लेख गर्दै शासकीय र जनताको तहमा रहेको उक्त सम्बन्धलाई अझ थप मजबुत बनाइने उल्लेख गरेकी थिइन्।
प्रधानमन्त्री नेपालको भारत भ्रमणमा नेपाल भारतबीच ३४ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उक्त भ्रमणमा वाणिज्य सचिवस्तरमा वाणिज्यसम्बन्धी सन्धिमा प्रारम्भिक हस्ताक्षर भएको थियो।
अन्तरसीमा अपराध नियन्त्रण, सीमा समस्या समाधानलगायतका दर्जनभन्दा बढी महत्त्वपूर्ण र दुई पक्षीय रुचिका विषयमा नेपाल-भारतबीच समझदारी भएको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by