ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 3, 2009

भ्रमण छोट्याएर कोइराला अचानक राजधानीमा

मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्ट
अजित तिवारी, विराटनगर भदौ १८- नेपाली कङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले मन्त्रिपरिषद्को पछिल्लो विस्तारप्रति आपत्ति जनाएका छन् । सल्लाह नै नगरी प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार साँझ विस्तार गरेको मन्त्रिपरिषद्ले कोइरालालाई आक्रोसित बनाएको स्रोतले बताएका छन् ।
आराम गर्न बुधबार साँझ गृहनगर विराटनगर आइपुगेका कङ्ग्रेस सभापति कोइराला निर्धारित समयभन्दा एक दिनअघि नै बिहीबार काठमाडौं हिँडेका छन् । मोरङ कङ्ग्रेस श्रोतका अनुसार पछिल्लो पटक विस्तारित मन्त्रिपरिषद् र सरकारले हालै नियुक्ति गर्न सिफारिस गरेका चार राजदूतको नामप्रति कोइरालाको गम्भीर आपत्ति छ । 'प्रधानमन्त्री नेपालले पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार गरेर सहमति, सहकार्य र एकता तोडेको भन्दै उहाँ (कोइराला) रिसाउँदै हुनुहुन्थ्यो'- कोइराला परिवारका एक सदस्यले नागरिकसित भने । बुधबार मात्रै कोइरालाले विराटनगरका सञ्चारकर्मीलाई सहमति, सहकार्य र एकताले मात्र मुलुकको सबै समस्या समाधान हुने बताएका थिए । पछिल्लोपटक भएको मन्त्रिपरिषद् विस्तारको शपथ ग्रहण समारोहमा कङ्ग्रेसका मन्त्री अनुपस्थित थिए । 'सरसल्लाह र एक शब्द पनि नसोधेकोमा कोइराला निकै आक्रोशित भएका र तनावमा देखिएका थिए'- कोइराला निवासमा बिहीबार बिहान भेट्न गएका कङ्ग्रेसका एक पुराना नेताले भने । बिहीबार बिहान पार्टीका नेता/कार्यकर्ता, उद्योगी, व्यापारी, सुरक्षा अधिकारी र सर्वसाधारणसित भेट्ने र शुक्रबार बिहान राजधानी फर्किने बेलामा पत्रकारसित कुराकानी गर्ने कार्यक्रम निर्धारण गरिए पनि सभापति कोइराला बिहीबार साढे १ बजे अचानक काठमाडौं हिँडेपछि यसलाई अर्थपूर्ण हेरिएको छ । कोइराला यसरी विराटनगर बसाई छोट्याएर हिँडेको यो पहिलो पटक हो । 'गिरिजाबाबुको शुक्रबार बिहान काठमाडौं जाने कार्यक्रम थियो तर उहाँ अचानक हिँड्नु भो'- कङ्ग्रेसका मोरङ सभापति अमृत अर्यालले भने । अर्यालले भने- 'अरु समयभन्दा उहाँ अली बढी गम्भीर र आक्रोशित देखिनुहुन्थ्यो ।' कोइराला विराटनगर आएदेखि नै तनाव र आक्रोशमा देखिएका थिए । 'छिनछिनमा रिसाउने र कुरा आलटाल गर्ने उहाँको बानी पहिलो पटक हेरे'- कोइराला निवास पुगेका एक उद्योगपतिले नागरिकसित भने । कङ्ग्रेस सभापति कोइरालालाई भेट्न बिहान कोइराला निवासमा पार्टीका नेता, कार्यकर्ता, सर्वसाधारण र सञ्चारकर्मीको भीड लागे पनि उनी कोठाबाट बाहिर निस्केनन् । कोइरालाई भेट्न आएका सयौं कार्यकर्ताले निवासमा घण्टौं कुरेका थिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by