ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, August 31, 2009

दसगजामा भारतीयद्वारा बस्ती

चेतन अधिकारी

कोरोबारी, भारतीयले झापाको दक्षिण कोरोबारीस्थित दसगजा क्षेत्रमा करिब ६० वटा टहरा बनाएका छन् । दसगजामा दुवै देशका नागरिकले बसोबास र खेतीपाती गर्न नपाइने नियम विपरीत तीन दिनदेखि भारतीयले धमाधम बस्ती बसालिरहेको स्थानीयले बताएका छन् ।

भारतीय नागरिकले आफूहरूलाई कन्काइखोलाको बाढीले डुबाएपछि यहाँ आश्रय लिन आएको बताएका छन् । उनीहरूले आफूहरू अस्थायी रूपमा मात्र यहाँ बस्न आएको बताए । कोरोबारीका बासिन्दा भने उनीहरूलाई भारतको स्थानीय सरकारले नै संरक्षण दिएर यहाँ ल्याएको बताउँछन् ।

कोरोबारी २ का एक जना स्थानीयले दिएको जानकारीअनुसार दसगजामा भारतीयको बस्ती बसेपछि त्यहाँको सीमा सुरक्षा बल -एसएसबी) का जवान बिहान उज्यालो भएदेखि राति अबेरसम्म नेपाली गाउँमा हतियारसहित गस्तीमा निस्कने गरेका छन् । 'दसगजाको बस्तीलाई सुरक्षा दिन एसएसबीको टोली सधैं गस्तीमा निस्कने गरेको छ', उनी भन्छन्, 'नेपालका मिडिया र प्रशासनलाई तिमीहरूले खबर नगर्नु भन्ने गरेका छन् ।' भ्ाारतीय आएर बसेको खबर पाएपछि शुक्रबार पुगेको कोरोबारी प्रहरी चौकी र सशस्त्र प्रहरी बल बैगुनधुराको टोलीलाई भारतीय नागरिकले घेराबन्दी गरेर नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

त्यस क्रममा भारतीय नागरिकको पिटाइबाट प्रहरी चौकी कोरोबारीका हवल्दार दानबहादुर खडका गम्भीर घाइते भएको सशस्त्र प्रहरी निरीक्षक पदमबहादुर बोहोराले जानकारी दिए । बोहोराका अनुसार आफूहरूलाई घेर्ने क्रममा भारतीय नागरिकले नेपालका प्रहरीहरू आएमा तिनलाई घेराबन्दीमा राखेर हामीलाई खबर गर्नु भनेका छन् भन्दै थिए ।

यो दसगजा क्षेत्र भारतको किसनगञ्ज जिल्लाअन्तर्गत सिंगियामारी ग्रामपञ्चायतसँग जोडिएको क्षेत्र हो । प्रहरीले जनाएअनुसार यो १४२ नम्बर जंगे पिल्लर आसपासको क्षेत्रमा पर्छ । आदर्श मावि कोरोबारीका शिक्षक एवं स्थानीय योगेन्द्र राजबंशीका अनुसार भारतीय बासिन्दाले बनाएका टहरा दसगजाबाट नेपालको सीमातिर बनाइएका छन् । 'उनीहरूको नियत सीमा मिच्नु नै हो भन्ने देखिन्छ', राजबंशीले भने, 'गलत नियत थिएन भने दसगजाको बीचमा टहरा बनाउँथे तर सबै नेपालको भूमितिर फर्काइएको छ ।'

दसगजा आसपास नेपालीको खेतबारी छ । भारतीयहरूले ती जमिनमा ल्याएर गाइबस्तु बाँधिदिने गरेको दुखेसो स्थानीयको छ । स्थानीय प्रहरीले भारतीयलाई तीन दिनभित्र यहाँबाट हटिसक्नु भनेर निर्देशन दिए पनि उनीहरूले महिनादिनको समय मागेका छन् । तर भारतीय नागरिकले बनाएका घरको बनावट हेर्दा उनीहरू सधैं यही बस्ने गरी बनाएको जस्तो देखिने स्थानीय बासिन्दा देव नारायण राजबंशीले बताए ।

भारतीयले काठका, बाँसका बलिया खम्बा गाडेर, टिनको छाना हालरे घर बनाएका हुन् । 'उनीहरूले बनाएको आश्रयस्थल पक्कीजस्ता छन्', अतिक्रमण स्थल पुगेका सशस्त्र प्रहरी बैगुनधुरा बेस क्याम्पका असइ विजय महतले भने, 'अलिअलि गरेर यो ठाउँलाई उनीहरू स्थायी बसोबासस्थल बनाउन चाहेका छन् ।'

भारतको सिंगिया ग्राम पञ्चायत र नेपालको कोरोबारी २ को आमगाछीका बासिन्दा छिमेकीजस्ता थिए । बाढीले सिंगियाका बासिन्दा डुबानमा पर्दा आमगाछीका नेपालीले उद्धार गर्न सघाएका थिए । 'बस्तीभन्दा पूर्वमा पर्ने कमल खोलामा केराका थामको नाउँमा तर्दै उनीहरूलाई बाढीबाट जोगाएर बाटामा निकालेका थियौं', आमगाछीका अमरलाल राजबंशी भन्छन्, 'हामीले गरेको गुनको मात लागेछ, हाम्रै खेतबारी मिच्नेगरी घर बनाउन आइपुगे ।'

सीमा सुरक्षाबल चन्द्रगढीका डीएसपी अशोक शाक्यका अनुसार भारतीय ११ गते बेलुकादेखि उक्त स्थानमा बस्न थालेका हुन् । तिनलाई हटाउनका लागि आफ्नो कार्यालयबाट भारतीय समकक्षीसँग कुराकानी भइरहेको उनले जानकारी दिए ।

यता जिल्ला प्रहरीका एसपी विजय भट्टका अनुसार भारतको किसनगञ्ज जिल्लाका एसपी चौरसिया र डीएसपी किरणवालासँग दसगजाबाट भारतीय हटाउने विषयमा कुराकानी भइरहेको छ । 'बाढीपीडित आएर बसेका छन्, १५ दिनको म्याद दिनुपर्‍यो भनेर समय मागेका छन्', भट्टले कान्तिपुरसित शनिबार भने, 'दैवीप्रकोपमा परेकालाई यो समय दिन सकिएला भन्ने सोचेका थियौं तर घरको बनावट हेर्दा दैवीप्रकोप बहानामात्र हो किजस्तो लागेको छ ।'

Source:[http://www.kantipuronline.com/kolnepalinews.php?&nid=212388]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by