ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 19, 2009

चितवन निकुञ्जभित्र पर्यटक निषेध !

चाँदनी हमाल, चितवन असोज ३- चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल मजदुरले चितवनमा पर्यटक भित्रन रोक लगाएपछि सौराहा जाने पर्यटकलाई सुरक्षा व्यवस्थासहित लैजान थालिएको छ। होटल मजदुरले सडक र हवाई दुवै मार्गबाट आउने पर्यटकलाई चितवन छिर्न रोक लगाउने गरेका छन्। उनीहरुले जान नदिएपछि स्थानीय प्रशासनले प्रहरी स्कर्टिङमा पर्यटक सौराहा पुर्याउन थालेको हो ।
बुधबारदेखि पर्यटक सौराहा नपुगेपछि पर्यटन व्यवसायीको आग्रहमा प्रशासनले बल प्रयोग गरी पर्यटक लैजान सुरु गरेको चितवनका प्रहरी प्रमुख ज्ञानविक्रम शाहले बताए । 


तीन दिनसम्म पर्यटकबिहीन बनेको सौराहामा शनिबार भने स्कर्टिङमार्फत् ७० जना जति पर्यटक पुगेका छन् । शुक्रबार पर्यटक लैजान प्रहरीले बल प्रयोग गर्दा दुई पक्षबीच झडपसमेत भएको थियो । मजदुर अवरोधका कारण सौराहाका होटलमा पर्यटक अभाव हुन थालेको व्यवसायीले बताएका छन् । 
उचित मागका लागि वार्ता र सम्वादको सही बाटो छाडेर मजदुरले पर्यटक रोकेर उचित कार्य नगरेको होटल व्यवसायी गिरीधारी चौधरी बताउँछन् । 'मजदुरको यस कार्यले अन्तर्राष्ट्रिय जगतामा समेत नेपालको छवि बिग्रिएको उनले बताए । सौराहामा दैनिक आउने २ सयभन्दा बढी पर्यटकलाई मजदुरले रोक लगाएपछि दैनिक २० हजार डलरभन्दा बढी विदेशी मुद्राको आम्दानी घटेको चौधरीले जानकारी दिए । आफ्नो रोजीरोटीका लागि मजदुरले अरुको रोजीरोटी खोस्न नहुने गौतमको तर्क छ । 
स्कर्टिङ गर्दा पनि ठूला गाडीका पर्यटकमात्रै चितवन भित्रन सकेको व्यवसायीले बताएका छन् । 'साना गाडीमा आएका हाम्रा पर्यटक अझै पनि चितवन पस्न पाएका छैनन्'- सौराहास्थित होटल टाइगर क्याम्पका सञ्चालक सुवास गौतमले भने । 
चितवन घुम्न आएका जोर्डनी पर्यटक थोमस स्टेनफेनले आँपटारीबाट चितवन पस्न नपाएपछि निराश हुँदै मजदुरको यो गलत अभ्यास भएको प्रतिक्रिया दिए।
रोजीरोटीको माग गर्दै आन्दोलनमा उत्रिएका होटल मजदुरको अवरोधका कारण चितवन आएका पर्यटक बीच बाटोबाटै फर्कन बाध्य भएका छन् । आफ्ना माग पूरा गराउन दबाब दिँदै चरणबद्ध आन्दोलनमा उत्रिएका होटल मजदुरहरु पर्यटक रोक्न बुधबारबाट आँपटारी सडकछेउमै टेन्ट टाँगेर बसेका छन् । उनीहरुले पर्यटकको सवारी जताबाट आएको हो, उतै फिर्ता पठाउने गरेको बताए । 'हाम्रो माग पूरा नभएसम्म पर्यटक छिर्न दिँदैनौ'- एक होटल मजदुरले भने । 
उनीहरुले चितवनको आँपटारीमा टिकौली र पूर्वी चितवनको लोथरलगायतका नाकामा पर्यटकको निगरानीसमेत गरेका छन् । साउनबाट निकुञ्जका होटलको म्याद सकिएपछि रोजीरोटी नै खोसिएको भन्दै होटल मजदुर आन्दोलनमा उत्रिएका हुन्। 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by