काभ्रे (नयाँ पत्रिका)
रासायनिक मल र विषादीका कारण माटोको अम्लीयपन बढ्दै गएपछि काभ्रेका किसान अर्गानिक खेतीमा आकषिर्त हुन थालेका छन् । कतिपय किसानले कृषि विकास कार्यालयको सहयोगमा अर्गानिक खेती सुरु गरेका छन् भने केहीले व्यक्तिगत अर्गानिक खेती गरिरहेका छन् । मुलुकमै सबैभन्दा बढी रासायनिक मल र विषादी प्रयोग गर्नेमा काभ्रे अग्रपंक्तिमा पर्दछ । दैनिक लाखौं रुपैयाँको तरकारी भित्रने काभ्रेका तरकारी खेती हुने एक दर्जनभन्दा बढी गाविसको माटो रासायनिक मल र विषादीका कारण बिगि्रसकेको छ । रासायनिक मल र विषादीको बढी प्रयोगले पछिल्लो समय तरकारी तथा खाद्यान्न उत्पादन घटेपछि किसान अर्गानिक खेतीमा आकषिर्त भएका हुन् ।
जिल्ला कृषि विकास कार्यालयले अघिल्लो वर्ष अर्गानिक खेती अभियान सुरु गरेको थियो । अघिल्लो वर्ष ९ गाविसमा अर्गानिक खेती सुरु गरेको कार्यालयले यो वर्ष थप केही गाविसमा अर्गानिक खेती अभियान सुरु गर्ने लक्ष्य राखेको छ । गत वर्ष ढुंखर्क, शंखु, महेन्द्रज्योति, फूलबारी, बल्थली, रविओपी, नासिकास्थान, कुशादेवी र काभ्रे गाविसमा कार्यालयले पहिलोपटक अर्गानिक खेती अभियान सुरु गरेको हो । ती गाविसलाई 'अर्गानिक भिलेज' को रूपमा विकसित गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको कार्यालयका बागवानी विकास अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए । थापाका अनुसार यो वर्ष थप केही गाविसमा कार्यक्रम सुरु गर्ने योजना कार्यालयको छ ।
९ गाविसका २ सय हेक्टर जमिनमा गत वर्ष अर्गानिक खेती सुरु गरिएको थापाले बताए । अर्गानिक खेतीका लागि कार्यालयले सिमी, कुरिलो, मुला, धनियाँलगायतका तरकारी बिउ निःशुल्क वितरण गरेको थियो । कार्यालयले कुरिलोको मात्रै १८ हजार बिरुवा वितरण गरेको थापाले जानकारी दिए । जिल्ला विकास समितिको ४ लाख रुपैयाँ र बाँकी कार्यालयको बजेटबाट सुरु गरिएको अभियान सफल हुँदै गएपछि थप गाविसमा अर्गानिक खेती सुरु गर्ने योजना कार्यालयको छ ।
रासायनिक मल र विषादी प्रयोग नगरी कम्पोस्ट मल, जैविक मल तथा जैविक विषादी प्रयोग गरेर खेती गर्दा माटोको अम्लीयपन घट्दै जाने थापा बताउँछन् । 'अम्लीयपन बढ्दै गएर उब्जनी हुन छाडेपछि किसान अर्गानिक खेतीमा लाग्न थालेका छन्,' थापाले भने, 'अर्गानिक खेती गर्दा माटोका साथै वातावरणमा समेत सकारात्मक प्रभाव पार्छ ।'
कार्यालयको सहयोगका अलावा जिल्लाका दर्जनौं किसानले व्यक्तिगत रूपमा अर्गानिक खेती गरिरहेका छन् । काभ्रेको कोटतिमाल, नासिकास्थान, फूलबारीलगायतका केही स्थानमा अर्गानिक फार्मसमेत स्थापना भएका छन् ।
काभ्रेमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै गइरहेको समयमा १७ वर्षअघि फूलबारीमा जर्मन नागरिक हायाम्स होफरले अर्गानिक खेती सुरु गरेका थिए । हाल सो क्षेत्रको १ सय १५ रोपनी जमिनमा अर्गानिक खेती भइरहेको छ । यो फार्ममा तरकारीका साथै फलफूल पनि खेती गरिएको छ ।
