ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 5, 2009

सेनामा राजनीति रोक्न कटवालको प्रधानसेनापति गुरुङलाई सुझाव


दीपक भट्टराई, काठमाडौं भदौ १९-

प्रधानसेनापति रुक्माङ्द कटवालले आफ्नो कार्यकलभर नेपाली सेनालाई राजनीतिबाट अछुतो राख्न सफल भएको भन्दै त्यसलाई सदाकालका राजनीतिक विचारबाट चोखो राख्न सफल हुन कायममुकायम प्रधानसेनापति छत्रमानसिह गुरुङलाई सुझाव दिएका छन्।
सेना समावेशीकरण, सेना समायोजन, सेनाको लोकतान्त्रिकरण र सैनिक सख्षा घटाउने बहानामा नेपाली सेनाभित्र राजनीति गर्न लागिएकोमा प्रधानसेनापति कटवाटलले कडा प्रतिवाद गरे। आफ्नो बिदाईमा सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा तीन वर्ष सेनाको उच्च नेतृत्व सम्हालेका कटवालले आफ्नो एक घन्टा लामो भाषणमा माओवादीको नाम त लिएनन् तर पुरै अवधिभर माओवादीले सेनामा गर्न खोजेको राजनीति रोक्न आफूले प्रयास गरेको र त्यसलाई आगामी दिनमा पनि जारी राख्नुपर्ने बताए। सेना समायोजनका नाममा हतियारधारी जत्थालाई सेनामा घुसाउन खोजिएको भन्दै कटवालले भने, "एक सय ९ वटा हतियारधारी समूह रहेको सरकारले नै स्वीकार गरेको छ। कस कसलाई मात्र सेनामा समायोजन गर्दै जाने ?" उनले थपे, "राष्ट्रिय सेनालाई अस्थायी हतियारधारी लडाकुहरुसँग दाज्न मिल्दैन।"

माओवादी लडाकुलाई सेनामा समायोजन गर्ने भन्ने शान्ति सम्झौतामा कतै उल्लेख नभएको तर्फ इंगित गर्दै कटवालले भने, "हरेक नेपालीलाई सेनामा आउने छुट छ। तर निश्चत मापदण्ड पुरा गर्नुपर्छ भन्ने सम्झौतामा नै उल्लेख भएकाले त्यसमा कुनै विबाद नै छैन।"
उनले पटक पटक राजनीतिक विचारबाट र कुनै 'बाद'बाट अभिप्रेरितलाई आफूले सेनामा प्रवेशमा रोक लगाएको र त्यसलाई अब पनि रोक्नुपर्ने दोहोर्याइरहे।

माओवादीप्रति लक्षित गर्दै सेनाप्रमुख कटवालले भने, "सर्वसत्ताबाद नेपाली सेनालाई स्वीकार्य हुन सक्दैन। विगतमा पनि सर्वसत्तावादविरुद्ध नेपाली सेनाले लडेको हो र यसलाई जारी राख्नुपर्छ।"

नेपाली सेनालाई माओवादीसहितका दलले सामन्तवादीको आरोप लगाएको तर्फ पनि कटवाल चुप रहन सकेनन्। "के लुट्ने, काट्ने, मार्ने, अपहरण गर्ने र आफ्नो विचारसँग समहत हुन नसक्ने जति सबैलाई प्रतिगमनकारी भन्नु नै सामन्तवाद विरोधी हो ?" नेपाली सेनाका सबै उच्च पदस्थ अधिकारी र केही आमन्तित्र अतिथिमाझ कटवालले प्रश्न गरे।

"नागरिक सर्वोच्चताका नाममा सेनामा राजनीति घुसाउने प्रयास भइरहेको छ," कटवालले थपे, " नागरिक सर्वोच्चताका नाममा सेनालाई कुनै एक पार्टीका क्याडर बनाउन नखोजियोस्।"

गत वर्ष खुलामञ्च आफ्ना कार्यकर्तामाझ माओवादी अध्यक्ष पुष्पकमल दाहालले "को हो कटवाल ?" भन्ने शैलीमा प्रश्न सोध्दै प्रधानसेनापति कटवालले भने, के हो सेनामा समायोजन भनेको, के हो सेनामा समावेशीकरण भनेको र के हो सेनामा लोकतान्त्रिककरण भनेको र किन सैनिक संख्या घटाउन खोजेको ?"

उनले सेनामा सामुहिक प्रवेश गराउने मधेशी दलहरुसँग गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले गरेको सहमतिको पनि विरोध गरे।

"सेनामा राई, गुरुङ, मगर, मधेशी सबैका गण छन्। यसमा कसैलाई रोकिएको छैन," प्रधानसेनापति कटवालले थपे, "फलानो जातिको यति प्रतिशत, फलानो धर्मको यति प्रतिशत, फलानो क्षेत्रको यति प्रतिशत भनेर सेनाको निर्माण कहि पनि हुँदैन र त्यसरी बनाउन खोजिएमा एक दुई प्रतिशत यताउता पर्दा हुने विरोधका सामना कसले गर्न सक्छ ?"

उनले हिमालय आरोहण गर्न शेर्पा नै खोजिने तर्फ सचेत पार्दै भने, "समावेशीका नाममा सेनाको चरित्र विगार्न मिल्दैन।"
सेनामा समायोजन र समावेशीकरण पछि कटवाल नेपाली सेनाको लोकतान्त्रिकरण भन्नेहरु तर्फ खनिए। "मैले धेरै विदेशका मेरा समकक्षीहरुसँग सेनाको लोकतान्त्रिकरण विषयमा सोधें कसैले त्यस विषयमा बताउन सकेनन्" सेनापति कटवालले सोधे, "सेनाको जर्नेल, कर्नेल हुन पार्टीका नेताको घर घरमा जानुपर्ने नीति नै लोकतान्त्रिकरण हो ?"

