ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 2, 2009

सिजन सुरु नहुँदै पर्यटक आगमन बढ्यो



सुशील भट्टराई, काठमाडौं, भदौ १७- पर्यटक सिजन सुरु हुनु एक महिनाअघिबाट नेपाल भ्रमणमा आउने पर्यटक संख्या बढ्न थालेको छ। पर्यटक आगमनको उच्च सिजनका रुपमा सेप्टेम्बर अक्टोबर र नोभेम्बरलाई लिइन्छ। सन् २००९ को आठौं महिना अगस्टमा नेपाल घुम्न आउने विदेशी पर्यटक संख्या बढेको छ।
हवाई मार्ग हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटक अगस्टमा ५ प्रतिशतले बढेका छन्। संख्या २७ हजार ६ सय ७६ पुगेको छ। नेपाल पर्यटन बोर्डले मंगलबार जनाएअनुसार अघिल्लो वर्ष अगस्टमा २६ हजार ३ सय १३ मा अडेको थियो।
गतमहिना भारतीय पर्यटक संख्या १० प्रतिशतले घटेको छ। उनीहरुको संख्या ७ हजार १ सय ४५ मा अडेको छ। अघिल्लो वर्ष सोही महिनामा ७ हजार ९ सय २७ पुगेको थियो। नेपाल आउने कूल पर्यटकको एक चौथाइ हिस्सा भारतीय पर्यटकले ओगट्छन्।
नेपाल भ्रमणमा आउने बंगलादेशी २३ र पाकिस्तानी २२ प्रतिशतले बढेका छन्। श्रीलंकाली भने १ प्रतिशतले घटेका छन्। सार्क राष्ट्रबाट ६ प्रतिशतले पर्यटक घटेर ८ हजार ६ सय ९ भएको छ। अघिल्लो वर्ष ९ हजार १ सय ४६ पुगेको थियो।
चीनबाट ८७ प्रतिशतको भारी वृद्धि भएर संख्या १ हजार ३१ पुगेको छ। यो संख्या अघिल्लो वर्ष ५ सय ५० मात्र थियो । मलेसियाबाट १३ र ताइवानबाट २१ प्रतिशतले घटे पनि जापान २७ सिंगापुर ४४ दक्षिण कोरिया २१ र थाइल्यान्डबाट ९ प्रतिशतले पर्यटक बढेका छन्।
गतमहिना जापानी १ हजार ५ सय २१ कोरियाली १ हजार ५२ थाइ २ सय ६९ मलेसियाली २ सय २३ सिंगापुरे २ सय ३४ र ताइवानी ३ सय ३७ नेपाल आइपुगेका थिए। एसियाबाट २६ प्रतिशत बढेर ४ हजार ६ सय ६७ पुगेको छ।
प्रमुख पर्यटन बजार युरोपबाट बढेका छन् भने अमेरिकी पर्यटक संख्यामा उतारचढाव आएको छैन। युरोपबाट नेपाल आउने पर्यटक ११ प्रतिशतले बढेका छन्। संख्या ९ हजार ५ सय ९६ पुगेको छ। अघिल्लो वर्ष ८ हजार ६ सय ८२ मा अडेको थियो। अमेरिकाबाट १ हजार ५ सय ९९ आएका थिए। गतवर्ष अगस्टमा यो संख्या १ हजार ५ सय ९३ थियो।
पर्यटन व्यवसायीले विश्व आर्थिक मन्दीको प्रभावका कारण युरोप र अमेरिकाबाट आउने पर्यटक संख्यामा केही महिनाअघिसम्म गिरावट आए पनि अब विस्तारै सुधारको संकेत देखिएको बताए। सामान्यतया जनवरी फ्रेबुअरी र मार्च पर्यटक कम आउने सिजन हो।
युरोपेली देशमा बेलायतबाहेक अरु देशबाट पर्यटक बढेको तथ्यांक रेकर्ड गरिएको छ । गतमहिना बेलायती पर्यटक २४ प्रतिशतले घटेर १ हजार ६ सय ३७ भएको छ । अघिल्लो वर्ष २ हजार १ सय ५२ पुगेको थियो।
प्रुान्सबाट ९ प्रतिशत जर्मनी ३४ नेदरल्यान्ड २० स्वीट्जरल्यान्ड १० स्पेन ९ स्वीडेन २२ अस्ट्रिया ६६ बेल्जियम ३५ डेनमार्क ५० इटाली १३ र नर्वे ४ प्रतिशतले बढेका छन्।
बोर्डका अनुसार गत आठ महिनामा २ लाख १७ हजार २ सय ४२ पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ३ दशमलव ३ प्रतिशतले कम हो। गतवर्ष २ लाख २४ हजार ६ सय ७९ पुगेका थिए।
गत अगस्टमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ हजार ६ सय ८५ विदेशी पर्यटक बाहिरिएका थिए। उक्त अवधिमा ४६ हजार ८ सय ५२ नेपाली स्वदेश भित्रिएका र ५१ हजार ६ सय ५३ बाहिरिएका थिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by