ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 21, 2009

किन बदनाम छ तातोपानी ?

सुजित महत/खुमानसिंह तामाङ/ काभ्रे (कान्तिपुर)-
झोला र पोकामा सामान ओसार्नेहरूले ठूलो परिमाणमा चोरी पैठारी गर्ने गरेका छन् । झोले, पोके भनिने ससानो परिमाणमा सामान ओसार्नेको संख्या हजारमा छ । झोले पोकेले भोटेकोसीमा तुइनको प्रयोग गरेर पनि चोरी पैठारी गर्छन् । 

मुलुकका अरू भन्सार नाकाभन्दा तातोपानी फरक छ । केही अघिसम्म तातोपानीबाट वस्तु विनिमय प्रणालीमार्फत द्विपक्षीय व्यापार हुन्थ्यो । राजस्व चुहावट बढी हुने भएकाले तातोपानी भन्सार सबैभन्दा बदनाम छ ।
'तीसवटा भन्सार नाकामा तातोपानी सबैभन्दा तातो छ,' राजस्व अनुसन्धान विभागले यो नाकामा हुने राजस्व चुहावट नियन्त्रणबारे शुक्रबार धुलिखेलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजस्व सचिव कृष्णहरि बाँस्कोटाले भने, 'दुई सय किलोमिटर परको वीरगन्जको ढुवानी भाडा १५ हजार रुपैयाँ हुँदा ७० किलोमिटर तातोपानीदेखि राजधानीको भाडा ३ लाख रुपैयाँसम्म पुग्ने गरेको छ ।' अरू नाकामार्फत सामान आयात हुँदा सामानको मोलमा ढुवानी भाडा र बिमासमेत जोडेर राजस्व असुली गरिन्छ । तातोपानी यसको अपवाद रहँदै आएको छ । 'ढुवानी हुँदा लागेको खर्चको विवरण उपलब्ध हुँदैन,' भन्सार प्रमुख चूडामणि देवकोटाले भने, 'बिमाको कुनै कागजपत्र हुँदैन ।'
हालै भन्सार प्रमुखहरूको भेलाले बिल विवरण नभए पनि केही रकम जोडेर राजस्व असुली गर्नुपर्ने निर्णय गरेको थियो । हाल केही रकम जोड्न थालिएको देवकोटाले बताए । नक्कली बिलबिजकको भरमा सामान आयात हुने गरेको छ । 'सामान जहाँबाट ल्याए पनि बिलचाहिँ सीमा नजिकको खासा बजारको हुन्छ,' उनले भने, 'सामान भन्सारमा ल्याएपछि मूल्य कति राखौं भनेर सोध्न आउँछन् ।'

न्यून बिजकीकरणका मतियार चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेर त्यस्ता कम्पनीको उत्पादन भित्रिन रोक लगाउने प्रावधान राख्न मन्त्रालयले तयारी गरिरहेको अर्थसचिव रामेश्वर खनालले

जनाए । विभिन्न संघसंस्थाको नाममा हुने अवैध असुली तथा ढुवानी भाडामा हुने 'कार्टेल' का कारण पनि राजस्व चुहावट गर्ने प्रवृत्ति प्रोत्साहित भएको उनको आरोप थियो ।

विभागका महानिर्देशक महेश दहालका अनुसार तातोपानीमा सन्दर्भ मूल्य नटेकी सामान जाँचपास हुने गरेको छ । एउटा प्रज्ञापनपत्रबाट पटकपटक सामान ल्याउने प्रवृत्ति छ । गलत घोषणा र गलत मूल्यांकनको प्रवृत्ति बढेको छ । 'एउटा र्फमबाट केही समय सामान आयात गरेपछि अर्को र्फममार्फत कारोबार सुरु गर्ने प्रवृत्ति -नन फिलर) को समस्या पनि यसै नाकामा बढी छ,' उनले भने । प्रहरी, सेना र निजामती कर्मचारीले पनि यही नाकामार्फत निजी प्रयोजनका लागि भन्दै ठूलो परिमाणमा सामान ल्याउने गरेको उनले खुलासा गरे ।

भन्सार कार्यालयले गर्ने मूल्यांकन वस्तुपरक नभएको आरोप दहालको थियो । उनले भने, 'एकै प्रकारका वस्तु एकै दिन फरकफपरक मोलमा जाँचपास भएको देखिएको छ ।' नाकामा परिचालित सशस्त्र प्रहरीले चोरीपैठारी हुने बिन्दुमा पर्याप्त सक्रियता देखाउन नसकेको उनले बताए । तर उक्त मार्गमा रहेको विभागको इकाईको सक्रियताबारे उनले केही उल्लेख गरेनन् ।

झोला र पोकामा सामान ओसार्नेहरूले ठूलो परिमाणमा चोरी पैठारी गर्ने गरेका छन् । झोले, पोके भनिने ससानो परिमाणमा सामान ओसार्नेको संख्या हजारमा छ । झोले पोकेले भोटेकोसीमा तुइनको प्रयोग गरेर पनि चोरी पैठारी गर्छन् । देवकोटाले भने, 'खाँडीचौर र बाह्रबिसेको त व्यापार नै चोरीपैठारीको समानमा आधारित छ ।' राजस्व चुहावट नियन्त्रण गर्न प्रयास गरिएको दाबी भन्सार अधिकारीहरूको थियो । तर चोरी पैठारीकर्तासामु राज्य संयन्त्र निरिह देखिएको अनुभव देवकोटाले व्यक्त गरे । 'सामान बरामद गर्न जाने सुरक्षाकर्मीमाथि चोरी पैठारी गर्नेहरू जाइलाग्छन्,' उनले भने ।

सचिव बाँस्कोटाले पनि भन्सारका विकृति घटेको दाबी

गरे । 'अपेक्षित उपलब्धि हासिल नभएको हुन सक्छ,' उनले भने, 'तर सुधार भएको छ ।' प्रगति गत एक वर्षअघि मूल्यांकनमा परिवर्तन गरेपछि सामानको परिमाण घटे पनि राजस्व असुलीमा वृद्धि भएको छ । देवकोटाका अनुसार गत आवमा करिब ३ हजार कन्टेनर कम सामान आयात भए पनि राजस्व असुली झन्डै ५० प्रतिशतले वृद्धि भएको थियो ।

नाकाको ३० किलोमिटरभित्र केही परिमाणमा सामान ओसार पसार गर्न दिने चलनले पनि विकृति बढाएको भन्सार विभागका महानिर्देशक बोधराज निरौलाले बताए । अब भन्सारले अधिकांश सामान चेकजाँच नगरी जाँचपास गर्ने प्रणाली सुरु गर्न लागेको उनले जनाए । 'सामान चेकजाँच गर्ने बोझबाट भन्सार मुक्त हुँदै छ,' उनले भने ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by