ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 5, 2009

पुजारी सुरक्षामा भारतको चासो, भारतीय राजदूत पशुपतिमा


भारतीय राजदूत राकेश सुद पशुपतिनाथको मन्दिर पुगेका छन्। सरकारले पशुपतिनाथको पुजारीमा नियुक्त गरेका भारतीय नागरिक गिरिश भट्ट र राघवेन्द्र भट्टलाई माओवादी कार्यकर्ताले आक्रमण गरेपछि उनीहरुको सुरक्षाप्रति भारतले चासो देखाएको हो।
भारतीय राजदूत सुद मन्दिरमा पुग्दा संस्कृतिमन्त्री मिनेन्द्र रिजाल पनि त्यहीँ थिए। राजदूत सुदले सो विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कुरा गरेको टाइम्सअफइन्डियाडटकमले जनाएको छ।

बिबिसी हिन्दी सेवाले भारतीय पुजारीमाथि हातपात भएकोमा भारतले नेपाल सरकारसँग वार्ता गरेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता विष्णु प्रकाशका अनुसार नेपाल सरकारले दुबै पुजारीको सुरक्षा दिने विश्वास दिलाएको छ।

कडा सुरक्षाबीच भारतीय भट्टहरुले शनिबारदेखि काम पनि सुरु गरिसकेका छन्।

भारतीय राजदूत सुद र मन्त्री रिजाल पशुपति मन्दिर परिसर पुग्दा त्यहाँ भेला भएका प्रदर्शनकारीले राष्ट्रियता सम्बन्धी नारा लगाएका थिए। भारतीय पुजारीलाई शुक्रबार प्रदर्शनकारीले कुटपिट गरेपछि पशुपति वरपरको क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ।

मन्त्री रिजालले त्यहाँ संवाददाताहरुसँग कुरा गर्दै पशुपतिमा परम्परमा अनुसार नै भारतीय पुजारी नियुक्त गरिएको भन्दै त्यसलाई अनावश्यक राजनीतिक विषयमा नपार्न अनुरोध गरेका थिए।

रिजालले पुजारीहरुलाई भेटी शुक्रबार भएको घटनाप्रति दुःख व्यक्त गरेका थिए। उनले सुरक्षाको व्यवस्थामा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै मन्दिरमा बिना अवरोध पाठ पूजा गर्न अनुरोध गरेका थिए।

भारतीय दूत सुदले पनि भारतीय पुजारीहरुसँग भेटी उनीहरुको स्थितिका विषयमा जानकारी लिएका थिए। नेपाल सरकारले पुजारीहरुको सुरक्षाका लागि प्रतिवद्धता व्यक्त गरेको भन्दै सञ्चारकर्मीमाझ उनले सरकारलाई धन्यवाद समेत दिए। सुदले भारतको बद्री केदारमा सदियौं देखि नेपाली पुजारीहरु रहेको उदाहरण दिदैं पुजारी नियुक्तमा विरोध हुन नपर्नेमा जोड दिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by