ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, September 1, 2009

अन्तरिम संविधान, २०६३ अनुसार

image

माधव, प्रचण्ड, गिरिजा, झलनाथ, उपेन्द्र र बाबुरामको संविधानसभा सदस्यता खारेज हुने

माधव नेपाल लगातार ३१ बैठकमा, प्रचण्ड ५० बैठकमा, गिरिजाप्रसाद कोइराला ५७ बैठकमा, झलनाथ खनाल ३१ बैठकमा, विजयकुमार गच्छदार २४ बैठकमा, उपेन्द्र यादव १८ बैठकमा, महन्थ ठाकुर २२ बैठकमा, राजेन्द्र महतो २२ बैठकमा, शेरबहादुर देउवा ४८ बैठकमा, डा . बाबुराम भट्टराई २१ बैठकमा, रामबहादुर थापा 'बादल' २० बैठकमा अनुपस्थित ।

नेपालको अन्तरिम संविधान, २०६३ को भाग ७, धारा ६७ को उपधारा

'ग’ मा स्पष्ट व्यवस्था छ 'सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा संविधानसभाका सदस्यको स्थान रिक्त भएको मानिनेछ ।’ संविधानको यो व्यवस्थाअनुसार सबै प्रमुख दलका सबैजसो ठूला नेता संविधानसभा सदस्यबाट मुक्त हुने भएका छन् ।


खगेन्द्र पन्त/नयाँ पत्रिका

काठमाडौं, १५ भदौ

नयाँ नेपालको नयाँ संविधान लेख्न भन्दै जनताबाट निर्वाचित ठूला दलका ठूला नेता बैठकमा लगातार अनुपस्थित भएका कारण संविधानसभा सदस्यबाट पदमुक्त हुने भएका छन् । सभाध्यक्ष सुवास नेम्वाङले लगातार ध्यानाकर्षण गराउँदा पनि नेताहरूले बेवास्ता गरेकाले संविधानतः ठूला नेताहरूको सभासद् पद खारेज हुने भएको हो ।

नेपालको अन्तरिम संविधान, २०६३ को भाग सात, धारा ६७ को 'ग' मा स्पष्ट लेखिएको छ, 'सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएका सदस्यको पद रिक्त भएको मानिनेछ ।'

अन्तरिम संविधान बनाउने नेताहरू नै लगातार अनुपस्थित भएर संविधानको खिल्ली मात्र उडाएका छैनन्, आफ्नै पद पनि गुमाउने अवस्था निम्त्याएका छन् ।

प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, सद्भावना अध्यक्ष्ा राजेन्द्र महतोको संविधानसभा सदस्यता संविधानतः खारेज भइसकेको छ ।

संविधानअनुसार कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई र महासचिव रामबहादुर थापा बादल पनि अब सभासद् छैनन् ।

संवैधानिक व्यवस्थाअनुसार 'सभालाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित भएमा' सभासद्को पद रिक्त हुनेछ । संविधानसभा सचिवालय स्रोतका अनुसार कुनै पनि ठूला नेताले बैठकमा आफू अनुपस्थित हुने पूर्वसूचना सचिवालयलाई गराएका छैनन् । बरु सभाध्यक्ष नेम्वाङले संवैधानिक व्यवस्थाबारे पटक-पटक सचेत गराउँदा पनि नेताहरूले वास्ता नगरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार ठूला नेताहरूको संविधानसभा सदस्यता नै खारेज हुँदै छ भनेर सभाध्यक्षले संसदीय दलहरूमार्फत सबै नेतालाई चेतावनी दिएका थिए । 'अध्यक्षज्यूले हाम्रैअगाडि पनि धेरैपटक भन्नुभएको छ । तर, नेताहरूले वास्तै गर्नुभएन,' संविधानसभाका एक अधिकारीले नयाँ पत्रिकासित भने ।

सचिवालय यसबारे औपचारिक रूपमा बोल्नै चाहँदैन । 'त्यो स्तरका नेताहरूको कुरा छ, कसरी बोल्ने ? तर, कुनै पनि नेताहरूले सचिवालयलाई अनुपस्थितिबारे पूर्वजानकारी गराएका छैनन्,' संविधानसभा सचिवालयका एक अधिकारीले भने ।

सचिवालयले राख्ने सभासद्हरूको हाजिरी रेकर्डअनुसार कांग्रेस सभापति कोइराला संविधानसभाको एउटै बैठकमा पनि उपस्थित छैनन् जब कि अहिलेसम्म ५७ वटा बैठक बसिसकेका छन् । उनले सचिवालयलाई अनुपस्थित हुने जानकारी पनि गराएका छैनन् । सभापति कोइराला तीनवटा बैठकमा भने उपस्थित थिए । तर पनि उनले सचिवालयको हाजिरी पुस्तिकामा हस्ताक्षर गर्ने 'कष्ट' गरेनन् ।

