ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 15, 2009

नेपाललाई सहयोग गर्न दातृनिकायलाई राष्ट्रपतिको आग्रह


कडा सुरक्षाका बाबजूद पनि राष्ट्रपतिलाई कालोझण्डा

विजय नेपाल /पोखरा, ३० भदौ
राष्ट्रपति डा. रामवरण यादवले संविधानसभा निर्माण र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु मुलुकको मुख्य चुनौती रहेको बताएका छन्। पोखरामा मंगलबारदेखि सुरु भएको सामुदायिक वनको अन्तर्राष्ट्रिय गोष्ठीको उदघाटन गर्दै राष्ट्रपति डा. यादवले यसको निम्ति मुलुकमा जारी हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिए। राष्ट्रपति बनेयता पहिलोपटक पोखरा आएका उनले विकासको मेरुदण्ड वनजंगल भएकोले संरक्षणमा जोड दिए।
उनले भने, वनजंगलले मुलुकमा कृषि, पर्यटन र उद्योगमा सघाउ पुगेको छ, तर यसको तीब्र फडानी रोक्नपर्दछ। उनले अशिक्षा, गरिबीका कारण तीब्ररुपमा बन फडानी भएको बताए।
नेपालसहित विभिन्न ३२ मुलुकका १ सय ८३ जना प्रतिनिधि सहभागी गोष्ठी उद्घाटन मन्तब्यका क्रममा उनले दातृ निकायलाई सहयोग गर्नसमेत आग्रह गरे।
करिब १२ मिनेट बोलेर मन्तब्य टुंग्याङ्एका डा. यादवले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको सामुदायिक बनको गोष्ठी गर्न ब्यवस्था मिलाउने सहयोगीहरुलाई हार्दिक धन्यवादसमेत दिएका थिए।
राष्ट्रिय गानबाट सुरु भएको उद्घाटन सत्रमा वन तथा भू(संरक्षण मन्त्रालयका सचिव युवराज भुषालले स्वागत मन्तब्य राख्दै नेपालमा हाल १५ हजारको संख्यामा सामुदायिक बन रहेकोले यसको संरक्षणमा उच्चस्तरमा नीति निर्माण हुनुपर्नेमा जोड दिए।
वन तथा भूसंरक्षण मन्त्री दीपक बोहोराको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रीय सदस्य अप्सरा चापागाई, प्रतिनिधिको तर्फबाट सिमोन लुकासलगायतले बोलेका थिए।
चारदिनसम्म चल्ने सो गोष्ठीमा विभिन्न ४७ वटा कार्यपत्र प्रस्तुत गरिने छ। गोष्ठीमा नेपालबाहेक ७६ जना विदेशी बन विज्ञहरु सहभागी छन्। नेपाल सरकारको १० लाख रुपैयाँसहित विभिन्न १३ वटा सहयोगी संस्थाको सहयोगमा आयोजित गोष्ठी सम्पन्न गर्न एक लाख अमेरिकी डलर खर्च लाग्ने आयोजकले जनाएका छन्। दुईदिनसम्म छलफल तथा प्रतिवेदन प्रस्तुतपछि समूहगतरुपमा तेस्रो दिन (असोज १ गते) कास्कीका ६ सहित स्याङजाका २, पर्वतका २, तनहूँका १ गरी ११ वटा सामुदायिक बनको स्थलगत अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। साथै असोज २ गते अन्तिम दिन घोषणा पत्र जारी गर्दै गोष्ठी सकिने बन विभागका महानिर्देशक कृष्णचन्द्र पौडेलले जानकारी दिए। सामुदायिक बनको क्षेत्रफलमा नेपालमा हाल साढे १२ लाख हेक्टर छ।
यसैबीच, राष्ट्रपति यादव मंग्ालबार दिनभर पोखरास्थित पश्चिम पृतनामा रहने र बुधबार बिहान लुम्बिनी भ्रमण गरी राजधानी फर्किने कार्यक्रम छ।
राष्ट्रपतिलाई कालोझण्डा :
कडा सुरक्षाको बाबजूद पनि राष्ट्रपति डा. रामबरण यादवलाई एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले पोखरामा कालोझण्डा प्रदर्शन गरेका छन्।
प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिको कदम सच्याउनुपर्ने तथा नागरिक सर्वोच्चताको कायम हुनुपर्ने लगायतका माग राख्दै सदन र सडकमा आन्दोलित प्रमुख प्रतिपक्षी दल माओवादीले मुलुकको सर्वोच्च ब्यक्तित्व राष्ट्रपतिलाई समेत कालोझण्डा प्रदर्शन गर्न चुकेनन्।
उनीहरुले पोखराको बिरौटा क्षेत्रमा करिब दर्जनको संख्यामा कालोझण्डा प्रदर्शन गर्दै राष्ट्रपति र एमाले नेतृत्वको सरकारको चर्को आलोचना गरेका थिए।
यसअघि, प्रधानमन्त्री माधवकुमार नेपाल तथा केही मन्त्रीहरुलाई सहज ढंगले कालोझण्डा प्रदर्शन गरेका भए पनि करिब दुई सयको संख्यामा रहेका माओवादी कार्यकर्ताहरुले मंगलबार बिहान साढे ९ बजे बिरौटा क्षेत्रमा टाढैबाट कालोझण्डा प्रदर्शन गरेका हुन्। उनीहरुलाई ठूलो संख्यामा माखेसाङ्लो बनाएर तैनाथ सुरक्षाकर्मीले निर्धारित क्षेत्रभन्दा अघि बढ्न दिएका थिएनन्। पोखरा एयरपोर्ट र कार्यक्रमस्थल होटेल ग्राण्ड पाँचसय मिटरको दूरीमा पर्दछ।
निर्धारित ९ बजे राष्ट्रपति डा. यादव पोखरा आउने भए पनि माओवादी कार्यकर्ताहरु बिहानैदेखि राष्ट्रपतिको पुत्लासहित हातहातमा कालोझण्डा बोकेका थिए । उनीहरुले फासिष्ट राष्ट्रपति राजीनामा दे, राष्ट्रपतिको असंबैधानिक कदम खारेज गर, नागरिक सर्वोच्चता कायम गरे, कठपुतली सरकार चाहिदैन लगायतका नाराबाजी घण्टौसम्म दोहोर्याएका थिए। स्मरणरहोस्, तीनदिन अघि मात्रै माओवादी कार्यकर्ताले पोखराको चिप्लेढुंगामा अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई कालोझण्डा प्रदर्शन गर्दै उहाँ चढेको गाडीमा ढुंगा प्रहार गरेका थिए।