जिल्लाकै महेन्द्रज्योति गाविसका सबैजसो जमिनमा अर्गानिक खेती गरिएको छ । केही समयअघि उक्त क्षेत्रका ९० प्रतिशत किसान अर्गानिक खेतीमा लागेपछि सो गाविसलाई 'अर्गानिक भिलेज'का रूपमा घोषणा गरिएको थियो । जिल्लाका डाँडापारि र कोसीपारि क्षेत्रका सयौं किसानले जैविक मल तथा विषादी प्रयोग गरेरै अर्गानिक कफी उत्पादन गरिरहेका छन् ।
रासायनिक मल तथा विषादी प्रयोग नगरी उत्पादित अर्गानिक तरकारीको मुख्य बजार काठमाडौंका ठूला होटल हुन् । विदेशी पर्यटकले अर्गानिक तरकारी खोज्न थालेपछि होटलले गाउँमै आएर अर्गानिक तरकारी खरिद गर्न थालेका छन् । 'पहिला रासायनिक मल र विषादी हालेको तरकारी बेच्नै गाह्रो हुन्थ्यो,' महेन्द्रज्योतिका किसान रमेश तामाङ भन्छन्, 'अहिले टिप्नासाथ बिक्री हुन्छ ।' बजारमा रासायनिक मल तथा विषादी हालेको तरकारीभन्दा अर्गानिक तरकारी मूल्य बढी रहेको छ भने बिक्रीका लागि समस्या नभएकाले किसान आकषिर्त भएको कृषि विकास कार्यालयका थापाको भनाइ छ । उनले भने, 'अर्गानिक तरकारी पूर्णरूपमा स्वस्थ हुने भएकाले बजार-समस्या छैन ।' रासायनिक मल तथा विषादी प्रयोग गरिएको तरकारीको स्वाद पनि फरक हुन्छ भने यसको बजार पनि घट्दै गएको छ ।
जिल्लाका केही अर्गानिक फार्मबाट उत्पादित तरकारी भने विदेशसमेत पुग्ने गरेको छ । फूलबारीको हिमालयन अर्गानिक फार्ममा उत्पादित तरकारी सिंगापुर निर्यात हुने गरेको छ भने महेन्द्रज्योति, नासिकास्थान आदि गाविसमा उत्पादित तरकारी काठमाडौंलगायत मुलुकका प्रमुख सहर पुग्ने गरेको छ ।
अर्गानिक खेती गर्दा किसानले पूर्णतः रासायनिक मल र विषादी हटाई त्यसको सट्टामा गाउँमै निर्मित कम्पोस्ट गोबरमल जैविक मल, तितेपाती, बकाइनो आदिबाट बनाइएको जैविक विषादी तथा गाईको गहुँतलाई विषादीका रूपमा प्रयोग गर्ने गरेका छन् । अर्गानिक खेतीप्रति किसान आकर्षण बढेपछि जैविक विषादी उत्पादन बढेको छ । पछिल्लो समय बजारका विषादी पसलमा समेत जैविक विषादी बेच्न सुरु भइसकेको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार पछिल्लो समय जमिनमा उत्पादन कम भयो भन्दै गुनासो गर्न आउने किसानको समस्या बढ्दै गएको छ । 'माटोमा अम्लीयपन बढेर उत्पादन कम भएको हो,' थापा भन्छन्, 'हामीले उनीहरूलाई अर्गानिक खेती गर्न प्रोत्साहन गर्ने गरेका छौँ ।' अम्लीयपन कम गर्नका लागि यहाँका किसानले कृषि चुन प्रयोग गर्ने गरे पनि अहिले बजारमा कृषि चुन अभाव भएको थापा बताउँछन् । गोदावरी मार्बल उद्योगबाट कृषि चुन उत्पादन हुँदा बजारमा अभाव नदेखिए पनि उत्पादन बन्द हुँदा बजारमा कृषि चुन अभाव भएपछि किसान समस्यामा परेका छन् । केही समयदेखि सो उद्योगबाट कृषि चुन उत्पादन भएको छैन । अहिले भारतीय कृषि चुन बजारमा पाइए पनि महँगो भएकाले किसानलाई खरिद गर्न समस्या परेको थापाको भनाइ छ ।
No comments:
Post a Comment