ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 18, 2009

महानगरपालिकालाई चीनले १ सय १८ गाडी दिने

अर्जुन सुवेदी, काठमाडौं-

महानगरपालिकालाई सहयोगस्वरूप दिन लागिएका गाडीमा फोहोर डम्पिङसाइटसम्म पुर्‍याउने गार्वेज ट्रक, फोहोर संकलन गर्ने ट्रक, एम्बुलेन्स, रोड रेकर, रोड स्विपर छन्। चीन सरकारले काठमाडौँ महानगरपालिकालाई फोहोर व्यवस्थापनका लागि १ सय १८ वटा गाडी सहयोगस्वरूप दिने भएको छ। महानगरपालिकाले दुई वर्षअघि ६३ वटा गाडी माग गरेको भए पनि चीन सरकार दोब्बर गाडी दिन सहमत भएको छ। शुक्रबार काठमाडौंस्थित चिनियाँ दूतावासले महानगरपालिकालाई पत्र पठाई सहयोगबारे औपचारिक जानकारी दिएको थियो। दुई महिनाअघि परराष्ट्र मन्त्री सुजाता कोइरालाको भ्रमणका बेला चीन सरकारले महानगरपालिकालाई गाडी सहयोग दिने प्रतिबद्धता जनाएको थियो।
चिनियाँ दूतावासले महानगरपालिकालाई दिएको जानकारीअनुसार सहयोगस्वरूप दिन लागिएका १ सय १८ वटा गाडीमध्ये ५ वटा ठूला गार्वेज ट्रक, ५ वटा एम्बुलेन्स, २ वटा रोड रेकर र २ वटा रोड स्विपर छन्। यी गाडी फोहोर उठाउन र बोक्नबाहेक फोहोर व्यवस्थापन र अन्य कामका लागि समेत प्रयोग गर्न सकिनेछ। यसका साथै फोहोर बोक्न प्रयोग गरिने अन्य साना ट्रकसमेत चीनले प्रदान गर्न लागेको छ।

चीनले दिन लागेका यी गाडीको मूल्य १७ लाखदेखि ३५ लाखसम्म पर्छ। चीनले गाडीसँगै फोहोर उठाउनका लागि ४ हजार कन्टेनर पनि दिन लागेको छ। नयाँ गाडी आएपछि महानगरपालिकाले ३५ वटै वडामा फोहोर उठाउनका लागि एक-एक वटा गाडी उपलब्ध गराउने योजना बनाएको छ। सहयोगस्वरूप आउन लागेका ५ वटा एम्बुलेन्स भने फोहोर प्रभावित क्षेत्रका बिरामी उद्धारका लागि प्रयोग गरिने महानगरपालिकाले जनाएको छ। 'ओखरपौवा ल्यान्डफिल साइट क्षेत्रका बासिन्दाका लागि दुईवटा एम्बुलेन्स उपलब्ध गराउने सोच बनाएका छौं,' काठमाडौं महानगरपािलका वातावरण व्यवस्था विभाग प्रमुख रविनमान श्रेष्ठले भने, 'बाँकी तीनवटा एम्बुलेन्स भने अन्य क्षेत्रका बिरामीको लागि प्रयोग गरिने छ।' सडकको फोहोर बढार्न रोड स्विपर तथा फोहोरको कन्टेनर उठाउन रोड रेकर प्रयोग गरिनेछ।

गाडी ल्याउने प्रक्रिया स्वीकृतीका लागि अर्थ मन्त्रालयको वैदेशिक सहायता सहयोग समितिमा पत्र पठाएको श्रेष्ठले जानकारी दिएका छन्। उनले भने, 'अर्थ मन्त्रालयले स्वीकृति दिएपछि गाडी ल्याउनका लागि प्रक्रिया पूरा हुनेछ।' चीन सरकारले गाडी टेन्डरमार्फत गाडी खरिद प्रक्रिया सुरु गरिसकेको छ। अर्थ मन्त्रालयको वैदेशिक सहायता समितिले प्रक्रिया पूरा गरेर दूतावासमा पत्र पठाएको दुई महिनाभित्रै नेपालमा गाडी भित्रिने श्रेष्ठले बताए।

नयाँ गाडी आएपछि काठमाडौंको फोहोर व्यवस्थापन सहज हुने श्रेष्ठको भनाइ थियो। 
चीन सरकारले पहिले मागेभन्दा बढी गाडी दिन लागे पनि महानगरपालिकाले भने अझै दुईवटा थप गाडी माग गरी पत्राचार गरेको छ। महानगरपालिकाले मेकानिकल वर्कसपका लागि एउटा र २५ सिट क्षमता भएको अर्काे गाडी माग गरेको छ। प्राविधिक प्रयोग तथा महानगरका कर्मचारीका लागि थप दुईवटा गाडी मगाइएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको आग्रहअनुसार सरकारको सचिवस्तरीय बैठकले चीनियाँ दूतावासलाई गाडी थप गरिदिन माग गरेको हो।

चीनबाट गाडी भित्रिनासाथ महानगरपालिकाले गाडीका चालक तथा प्राविधिकलाई तालिम दिने जनाएको छ। गाडी पार्किङका लागि महानगरपालिकाले टेकूमा व्यवस्था गर्ने महानगरपालिकाले जानकारी दिएको छ।

हाल महानगरपालिकासँग फाहोर व्यवस्थापनका लागि १ सय ४ वटा गाडी भए पनि सबै प्रयोगमा आएका छैनन्। महानगरपालिकाले चीनबाट आउनासाथ हाल प्रयोगमा रहेका गाडी हटाउने बताएको छ। हाल प्रयोगमा आएका गाडी लिलाम गर्ने प्रमुख श्रेष्ठले जानकारी दिए। सबै गाडी प्रयोगमा नआए पनि अहिले महानगरपालिकामा १ सय ५५ ड्राइभर छन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by