कडा सुरक्षा ब्यवस्था :

राष्ट्रपति डा. रामबरण यादव पहिलोपटक पोखरा आउने भएपछि यहाँको सुरक्षा ब्यवस्था अघिल्लो दिनदेखि नै कडा पारिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनपथ प्रहरी गरी झण्डै हजारको संख्याको सुरक्षाकर्मी परिचालित थिए। पोखराको पृथ्वीचोक, एयरपोर्ट, बिरौटा क्षेत्रमा करिब पाँच मिटरको दुरीमा सुरक्षाकर्मी परिचालित थिए। कडा सुरक्षा ब्यवस्थाका कारण कार्यक्रमस्थल बिरौटाको होटेल ग्राण्ड नजिकका स्थानीयबासीहरु घरबाहिर निस्कन समेत प्रतिबन्ध लगाइएको थियो। कार्यालय, विद्यालय तथा क्याम्पस जानका लागि तयार विद्यार्थी, शिक्षक तथा कर्मचारीहरु त्यसतर्फ जान तयार भए पनि उनीहरु केही समय घरभित्रै रोकिनुपरेको थियो। सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सो राजमार्गमा सवारीसाधनहरु ब्यस्त रहने भए पनि सो रुटमा सुरक्षाकर्मी र सञ्चारकर्मीका सवारीसाधन चल्न दिइएको थिया। अन्य निजी तथा सार्वजनिक सवारीका लागि छुट्टाइएको पृथ्वीचोक, सिर्जनाचोक, राष्ट्रबैक र बिरौटाको रुटमा ट्राफिक जाम देखिन्थ्यो।

सञ्चारकर्मीमाथि दुर्ब्यवहार :

समाचार संकलनका लागि होटेल ग्राण्डमा आयोजित समारोहतर्फ लागेका सञ्चारकर्मीलाई होटेलको मूलद्धारमा सुरक्षाकर्मीद्धारा दुर्ब्यवहार गरिएको थियो। सञ्चारकर्मीहरुलाई पोखराको पृथ्वीचोक, ड्यामसाइड तथा बिरौटाक्षेत्रमै कडा चेकजाँच गरिएको थियो।
कार्यक्रमस्थलमा प्रवेशका लागि पासको ब्यवस्था भए पनि पास नपाएका सञ्चारकर्मीहरुलाई सञ्चारमाध्यमको परिचय देखाउँदा पनि प्रवेशमा निषेध गरिएको थियो। प्रहरी र सञ्चारकर्मीबीच लामो समयको भनाभनपछि कार्यक्रमको अन्त्यतिरमात्र प्रवेश दिइएको थियो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by