ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 21, 2009

'एक हप्तामै निको हुन्छ स्वाइनफ्लु’

काठमाडौं(नयापत्रिका)

स्वाइनफ्लु परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दैनिक ४० जनाभन्दा बढी बिरामी आउने गरेका छन् । तर, सामान्यतया रोग पहिचान हुनुअघि नै निको हुने गरेको चिकित्सक बताउँछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार स्वाइनफ्लु परीक्षणको रिपोर्ट आउन एक हप्ता लाग्छ । एक हप्तासम्ममा बिरामी निको भइसक्ने प्रयोगशालाकी निमित्त निर्देशक डा.गीता शाक्यले नयाँ पत्रिकालाई बताइन् । 'प्रारम्भिक रिपोर्ट आउन कम्तीमा पनि तीन/चार दिन लाग्छ,' शाक्यले भनिन्, 'दोस्रोपटक कन्र्फम गर्दा एक हप्ता पुग्छ ।' स्वाइनफ्लुको शंका लागेका बिरामीलाई चिकित्सकले पहिले नै ट्यामीफ्लु चलाउने हुँदा एक हप्तासम्म बिरामी निको भइसक्ने गरेको उनको भनाइ छ ।
मौसम परिवर्तनको समय हुँदा धेरै मान्छे रुघाखोकीबाट प्रभावित रहेको र स्वाइनफ्लुको शंकामा परीक्षण गराउन आउनेको संख्या बढेको शाक्यले बताइन् ।

'बुधबार रातिमात्र परीक्षण गर्न सयजना आएका थिए,' शाक्यले भनिन्, 'सबैलाई परीक्षण गर्न सम्भव पनि छैन र परीक्षण गर्नु पनि पर्दैन ।'

बुधबार राति स्वाइनफ्लु परीक्षण गराउन आएकामध्ये १० जनाको मात्र नमुना संकलन गरिएको र तीमध्ये एकजनामा इन्फ्लुएन्जा 'ए' भाइरस पाइएको प्रयोगशालाले जनाएको छ । सो भाइरस स्वाइनफ्लु भाइरस भए/नभएको यकिन गर्न बाँकी नै रहेको निमित्त निर्देशक शाक्यले बताइन् ।

स्वाइनफ्लु परीक्षण गर्न आउने सबैको नमुना प्रयोगशालाले संकलन गर्दैन । शंकास्पद लागेका र नयाँ समुदायका भएमात्र नमुना लिने गरेको प्रयोगशालाले जनाएको छ । समुदायमा स्वाइनफ्लु फैलिएको समाचारसँगै सामान्य रुघाखोकीका बिरामी पनि आत्तिएर परीक्षणका लागि आउने गरेका छन् ।

'यो मौसम परिवर्तनको समय हो, रुघाखोकी आफैँ निको हुन्छ,' शाक्यले भनिन्, 'अलि बढी नै भए डाक्टरलाई देखाएर औषधि खाँदा निको हुन्छ ।' तर, बूढाबूढी, बालबालिका र एचआइभी, मधुमेह र क्यान्सरका बिरामीले भने स्वाइन रोगको लक्षण देखिए परीक्षण गराउनुपर्ने चिकित्सकहरू बताउँछन् । उच्च ज्वरो, खोकी र दम बढेको खण्डमा चिकित्सकको सल्लाहमा औषधि खाएर सकेसम्म अरूको संसर्गबाट टाढै बस्नु उनीहरूको सल्लाह छ ।

नेपालमा देखिएको स्वाइनफ्लु भाइरस खतरानाक नभएको र अहिलेसम्म कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



४४ हजार कन्डम वितरण

गुल्मी/ एचआइभी संक्रमण रोक्न जिल्लामा करिब ४४ हजार कन्डम वितरण गरिएको छ । गाउँमा एचआइभी सचेतना अभियानका क्रममा निःशुल्क कन्डम वितरण गरिएको हो ।

जिल्लामा एचभाइभीसम्बन्धी काम गर्दै आएको प्रेरणा संस्था र सक्रिय सेवा समाजले १० महिनामा गाउँगाउँमा पुगेर चेतनामूलक कार्यक्रम गर्दै कन्डम वितरण गरेका हुन् । प्रेरणाले जिल्लाका २० गाविस र सक्रियले २२ गाविसमा एचआइभीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

प्रेरणाले १० महिनामा २४ हजार नौ सय चार कन्डम वितरण गरेको जनाएको छ । बल्कोट, अर्घातोस र पोखराथोक गाविसमा १२ सय ९६ जनाको रगत परीक्षण गरेकोमा ११ जना थप एचआइभी संक्रमित फेला परेको परियोजना संयोजक धर्मराज उप्रेतीले बताए । सक्रियसेवा समाजले २२ गाविसमा १९ हजार १० कन्डम वितरण र पाँच सयभन्दा बढीको रक्तपरीक्षण गरेको जनाएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by