ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 16, 2009

सीडीओले कुटाइ खाएपछि उपत्यकामा तेल अभाव

विज्ञान अधिकारी, काठमाडौं- 
वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आउन नसक्दा उपत्यकामा तेल अभाव भएको छ। कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले प्रमुख जिल्ला अधिकालाई कुटपिट गरेको विरोधमा कर्मचारीले चार दिनदेखि भन्सार ठप्प पारेपछि उपत्यकामा तेल अभाव भएको हो। उपत्यकामा आइतबार अधिकांश निजी पेट्रोल पम्प बन्द भएका थिए। 'नेपाल आयल निगमले तेल दिन नसकेपछि उपत्यकाका सबै पेट्रोल पम्प बन्द भएका छन्,' नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष सरोज पाण्डेले नागरिकसँग भने, 'उपत्यकाका सबै पेट्रोल पम्प सुख्खा छन्।' उनका अनुसार सबै निजी पम्पमा पेट्रोल छैन। तेल अभाव भएपछि सेना, प्रहरी र साझाको पम्पमा उपभोक्ताको लामो लाइन लागेको थियो। निगमले आइतबार निजी पम्पलाई पेट्रोल दिएन। निगमको थानकोट डिपोले आइतबार ६० हजार लिटर पेट्रोल सरकारी पम्पलाई मात्र वितरण गरेको छ। 'निगमले निजी क्षेत्रलाई अलग्याएर तेल बितरण गरेको छ,' उनले भने, 'सोमबार तेल संकट अझ गहिरिनेछ।' उपत्यकामा दैनिक दुई लाख ७५ हजार लिटर पेट्रोल माग छ। 
निगम थानकोट डिपोका प्रमुख भुवनेश्वर राजभण्डारीले पेट्रोलको स्टक कम भएकोले सरकारी पम्पलाई मात्र पेट्रोल दिइएको जानकारी दिए। 'हामीसँग पेट्रोलको स्टक ज्यादै न्यून रहेको छ,' उनले भने, 'त्यसैले हामीले सरकारी पम्पलाई मात्र पेट्रोल दिन बाध्य भएका हौ।' पूर्वाधारको अभावले निगमको थानकोट डिपोमा पेट्रोलको भन्डारण क्षमता पाँच दिनलाई पुग्ने मात्र रहेको छ। थानकोट डिपोले आइतबार ३ लाख २६ हजार लिटर डिजेल वितरण गरेको छ। उपत्यकामा डिजेलको माग साढे तीन लाख लिटर रहेको छ। उनका अनुसार पेट्रोल अभाव हट्न केही दिन लाग्नेछ।

भारतीय आयल कर्पोरेशनको जयपुर डिपोमा आगलागी भएपछि आयात कम भएपछि पेट्रोलको अभाव हुन थालेको थियो। तिहारपछि तेल आयात कम भएको थियो। रक्सौल डिपोबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ नेपाल भित्रिने गर्छ। रक्सौलबाट ७० प्रतिशत पेट्रोलियम पदार्थ रक्सौलबाट भित्रिने गरेको निगमले जनाएको छ। निगमका कार्यका निर्देशक दिगम्बर झाले रक्सौल नाकामा भएको जाम, आइओसीले गरेको कडाइले तेलको अभाव भएको जानकारी दिए। उनले स्थानीय प्रशासनलाई ट्राफिक जाम हटाउन आग्रह गरेपनि जामको समस्या नहटेको जानकारी दिए।

'रक्सौल नाकामा भएको समस्याले पेट्रोलियम पदार्थको अभाव भएको छ,' उनले भने, 'हामीले वैकल्पिक व्यवस्थाको तया गरिरहेका छौ।'उनले बरौनी डिपोबाट तेल ल्याउन थालेको जानकारी दिए। बरौनी डिपोबाट तेल ल्याउँदा निगमलाई प्रतिलिटर प्रतिलिटर ८० पैसा घाटा हुन्छ।

'घाटा खाएर भएपनि तेलको बैकल्पिक व्यवस्था गरिरहेका छौ,' उनले भने, 'विराटनगर, जनकपुर र भैरहवाबाट तेल ल्याइरहेका छौ।' झाले बुधवारदेखि तेलको अभाव कम हुने दावी गरे। निगमका अनुसार सोमबार १ लाख ७० हजार लिटर पेट्रोल काठमाडौं आउनेछ। 'अमलेखञ्जबाट १ लाख ७० हजार लिटर पेट्रोल निजी क्षेत्रलाई दिइएको छ,' उनले भने, 'त्यो काठमाडौं आएपछि अभाव केही कम हुनेछ।'कर्पोरेशनको जयपुरको सीतापुर औद्योगिक क्षेत्रमा रहेको डिपोमा आगलागी भएको थियो। 'कर्पोरेशनको डिपोमा आगो लागेपछि कम पेट्रोलियम पदार्थ आयात भइरहेको छ। पछिल्लो समयमा एक हजार किलोलिटर मात्र तेल नेपाल आएको छ। सामान्य समयमा दुई हजार भन्दा बढी किलोलिटर तेल नेपाल आउने गरेको थियो।पहिला पहिला धेरै टंयाकरलाई कर्पोरेशन भित्र पार्किङ गर्न दिन्थ्यो। तर अहिले एक पटकमा आठ वटा ट्याकर जान दिएको छ। 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by