ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 2, 2009

पहिरोमा हराए १३ जना











उमेत राई/नयाँ पत्रिका

खोटाङ, १६ भदौ

सोमबार राति पहिरोमा परी बेपत्ता भएका जलेश्वरी- २ खोटाङका १३ जनाको अवस्था अझै अज्ञात छ । उद्धारकर्ताले मंगलबार दिनभर खोजी गर्दा पनि उनीहरूलाई फेलापार्न सकेनन् । खोजी गर्दा एउटा रेको गाई र एउटा गुन्द्री मात्र फेलापरेको छ ।



सोमबार राति १२ बजे घरमाथिबाट झरेको पहिरोमा परी स्थानीय दुई घरका १३ जना बेपत्ता भएका थिए । घटनास्थल सदरमुकाम दिक्तेलदेखि करिब १६ कोस टाढा पर्छ । पहिरोमा पुरिएर रणध्वज कार्की र पूर्णबहादुर कार्कीका सम्पूर्ण परिवार र एक पाहुनासहित १३ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ६६ वर्षीय रणध्वज, उनकी श्रीमती ५८ वर्षीया मिठुमाया कार्की, उनका २८ वर्षीय छोरा अमरबहादुर कार्की, १४ वर्षीय रमेश कार्की, १६ वर्षीया छोरी तीर्थमाया कार्की, ४० वर्षीया छोरी राममाया कार्की (घिमिरे), राममायाकी डेढ वर्षीया छोरी कुमारी घिमिरे र नाम खुल्न नसकेका एकजना पाहुना रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै अर्का घरका ३४ वर्षीय पूर्णबहादुर, उनकी २६ वर्षीया गर्भवती श्रीमती शोभा कार्की र उनका छोराहरू नौ वर्षीय रुद्रबहादुर, ६ वर्षीय लालबहादुर र तीन वर्षीय हरिबहादुर छन् ।



झन्डै एक हजार मिटरमाथिबाट झरेको पहिरोले स्थानीय लवबहादुर राईको घर पनि बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राईका घरमा कोही नभएकाले मानवीय क्षति भने नभएको प्रशासनले जनाएको छ । यस्तै, घटनास्थलनजिकै रहेका अन्य पाँच घरका परिवारलाई सुरक्षित स्थानमा लगिएको छ । स्थानीय ललित राउत, फडिन्द्र राउत, टंक राउत, मानबहादुर राउत र कृष्णप्रसाद घिमिरेको परिवारलाई गाविस र नजिकैको विद्यालयमा राखिएको छ । पहिरोका कारण ४२ जना विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट ११ जना, इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कबाट १५ जना, इन्द्रध्वज गणको सुरक्षा बेसक्याम्प ऐँसेलुखर्कबाट ३१ जना तथा सोलुखुम्बुको नेचास्थित इलाका प्रहरी कार्यालयबाट १५ जना गरी ७१ जना उद्धारकर्ताद्वारा उद्धार गरिए पनि बेपत्ताहरू नभेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरीक्षक भोजराज रखालले बताए ।

उद्धारकार्यमा स्थानीयवासी पनि खटिएका थिए । दिनभरि पानी परिरहेको र पहिरो र्झन नरोकिएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । 'पानीका कारण पटक-पटक उद्धार कार्य रोकियो,' इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कका प्रहरी नायव निरीक्षक चन्द्रभुषण खातीले भने, 'दिनभरि खोजी गरियो, गाई र गुन्द्रीबाहेक केही भेटिएन ।'

यसैबीच दैविक प्रकोप उद्धार समिति खोटाङको मंगलबार बसेको आकस्मिक बैठकले उद्धारकार्यमा खटिएकाका लागि आवश्यक सामग्री उपलब्ध गराउने निर्णय गरेको नेपाल रेडक्रस सोसाइटी खोटाङ शाखाका अध्यक्ष कुमारसिंह बस्नेतले बताए । रेडक्रस सोसाइटी खोटाङ शाखाले उद्धारमा खटिएका उद्धारकर्ताका लागि १०/१० थान पाल र कम्बल उपलब्ध गराउने भएको छ । यस्तै, जिल्ला विकास समिति खोटाङले लालटिन, टर्च र डोरी, एँसेलुखर्क खाद्यन्न डिपोले दुई क्विन्टल चामल पनि उद्धारकर्तालाई उपलब्ध गराउने भएको छ ।

1 comment:

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by