ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 20, 2009

स्वाइन फ्लु रोग होइन, डर हो


दीपक दाहाल,काठमाडौं(कान्तिपुर)-
सामान्य रुघाखोकी, घाँटी दुख्दा र उच्च ज्वरो आउँदैमा स्वाइनफ्लु हुने होइन। यस्ता लक्षण स्वाइनका हुन् कि होइनन् भनेर थाहा पाउन न अस्पताल नै जानुपर्छ, न प्रयोगशालामा परीक्षण नै गर्नुपर्छ। रुघाखोकीका सामान्य लक्षणमा अस्पताल जानुभन्दा घरैमा बसेर कम्तीमा एक साता आराम गर्न चिकित्सकले सुझाव दिएका छन्। एभियन इन्फ्लुएन्जा नियन्त्रण आयोजनाका उपनिर्देशक डा.जितेन्द्रमान श्रेष्ठले भने, 'समुदायमा फैलिएको अवस्थामा स्वाइनफ्लु संक्रमण स्वभाविक हो, आत्तिहाल्नु पर्दैन।'
उनका अनुसार गम्भीर प्रकृतिका लक्षण देखिए वा केही दीर्घरोग छ भनेमात्र अस्पताल जानुपर्छ।' चिकित्सकहरूले सामान्य रुघाखोकी जस्तै स्वाइनको संक्रमणलाई पनि सहज रूपमा लिएर अरुलाई सार्न, अन्य खालका संक्रमणबाट बच्न र घरैमा बसेर आराम गर्न सुझाव दिएका छन्।
उनीहरूले स्वाइनबारे चिकित्सकहरूमा अन्यौल र सर्वसाधारणमा त्रास रहेको भन्दै 'सचेतना जरुरी' रहेको बताए।

'सामान्य रुघाखोकीलाई स्वाइन फ्लु हो कि भन्ने आशंका गरेर अस्पताल धाउने बिरामीको संख्या बढेकोमात्र होइन, यसकै आशंकामा उपचार गर्नबाट पन्छिने प्रवृत्ति डाक्टरमा छ,' टेकु अस्पताल स्वाइन फ्लु यूनिटका प्रमुख डा.वासुदेब पाण्डेले भने। उनले केही विद्यार्थीमा स्वाइन फ्लुको लक्षण देखिँदैमा मास्क अनिवार्य र स्कुल बन्द गर्नुभन्दा संक्रमणको शंका लागेकालाई घरैमा कम्तीमा एक साता आराम गर्न लगाउनु व्यावहारिक भएको बताए।

'स्वासप्रश्वासमा अप्ठ्यारो हुने, मुखबाट रगत आउनेजस्ता लक्षण देखिएमा भनेमात्रै तुरुन्त अस्पताल जानुपर्छ,' सरुवा रोग विशेषज्ञ डा.मानसकुमार बनर्जीले भने। स्वाइन फ्लुजस्तै सिजनल फ्लुमा पनि ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, झाडापखाला हुने, नाकबाट पानी बग्ने लक्षण हुने भन्दै सबै अवस्थामा अस्पताल जानु नपर्ने चिकित्सक बताउँछन्।

'कुनै निश्चित ठाउँमा एकैपटक धेरै बिरामी भएमा नमूना परीक्षण गर्नेबाहेक प्रत्येकको स्वाइन परीक्षण गर्नु पर्दैन,' एभियन इन्फ्लुएन्जा नियन्त्रण आयोजनाका उपनिर्देशक डा.जितेन्द्रमान श्रेष्ठले भने, 'उस्तै लक्षण भएमा स्वाइन नै भन्न सकिन्छ तर सिभियर केसबाहेक परीक्षण गर्नु र अस्पताल जानु जरुरी छैन।'

साधारण रुघाखोकीमा पनि नाकबाट पानी बग्ने, खोकी, आँखा रसिला हुनेलगायत समस्या हुन्छ। सामान्य रुघाखोकीभन्दा केही फरक लक्षण हुने भए पनि कतिपय बिरामीमा स्वाइनका सबै लक्षण नदेखिने चिकित्सक बताउँछन्। बालबच्चा र बृद्धालाई स्याहार गर्ने व्यक्तिले व्यक्तिगत सुरक्षा अपनाउनुपर्ने उनीहरूको सल्लाह छ। 'घाँटी पनि दुख्ने, रुघाखोकी भन्दा बढी ज्वरो भएमा पनि परीक्षण र औषधीभन्दा अलग्गै राख्ने र व्यक्तिगत सरसफाइ र अन्य संक्रमणबाट बच्नुपर्छ,' उनले भने, 'उच्च ज्वरो नघटे, पखाला लागी जलवियोजन भए वा अन्य रोग भए स्वास्थ्य संस्था गएर ती रोगको उपचार गर्नुपर्छ।'

डा.श्रेष्ठले रुघाखोकी धेरै दिनसम्म निको नभए, पाँच वर्षमुनि र ६५ वर्षमाथि, गर्भवती महिला, फोक्सो, मुटु, मिर्गाैला, मधुमेह, नसासम्बन्धी र क्यान्सरका रोगीलाई टाँमी फ्लु नामक औषधी दिने तर परीक्षण भने जरुरी नहुने बताए।

पान्डमिक इन्फ्लुएन्जा ए एचवानएनवान रोगले ९९ प्रतिशत मानिसमा मन्द प्रकृतिको रुघाखोकी र १ प्रतिशतमा मात्रै गम्भीर असर गर्छ। रोगीको सम्पर्कमा आएका प्रत्येक तीन जनामा एक बिरामी हुन्छन्। १० मा एक जनामा इन्फेक्सन हुन्छ। प्रति १० हजारमा चारदेखि १० जनाको मृत्यु हुन्छ। 'सिभियर लक्षण नदेखिएसम्म घरैमा बसेर आराम गरे हुन्छ,' इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.गरिबदास ठाकुरले भने, 'उपचारमा संलग्न चिकित्सकले पनि आवश्यकता हेरेर मास्कपञ्जा लगाएर व्यक्तिगत सुरक्षाका सामान्य उपाय अपनाए डराउनु पर्दैन।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by