ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 18, 2009

'नकारात्मक कुरा मात्र प्रचार गरियो'


कमलकुमार, लन्डन-

अध्ययन गर्न बेलायत पुगेका नेपाली विद्यार्थीले आफ्नो अवस्थाबारे नराम्रो कुराको मात्र प्रचार भएको गुनासो गरेका छन्। आर्थिक मन्दी कायम रहनु र एक्कासी विद्यार्थीहरुको संख्या बढ्नाले काम पाउन केही कठीन भए पनि प्रचार गरिए जस्तो कहालीलाग्दो अवस्था नभएको विद्यार्थीहरुले बताए। 'बेलायतमा हामीले कुकुरले नपाएको दुःख पायौं भन्ने जस्ता खबर मात्र नेपालमा पुगेका छन्। यसले हामीलाई हतोत्साही बनाएको छ' क्विन्सल्याण्ड कलेजमा अध्ययनरत सुमन कार्कीले भने।
बेलायत सरकारले विद्यार्थीहरुको लागि टायर फोर भिसा प्रणाली सुरु गरेपछि केही महिनायता मात्र ८ हजार जति नेपाली विद्यार्थी बेलायत भित्रिएको अनुमान गरिएको छ। ती मध्ये अधिकांश लण्डनमा रहेका छन्।

'पढ्न सक्ने हैसियत छ भनेर बेलायत आउने अनि यहाँ आएर कमाउन खोज्नु भन्ने हो भने त्यो सम्भव छैन।' अर्का विद्यार्थी दोर्जे शेर्पाले भने, 'आफ्नो उदेश्यबारे सुरुमै प्रष्ट भएर आउनु पर्छ, पढ्ने उदेश्य भए बेलायत ठीक छ, कमाउने भए कतार, दुबई धेरै राम्रो'

कलेजहरुबीचको अस्वस्थ प्रतिस्पर्धा र नेपालीले नेपालीलाई नै असहयोग गर्नुले पनि नकारात्मक सन्देश दिएको गुनासो लण्डनमा सुनिएको छ। 'भारत, बंगलादेश र अन्य मुलुकका बलिया समुदाय छन्। उनीहरु नयाँ आउनेहरुलाई काम खोज्न र अन्य कुरामा सहयोग गर्छन्। तर नेपालीहरु सहयोग त परै जाओस्, पाएसम्म एक अर्काको खुट्टै तान्छन्' एमबिए पढ्न डेढ महिना अघि बेलायत आएका सचिन खड्काको गुनासो छ।

केही हप्ताअघि मात्र सरकारले नेपालीद्वारा संचालित एउटा कलेज बन्द गरिदिएको भन्दै स्थानीय नेपाली पत्रिकाले प्राथमिकताका साथ समाचार छापेका थिए। तर उक्त लण्डन कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका एड्मिसन अफिसर महेश रेग्मी आक्रोश पोख्छन्, 'कलेज र होम अफिसबीचको सामान्य नियमित प्रक्रियालाई कलेज नै बन्द भयो भनी प्रचार गरियो। थुप्रै विद्यार्थी र नेपालस्थित तीनका परिवारले मानसिक तनाव मात्र पाए'। नेपालीद्वारा नै संचालित अर्को कलेजका संचालकहरुले आफ्नो कलेजको प्रगति देख्न नसकेपछि दुष्प्रचार गरेको आरोप रेग्मीले लगाए।

'कलेज बन्द भएको छैन र बन्द हुने कारण पनि छैन। सबै विद्यार्थी सुरक्षित छन्। नियमित पढाइ भइरहेको छ' रेग्मीले बताए। नेपालबाट कमाउँछु भन्ने सोचेर बेलायत नआउन विद्यार्थीलाई उनको सुझाव छ। 'तपाईँसँग प्रशस्त पैसा छ र कामै नगरी पनि बेलायतमा बाँच्न सक्नु हुन्छ भने मात्र यहाँ आउनुहोस्' रेग्मीले भने।

हाल बेलायतमा रहेका विद्यार्थीहरुमाझ वास्तविकता भन्दा धेरै हल्लाले चर्चा पाएका छन्। नेपाली विद्यार्थीले आत्महत्या गरेको, डेढ सय विद्यार्थीलाई एक्कै चोटी नेपाल फर्काइदिएको, युवतीहरु काम नपाएर देहव्यापारमा लागेको जस्ता कुराहरु लण्डनका विद्यार्थीमाझ भइरहने गर्दछन्। तर त्यस्ता अधिकांश हल्लाको कतैबाट पुष्टि भएको छैन।

नेपालका कन्सल्टेन्सीहरुले विद्यार्थीलाई झूटो आश्वासन दिने गरेको आरोप पनि विद्यार्थीले लगाए। भर्खरै बेलायत आइपुगेकी एक विद्यार्थीले नाम उल्लेख नगर्ने शर्तमा भनिन्, 'बस्ने खाने सबै व्यवस्था भइसकेको छ भनेर कन्सल्टेन्सीले भन्यो। आउने बित्तिकै सिधै कलेजमा गएँ। न बस्ने ठाउँको ठेगान थियो न खाने कुराको।' गलत परामर्शको शिकार नबन्न उनको सुझाव छ, 'कुरै नबुझी कमाउन पाइन्छ भनेर बेलायत आउनु भयो भने नराम्रो दुःख पाइन्छ'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by