ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 17, 2009

राजदूत छन्, दूतावास र कर्मचारी छैनन्



image

क्यानडा, दक्षिण अफ्रिका, ब्राजिल र कुवेतका लागि राजदूत छन् तर उनीहरू बस्ने ठाउँ छैन


पर्शुराम काफ्ले/नयाँ पत्रिका
काठमाडौं, ३१ भदौ
सरकारले चार देशका लागि पहिलोपटक राजदूत नियुक्त गरेको छ । तर, कर्मचारी नहुँदा दूतावासको समेत ठेगान लागेको छैन ।

राजदूत र कर्मचारीको दरबन्दी तय भइसके पनि कर्मचारी खटाइएको छैन, दूतावास र कर्मचारीको निवास पनि तय भएको छैन । चार दूतावास स्थापना गर्दा मात्रै कम्तीमा १६ करोड खर्च हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
सरकारले यस वर्ष क्यानडा, दक्षिण अफ्रिका, ब्राजिल र कुवेतमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गर्दै राजदूत नियुक्त गरिसकेको छ । क्यानडाका लागि पूर्वमुख्यसचिव डा. भोजराज घिमिरे, दक्षिण अफ्रिकाका लागि अरुण धिताल, ब्राजिलका लागि प्रद्युम्नविक्रम शाह र कुवेतका लागि मधुवन पौडेल नियुक्त भएका छन् ।
स्रोतका अनुसार क्यानडा र ब्राजिलबाट दूतावास खोल्ने स्वीकृतिपत्र आइसकेको छ । दक्षिण अफ्रिका र कुवेतले अहिलेसम्म स्वीकृति पनि पठाइसकेका छैनन्, तर राजदूत तयार भइसकेका छन् ।

अघिल्लो सरकारले नै चार मुलुकमा पहिलोपटक दूतावास खोल्ने निर्णय गरेको थियो । दक्षिण अफ्रिकामा खोल्न लागिएको दूतावास अफ्रिकी महादेशकै पहिलो हो भने ब्राजिलमा खोलिने दूतावास ल्याटिन अमेरिकी मुलुकहरूमा पहिलो हो । हालसम्म इजिप्टको कायरोमा रहेको दूतावासले अफ्रिका हेर्दै आएको थियो ।

कुवेतमा नेपालीको संख्या अत्यधिक भएका कारण त्यहाँ दूतावास खोल्ने निर्णय भएको तर क्यानडामा अघिल्लोपटक नै श्यामानन्द सुमनलाई राजदूत बनाउन मधेसी जनअधिकार फोरमको दबाबपछि दूतावास खोल्ने निर्णय भएको परराष्ट्र स्रोतले जनाएको छ । अघिल्लो सरकारका परराष्ट्रमन्त्री उपेन्द्र यादवका तत्कालीन सल्लाहकार श्यामानन्द सुमनलाई राजदूत बनाउनुअघि नै तत्कालीन सरकार ढलेपछि नयाँ सरकारले पूर्वमुख्यसचिव डा. घिमिरेलाई राजदूत बनाइसकेको छ ।
परराष्ट्र स्रोतका अनुसार क्यानडाका लागि नेपाली दूतावासमा राजदूतसहित एक उपसचिव, एक नायवसुब्बा र एकजना शाखा अधिकृतको दरबन्दी कायम भएको छ । क्यानडाका लागि मन्त्रालयले उपसचिव तारा पोखरेललाई पठाउने निर्णय गरिसकेको छ । पोखरेल हाल परराष्ट्र मन्त्रालयमा उत्तरपूर्वी एसिया महाशाखामा कार्यरत छन् । तर, क्यानडा जाने अरू कर्मचारीको टुंगो लागिसकेको छैन । स्राेतका अनुसार उपसचिव पोखरेलका लागि पनि क्यानडाबाट भिसा आइसकेको छैन । नेपाल र क्यानडाबीच १८ जनवरी १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
सरकारले ब्राजिलका लागि राजदूतमा प्रद्युम्नविक्रम शाहलाई १७ भदौमा नियुक्त गरिसकेको छ, उनी हाल परराष्ट्र मन्त्रालयको युरोप-अमेरिका महाशाखा हेर्ने सहसचिव हुन् ।
७ फेबु्रअरी १९७६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको ब्राजिलमा राजदूतबाहेक शाखा अधिकृत र नायवसुब्बाको दरबन्दी परराष्ट्रले तोकिसकेको छ तर कर्मचारी तोकिएका छैनन् ।
दक्षिण अफ्रिकाका लागि परराष्ट्रको चीन महाशाखा हेर्ने सहसचिव अरुण धिताल राजदूत तोकिइसकेका छन् भने उपसचिव र सुब्बाको दुईवटा दरबन्दी स्वीकृत गरिएको छ ।
कुवेतका लागि सरकारले परराष्ट्रका सहसचिव मधुवन पौडेललाई राजदूत नियुक्त गरिसकेको छ र शाखा अधिकृत र सुब्बाको दरबन्दी पनि तोकिसकेको छ । कुवेतसँग नेपालको कूटनीतिक सम्बन्ध २५ फेब्रुअरी १९७२ मा स्थापना भएको हो ।
परराष्ट्र अधिकारीहरूका अनुसार कर्मचारी गएपछि मात्रै ती मुलुकहरूमा दूतावास कार्यालय तथा उनीहरूको निवासको प्रबन्ध हुनेछ । 'त्यसपछि मात्रै राजदूत जानेछन्,' परराष्ट्रका एक अधिकारीले भने ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सचिव डा. मदनकुमार भट्टराईले चार मुलुकमा दूतावासका लागि कर्मचारीको टुंगो लगाउने काम भइरहेको बताए । 'हामी छिट्टै कर्मचारीहरूको टुंगो लगाउँछौँ, त्यसको प्रक्रिया सुरु भइसकेको छ,' भट्टराईले नयाँ पत्रिकासँग भने ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by