त्यस्तै, कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा दुईवटा बैठकमा मात्रै उपस्थित छन् । सचिवालयको हाजिरी रेकर्डअनुसार पहिलो बैठक र गत वर्षकै ९ साउनमा बसेको नवौं बैठकमा मात्रै देउवाको उपस्थिति देखिन्छ । बाँकी ५५ बैठकमा उनी गयल छन् ।

माओवादी अध्यक्ष प्रचण्ड अहिलेसम्म चार बैठकमा मात्रै उपस्थित छन् । सचिवालयको रेकर्डअनुसार प्रचण्ड गत वर्षको १५ जेठमा बसेको संविधानसभाको पहिलो र २९ जेठमा बसेको तेस्रो बैठकमा उपस्थित थिए । त्यसपछि उनी गत वर्षकै ६ साउनमा बसेको सातौं बैठकमा उपस्थित भए । गत वर्षको ८ साउनदेखि यस वर्षको ३२ साउनसम्मका ५० वटा बैठकमा उनी लगातार अनुपस्थित छन् ।

गत वर्षको २६ पुसमा मन्त्रिपरिषद्बाट सभासद्मा मनोनीत भएका प्रधानमन्त्री माधवकुमार नेपाल संविधानसभाका ३ वटा बैठकमा मात्रै उपस्थित भएका छन् । २४ जेठमा बसेको ३५औं बैठकयताका २२ बैठकमा उनी लगातार अनुपस्थित छन् । एमाले अध्यक्ष झलनाथ खनाल संविधानसभाका ५७ बैठकमध्ये १३ बैठकमा मात्रै उपस्थित भएका छन् । उनी गत वर्षको ३१ चैतमा बसेको २६औं बैठकमा अन्तिमपटक उपस्थित भएका थिए । त्यसयताका ३१ बैठकमा उनी लगातार अनुपस्थित छन् ।

उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार गत २१ जेठयताका कुनै पनि बैठकमा उपस्थित छैनन् । त्यसयता संविधानसभाका २४ बैठक बसेका छन् ।

तमलोपा अध्यक्ष महन्थ ठाकुर २२ बैठकमा लगातार अनुपस्थित भएका छन् । गत वर्षको २६ पुसदेखि यस वर्षको १२ असारसम्म बसेका बैठकमा उनी गयल छन् । संविधानसभा चुनावमा सर्लाही क्षेत्र नम्बर ६ बाट चुनाव हारेका ठाकुरलाई मन्त्रिपरिषद्ले गत वर्षको २५ असारमा सभासद्मा मनोनीत गरेको थियो । गत वर्षको ४ साउनमा बसेको सातौं बैठकबाट संविधानसभामा उपस्थित हुन थालेका उनी अहिलेसम्म १५ बैठकमा मात्रै हाजिर छन् ।

फोरम अध्यक्ष उपेन्द्र यादव १८ वटा बैठकमा लगातार अनुपस्थित भएका छन् । सचिवालयको रेकर्डअनुसार गत वर्षको २६ पुसदेखि यस वर्षको २७ जेठसम्म बसेका कुनै पनि बैठकमा उनी हाजिर छैनन् । उनी अहिलेसम्म संविधानसभाका १२ वटा बैठकमा मात्रै उपस्थित देखिन्छन् ।

सद्भावना अध्यक्ष तथा आपूर्तिमन्त्री राजेन्द्र महतो अहिलेसम्म १० वटा बैठकमा मात्रै उपस्थित छन् । गत वर्षको १४ पुसदेखि यस वर्षको ८ असारसम्म उनी लगातार २२ बैठकमा गयल छन् । ११ असारको बैठकमा उनी उपस्थित थिए । तर, त्यसयताका १६ बैठकमा उनी फेरि लगातार अनुपस्थित भएका छन् ।

माओवादी उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री डा. भट्टराई पनि लगातार २२ बैठकमा अनुपस्थित छन् । सचिवालयको हाजिरी रेकर्डअनुसार उनी गत वर्षको २५ कात्तिकदेखि यस वर्षको १९ जेठसम्मका सबै बैठकमा गयल छन् ।

त्यस्तै, माओवादी महासचिव रामबहादुर थापा बादल अहिलेसम्म ७ वटा बैठकमा मात्रै हाजिर भएका छन् । गत वर्षको ८ साउनदेखि यस वर्षको १६ वैशाखसम्मका २० बैठकमा उनी लगातार गयल छन् । त्यसपछि पाँचवटा बैठकमा उपस्थित बादल १ साउनदेखि ३२ साउनसम्मका ११ बैठकमा फेरि लगातार अनुपस्थित छन् ।

संविधानसभा सचिवालय स्रोतका अनुसार अन्य दर्जन नेताको पनि अनुपस्थितिका कारण सदस्यता खारेज हुन्छ ।

Source:[http://www.nayapatrika.com/newsportal/cover_story/5525.html]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by