ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, August 30, 2009

दूध आपूर्ति ठप्प

काठमाडौं, भदौ १४ - दूधको उपभोक्ता मूल्यमा वृद्धि भए पनि कृषकले उचित भाउ नपाएको भन्दै आपूर्ति बन्द गरेका छन् ।

केन्द्रीय दुग्ध सहकारी संघको अगुवाइमा चरणबद्ध आन्दोलन सुरु भएपछि दुग्ध विकास संस्थानलगायत अन्य निजी डेरीहरूले पनि दूध पाउन सकेका छैनन् ।

आपूर्तिक घटेपछि बजारमा पनि दूधको अभाव भएको छ । किसानले प्रतिलिटर २ रुपैयाँ ७६ पैसा वृद्धि हुनुपर्ने माग गरेका छन् । 'कम्पनीहरूले उपभोक्ता मूल्य बढाएर नाफा खाने,' सहकारीका अध्यक्ष ढाकाराम अर्यालले भने, 'किसानले भने उत्पादन लागतै नपाएपछि आन्दोलन गर्नुपरेको हो ।' उपभोक्ता मूल्य भने प्रतिलिटर २ रुपैयाँ बढेको छ ।

चरणबद्ध आन्दोलनका क्रममा शुक्रबारदेखि किसानहरूले दूधको ढुवानी र बिक्री-वितरण बन्द गरेपछि शनिबार चितवन, काभ्रे, भक्तपुरलगायतका क्षेत्रबाट दूध भित्रिन सकेन । किसानको अवरोधका कारण अहिले दूध आपूर्ति २० देखि ३० प्रतिशत प्रभावित भएको संस्थानले जनाएको छ । संस्थानले उपत्यकाभित्र दैनिक ४ लाख लिटर दूध आपूर्ति गर्छ । उपभोक्ता मूल्य बढे पनि बढी मूल्य पाउने ठाउँमा पनि प्रतिलिटर एक रुपैयाँ २६ पैसा भन्दा कुनै किसानले नपाउने भएकाले कृषक मूल्य बढाउन माग गरिएको अर्यालले बताए । 'उपभोक्ताबाट बढी मूल्य असुल्ने तर दुग्ध उत्पादक कृषकलाई उपेक्षा गर्ने रवैयाका कारण आन्दोलन गर्नु परेको हो,' उनले भने ।

सरकारले माग सुनुवाइ नगरे सडक आन्दोलन गर्ने चेतावनी संघले दिएको छ । संघले आइतबार दुई घन्टा र सोमबार ३ घन्टा चक्काजाम गर्ने कार्यक्रम छ ।


Source:[http://ekantipur.com/nepali/kolmain.php?nid=212183]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by