ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 20, 2009

तिलगंगादेखि सिनामंगलसम्म साइकलमार्ग


शिला पाण्डे/काठमाडौ(कान्तिपुर)- 

साइकल यात्रीले आगामी माघदेखि सिनामंगलदेखि तीलगंगासम्म छुट्टै साइकल मार्ग प्रयोग गर्न पाउने भएका छन् । छोटो दूरी भए पनि सर्वसाधारणले साइक्लिङको मज्जा लिन पाउने पर्यटन पूर्वाधार विकास आयोजनाका प्रमुख रवि शाहले बताए । बन्दै गरेको साइकिलिङ लेनको दूरी १ हजार ८ सय मिटर छ ।  'नेपाल आउने पर्यटकलाई आकषिर्त गर्न निर्माणको काम थालिएको हो,' शाहले भने, 'यसको काम करिब ६० प्रतिशत पूरा भइसकेको छ ।' राजधानीको सौन्र्दय बढाउनका लागि पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गत साइकल लेन निर्माणको काम गत माघदेखि सुरु भएको हो । सरकारले यसका लागि ८० लाख रुपैयाँ बजेट छुट्याएको छ । साइकल चढ्ने र पैदल यात्रु दुवैलाई सजिलो बनाउन ६ मिटर चौडा बाटोलाई दुई भागमा विभाजित गरिनेछ । 'साढे दुई मिटरको भाग साइकल लेनका लागि प्रयोग गरिनेछ,' शाहले भने, 'बाँकी पैदल यात्रुका लागि हुनेछ । यी दुई भागलाई छुट्टयाउन बीचमा फूलबारी निर्माण गर्छौं ।' सडक छेउमा पर्खाल लगाउने र सोलिङ गर्ने काम पूरा भइसकेको छ । 'अब टायल र ढुंगा छाप्ने काम मात्र बाँकी हो,' उनले भने । साइकल ट्रयाकका लागि इन्टरलकिङ ढुंगा ओछ्याइनेछ भने फुटपाथमा साधारणखाले ढुंगा छापिनेछ । 

सौन्दर्य बढाउनका लागि साइकिलिङ रोडको निर्माण गर्ने पहिलो सम्झौताअन्तर्गत सिनामगंलचोकसम्म तोकिए पनि यसलाई बढाएर माइतीघरसम्म पुर्‍याउन अध्ययन भएको छ । 'माइतीघरसम्म यो लेन बनाउन सकिन्छ । हामीले अध्ययन गरिसकेका छौं,' शाहले भने, 'यसको निर्माण कार्यको जिम्मा सडक डिभिजन, सहरी विकास वा महानगरपालिकाले लेओस् भन्ने हाम्रो चाहना हो ।' 

यसबारे पर्यटन पूर्वाधार आयोजनाले सडक विभाग र भौतिक योजना मन्त्रालयलाई आग्रह गरिसकेको उनले बताए । 'हामीले यो काम नमुनाका रूपमा गरेका हौं,' उनले भने, 'सरकारले हामीलाई नै गर भन्यो भने हामी तयार छौं ।' 

कीर्तिपुर, चोभारको मञ्जुश्री पार्क, टौदहमा पैदलमार्ग, म्हेपीमा ढुंगाको पर्खाल बनाई फूलबारी निर्माणको काम, बालकुमारी पुलछेउ पार्क निर्माण र सोलार स्टि्रट लाइट निर्माणको काम पनि पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गत पर्छन् । यीलगायत सौन्दर्य बढाउने ९ आयोजना सञ्चालित रहेको शाहले जानकारी दिए । सरकारले उपत्यकाभित्र पर्यटन पूर्वाधार विकास आयोजनाका लागि ३ करोड ४ लाख रुपैयाँ छुट्टयाएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by