ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 13, 2009

पछिल्लो ढोकाबाट प्रधानमन्त्री लुसुक्क ; माओवादी सडकमा रुँदै हिडेः प्रम नेपाल


 सिन्धु ढकाल/ चितबन २८ भदौ
उच्च माध्यमिक विद्यालय संघ नेपाल हिसानको प्रथम राष्ट्रिय सम्मेलन उदघाटन गर्न चितवन पुगेका प्रधानमन्त्री माधवकुमार नेपाल भरतपुर विमानस्थलको मूलद्वारबाट ननिस्की पछिल्लो ढोकाबाट निस्केका छन । राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत माओवादीका कार्यकर्ताहरुले भरतपुरबाट नारायणगढ पुग्ने क्रममा अवरोध गर्ने संभावना देखिएपछि उनलाई सुरक्षाका लागि पछिल्लो ढोकाबाट निकालिएको हो ।
प्रधानमन्त्री बनेपछि पहिलो पटक चितवन आउनु भएका नेपाल रुट परिवर्तन गर्दै सम्मेलन स्थलमा पुगेका थिए। भरतपुर विमानस्थलदेखि पुल्चोक हुँदै सम्मेलन स्थल पुग्ने निर्धारित रुट परिवर्तन गरी उनी कार्यक्रम स्थल पुगे। प्रधानमन्त्री नेपाल विमानस्थलबाट लङ्कु हुदै सम्मेलन स्थलमा पुगेका हुन। यद्यपि माओवादी कार्यकर्ताहरुले ठाउँठाउँमा कालोझन्डा देखाएका छन । उनी चितवन आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । "नयाँ नेपाल, नयाँ संविधान शिक्षामा निजी क्षेत्रको समुचित स्थान" भन्ने मुल नाराका साथ सम्पन्न हने सम्मेलनको प्रधानमन्त्री नेपालले उदघाटन गरेका छन ।

कार्यक्रममा प्रधानमन्त्री नेपालले नागरिक सर्वोच्चताको नाममा माओवादी सडकमा रुँदै हिडेको टिप्पणी गरे। उनले समस्या समाधानको बाटो सहमति र सहकार्य भएकाले सडकमा रोएर हिड्नु भन्दा सहमतिमा आउन समेत माओवादीलाई सुझाव दिए। उनले आफूहरुलाई एक्ल्याउन खोजेको भन्ने माओवादीको आरोप झुटा भएको उनले स्पष्टीकरण दिए। प्रधानमन्त्री नेपालले सेना समायोजनको लागि प्रकृया भइरहेकाले समयमा नै सेना समायोजन हुने प्रष्ट पारे। उनले शिक्षालाई अन्तराष्ट्रिय स्तरको बनाउन जरुरी रहेको भन्दै जनतालाई बन्दुक भन्दा शिक्षा दिनु आवश्यक भएको धारणा राखे।
उनले शिक्षालाई ब्यापारको रुपमा लिन नहुने भन्दै शैक्षिक संस्थालाई शान्ति क्षेत्र बनाउन शैक्षिक संस्थामा बन्द हड्ताल सधैका लागि बन्द गर्नु आवश्यक भएकोतर्फ ध्यानाकर्षण गराए। प्रधानमन्त्री नेपालले सम्मेलन स्थलमानै कर्मचारी र सुरक्षा निकायका प्रमुखलाई भेट गर्दै सबै नागरिकलाई राहत दिने काम गर्न आग्रह गरे। उनले कर्मचारीहरुलाई जनताको राहत दिने काममा कठिनाई भएमा सरकारले जस्तो सुकै कदम चाल्न पनि बाध्य हुने बताए।
सम्मेलनका क्रममा निजी शैक्षिक क्षेत्रमा भएका समस्या र त्यसको समाधान शैक्षिक क्षेत्रमा भएको राजनैतिक हस्तक्षेप लगायतका विषयमा छलफल हुने हिसानका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए । सम्मेलनमा संघीय संरचनामा उच्च माविको भूमिकाऽ २१ औं शताब्दीमा निजी क्षेत्रको स्थानलगायत तीन वटा कार्यपत्र पेश गरिने छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by