उनले संसारमै नेपाली सेनाजस्तो लोकतान्त्रिककरण सगठन कुनै नभएको जिकिर गरे। सेनाका हरेक अधिकारी आफ्ना मातहतका सैनिकबाट सोधिने प्रश्नको जवाफ दिन सक्ने अवस्थामा हुनुपर्छ। "हाम्रा रोलक्रम र दरबार परेडमा सबै सैनिकहरुले आफ्ना सम्पूर्ण जिज्ञासा व्यक्त गर्छन र त्यसमा सन्तुष्ट हुन्छन्," प्रधानसेनापति कटवालले भने।

"सेनामा प्रजातान्त्रिककरण भनेको सेनाले हतियार बाहिर निकालेर जे मन लाग्छ गर्दै हिड्ने हो, कि सेनाले पनि टायर बाल्दै हिड्ने हो वा ट्राफिक जाम गर्दै हिड्ने कि अपहरण गर्दै हिड्ने ?" भन्दै कटवाल नेपाली सेनामा लोकतान्त्रिकरण गर्नुपर्ने तर्क गर्नेहरुविरुद्ध खनिए।
उनले सैनिक अधिकारीहरु पनि हरेक घटनाक्रमलाई नियालेर हेरिरहेको तर्फ ध्यान दिनुपर्ने बताए।
नेपाली सेनाको संख्या घटाउने भन्ने अहिले चलेको बहसतर्फ पनि सैनिक प्रमुखले कडा शव्दमा असहमति जनाए। "सेनाको संख्या कति चाहिन्छ भनेर अहिले निर्क्यौल गर्न मिल्दैन," प्रधानसेनापति कटवालले थपे, "सेना के केमा परिचालित हुन्छ भन्ने कुराको जानकारी हुनुपर्छ। संघीयतामा देश जाँदैछ। हरेक सघमा कति सैनिक चाहिन्छ भन्ने तर्फ अध्ययन छ ?"

सेनाले विदेशमा शान्ति स्थापना गर्ने, वन्यजन्तु संरक्षण गर्ने, प्राकृतिक प्रकोपमा उद्दार गर्नेदेखि विकास निर्माणका काममा खटिने सम्म गरेको कार्यको लेखाजोखा नगरी सैनिक संख्या घटाउन नहुने तर्फ कटवालले जोड दिए।

"सेना अहिले काम भएन भनेर पशुपतिमा गएर डमरु बजाएर बस्दैन, टुँडिखेलमा योगा गर्दैन" प्रधानसेनापति कटवालले थपे, "सेनाको जुन दिन काम आउँछ। त्यही दिन सेना बनाउँछु भनेर बन्दैन।"

प्रधानसेनापति कटवालले नेपाली सेनाको संख्याका विषयमा संविधानसभाले संविधान बनाएपछि निर्वाचित सरकारले मात्र टुङ्गो लगाउनुपर्नेमा जोड दिए। उनले अहिले नै सैनिक संख्या तोकिए भविष्यमा पछुताउनुपर्ने तर्फ ध्यान दिन सबैलाई आग्रह गरे।
यसअगाडि प्रधानसेनापतिलाई धन्यवाद दिंदै कायममुकायम प्रधानसेनापति गुरुङले द्वन्द्व समाप्तिपछि संक्रमणकालीन अवस्थामा नेपाली सेनालाई कुशल नेतृत्व दिएको भन्दै कटवालको प्रशंसा गरेका थिए।

"सेनाको चेन अफ कमान्डमा आएको मुश्किललाई उच्च साहसका साथ सामना गर्नुभयो," कामु गुरुङले माओवादी नेतृत्को सरकारले कटवाललाई हटाएर तत्कालीन वलाध्यक्ष रथी कुलबहादुर खड्कालाई नेतृत्वमा ल्याएको घटनालाई सम्झिए। चार दिनपछि प्रधानसेनापति हुने गुरुङले भने,"गणतन्त्र कार्यान्यवन गर्न र शान्ति प्रकियालाई निश्कर्षमा पुर्याउन प्रधानसेनापतिका रुपमा कटवालले खेलेको भुमिका अवस्मरणीय छ।"

सैनिक जनरल अवकाश हुँदैन
प्रधानसेनापति कटवालले देशको सेवामा आफू कुनै न कुनै रुपमा सक्रिय भइरहने जानकारी बिदाई समारोहमा दिए। "सैनिक रथीहरु कहिल्यै सेवा निवृत हुँदैनन्," कटवालले थपे, चार दशक सेवा गरेपछि थोरै विश्राम त चाहिन्छ नै।"
सैनिक प्रमुखका रुपमा आफ्नो अन्तिलम संवोधनमा कटवालले आफ्नी श्रीमतीको प्रशंशा गर्न पनि छोडेनन्। " पाँच छ महिना जसो उनलाई हरेक दिन सेतो साडी तयार पार्न र पशुपति आर्यघाट 'बुक' गर्न फोनमा धम्की आइरह्यो। तर उनले कहिल्यै हरेश खाइनन्," कटवाले थपे, "मरेको खवर कसैले भन्दा पनि उनले त्यसलाई समेत सहज रुपमा लिएर बसिन्।"

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by