ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 16, 2009

करिमालाई कारबाही नगर्न निर्देशन

केदार ओझा/काठमाडौ (कांतिपुर)-
भनेजस्तो गाडी उपलब्ध नगराएको भन्दै पर्साका सीडीओलाई कुटपिट गर्ने कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगममाथि कारबाही गर्न सर्वत्र माग भइरहेका बेला प्रधानमन्त्री माधवकुमार नेपालले भने 'तत्काल कुनै कारबाही अघि नबढाउन' गृहमन्त्री भीम रावललाई निर्देशन दिएका छन् । स्रोतका अनुसार कारबाही अघि बढाउँदा सत्तारूढ पार्टीबीचको अन्तरसम्बन्ध र सरकारमा असर पर्ने भएकाले तत्काल केही नगर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । बेगमलाई कारबाही गर्न एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए भने फोरमका केही सदस्यले पनि नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।कारबाहीका लागि मन्त्रालयभित्रैबाट र अन्य निजामती संघ/संगठनबाट दबाब बढ्दै गएपछि गृहमन्त्री रावलले परामर्श गर्दा प्रधानमन्त्रीबाट त्यस्तो आदेश पाएको स्रोतले बतायो । राज्यमन्त्रीलाई कारबाही गर्नुको सट्टा सरकारले उल्टै पर्साका सीडीओ दुर्गा भण्डारीलाई काठमाडौं झिकाएको छ । भण्डारी पर्सामै रहँदा बेगममाथि कारबाहीको दबाब बढ्दै जाने देखेपछि उनलाई झिकाइएको स्रोतले बतायो । मौखिक आदेशमा शनिबार काठमाडांै बोलाइएका भण्डारीले आइतबारै मन्त्रालयमा हाजिर भएर सात दिनको बिदा लिएका छन् । 

पर्सा प्रहरीबाट पक्राउ पुर्जी जारी भइसकेकी राज्यमन्त्री बेगमबारे प्रहरी प्रधान कार्यालय र काठमाडौं प्रहरीले गोलमटोल जवाफ दिन थालेका छन् । सार्वजनिक मुद्दाका आरोपी बेगमलाई पक्राउ गर्न मातहतका सबै निकायलाई कडा निर्देशन दिएको बताउँदै आएको प्रधान कार्यालयले 'यो मुद्दा मातहतको जिम्मेवारी हो' भन्न थालेको छ भने काठमाडौं प्रहरीले 'पत्र नै नआएको' बताउन थालेको छ ।

बेगमलाई कारबाहीे माग गर्दै पहिलो दिन दुई घन्टा र दोस्रो दिन तीन घन्टा कर्मचारीले देशभर कलम बन्द गरेका थिए । सिंहदरबारभित्रै कोणसभा र जुलुससमेत प्रदर्शन भएका थिए । 

पाँच दिनदेखि पर्सा र बाराका सबै सरकारी कार्यालय बन्द थिए । वीरगन्जमा नागरिक समाजले कर्मचारी सम्बद्ध आठ संघ/संगठनसँग छलफल गरेपछि आगामी पाँच दिनभित्र राज्यमन्त्रीलाई कारबाही नगरे पुनः कार्यालय बन्द गर्ने अल्टिमेटम जारी गर्दै आइतबारदेखि सबै कार्यालय खुलेका छन् । 

पाँच दिनदेखि वीरगन्ज भन्सार लगायतका सबै सरकारी कार्यालय बन्द हुँदा सेवाग्राहीले दुःख पाएका थिए । तर सरकारले कर्मचारीलाई काममा ल्याउने सम्बन्धमा कुनै प्रयास भने गरेको थिएन । पाँच दिनभित्र राज्यमन्त्रीलाई कारबाही नभए पर्सा र बारासहित देशभरका सबै कर्मचारी पुनः आन्दोलनमा उत्रने उनीहरूले बताएका छन् । 

मन्त्रीका भनाइ प्रायोजित ः भण्डारी 

काठमाडौं- पर्साका तत्कालीन सीडीओ तथा सहसचिव दुर्गा भण्डारीले राज्यमन्त्री करिमा बेगमले एकपछि अर्को गर्दै बोली फेरिरहनु 'प्रायोजित' भएको बताएका छन् । 'पछिल्लो समयमा आएका सबै भनाइहरू प्रायोजित हुन्,' गृह मन्त्रालयमा हाजिर भएपछि आइतबार उनले भने, 'अभियोगबाट उन्मुक्ति पाउन हात समातेको, शान्ति सुरक्षा कायम नराखेकाजस्ता काल्पनिक आरोपहरू लगाउँदै आउनुभएको छ, ती सबै कसैको निर्देशनमा भनिएका निराधार र बनावटी हुन् ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by