ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 20, 2009

पोखिए दसगजाका/ नेपाल भारत सिमा विवाद बारे फिल्म अन्तर्राष्ट्रियस्तरमै प्रदर्शन


नया पत्रिका-
नायक निर्माता नवल खड्काले दसगजा फिल्म छायांकनका क्रममा भारतीय पुलिस र एजेन्टहरूले गरेका षड्यन्त्र, अवरोध र दबाबका कारण भोग्नुपरेका समस्या सञ्चारकर्मीमाझ राखेका छन् । दसगजाको सुटिङ सिद्धिएको जनाउन तथा सीमा क्षेत्रमा सुटिङ गर्दा आफूहरूमाथि भारतीयले गरेको हेपाहा व्यवहारको भन्डाफोर गर्न बिहीबार राजधानीमा आयोजित दसगजा इन्डक्ल्याप समारोहमा निर्माता नवलले आफ्नो फिल्ममा राष्ट्रिय समस्या उठाइएकाले कुनै शक्तिसँग पनि नझुकी दसगजालाई अन्तर्राष्ट्रियस्तरमै प्रदर्शन गरेर पीडित नेपालीको पीडा उजागर गर्ने अडान दोहोर्‍याए । उनले भने, 'दसगजामा पीडित नेपालीको समस्या उठाएका छौँ । आफ्नो भूमिमा पनि पराई भई बाँच्नुपरेका जनताको न्यायका लागि निर्माण गरेको फिल्म भएकाले यसमा सम्पूर्ण देशप्रेमीले साथ दिनुपर्छ ।'




कार्यक्रममा सीमाविद् साध्यबहादुर भण्डारीले बितेका तीन वर्षमा भारतले २१ हजार बिघा नेपाली भूभाग मिचेको बताउँदै यस विषयमा सरकार गम्भीर बन्न नसकेकामा गुनासो पोखे । उनले सीमा अतिक्रमणलाई फिल्मको विषय बनाएका दसगजाका निर्माताको प्रशंसा गर्दै नेपालमा भारतीय फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिए । अर्का सीमाविद् चेतनजंग हिमालीले पनि भारतको दादागिरीले लाखौँ नेपालको भूमिका लाखौँ नेपाली पीडित भएकाले आमनेपाली यसविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए । उनले दसगजाले राष्ट्रिय समस्या उठाएकाले अभियान सफल पार्न सबैले साथ दिनुपर्ने बताए । कार्यक्रममा जनपक्षीय चलचित्रकर्मी मञ्चका अध्यक्ष देशभक्त खनालले भारतले नेपाली भूमिमा नंग्रा गाडिरहेको बताउँदै फिल्मका माध्यमबाट यस्ता समस्या उजागर गरी जनतालाई सुसूचित गराउनु सराहनीय काम भएको बताए । चलचित्र कलाकार संघका अध्यक्ष रमेश बुढाथोकीले नेपाली भूमिमा भइरहेको भारतीय मिच्याइँमा देश चलाउने नेताहरू मौन रहेका बेला फिल्म बनाएर जनतालाई सुसूचित पार्नु चानचुने साहस नभएको बताए ।


दसगजाका संगीतकार तथा रिभोल्युसनरी लेफ्ट विङका अध्यक्ष मणि थापाले दसगजा राष्ट्रियताका विषयमा केन्दि्रत भएकाले सो फिल्म नेपाली फिल्म क्षेत्रकै कोसेढुंगो साबित हुने दाबी गरे । उनले भने, 'दसगजा नेपाली फिल्म क्षेत्रलाई नयाँ मोड दिने नयाँ धारकोे फिल्म हो ।'


दसगजाका निर्देशक दयाराम दाहालले नेपाली जनता नेपाली भूमिमै अघोषित रूपमा भारतीयको दास बनेर बस्नुपरेको यथार्थले मर्माहत बनाएको बताउँदै देश चलाउने मन्त्रीहरूलाई चुनौती दिँदै भने, 'हिम्मत भए मिचिएको सीमा फिर्ता ल्याउने पहल गर नत्र कुर्सी छोड ।'


हब खड्का र शिवहरि कार्की कार्यकारी निर्माता रहेको दसगजाको माघमा प्रदर्शन गर्ने योजनासाथ दु्रत गतिमा पोस्ट प्रोडक्सन भइरहेको जानकारी नवलले दिए । फिल्ममा नवलसहित राजेश हमाल, निखिल उप्रेती, प्रेम सुब्बा आदि कलाकार प्रमुख भूमिकामा छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by