ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, September 4, 2009

सीमा अतिक्रमणविरुद्ध वाइसीएलले अभियान थाल्ने


काठमाडौ‌, भदौ १९ (नागरिक)-
एकिकृत नेकपा माओवादीको भातृ स‌गठन वाइसीएलले भारतीय पक्षबाट भएको सीमा अतिक्रमणबारे अध्ययन गर्न केन्द्रीयस्तरमा सीमा अनुगमन टीम बनाउने, सीमा सुरक्षा समिति गठन गर्ने, सीमासम्बन्धी जनचेतना अभियान सञ्चालन गर्ने र सीमा अनुगमनको कार्यक्रम थाल्ने भएको छ।

वाइसिएलका केन्द्रीय संयोजक गणेशमान पुनले शुक्रबार पत्रकार सम्मेलन गरी भदौ १६ गतेदेखि १८ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले भ्रष्टाचारी, तस्कर, कालाबजारिया, अपराधी, गुन्डा र रौतहट, बुटबल र दाङलगायत ठाउँमा हत्या गर्नेविरुद्ध तथ्य सङ्कलन, भण्डाफोर, सामाजिक बहिष्कार, कानुनी कारबाहीका लागि युवा परिचालन गरी अदालत र प्रहरी बलको समन्वयका साथ कानुनी दायरामा लिन सङ्घर्ष गर्ने निर्णय गरेको बताए।

बैठकले जाजरकोट, रुकुम, दैलेख, अछामलगायत जिल्लामा भएको झाडापखाला तथा महामारी प्रभावित क्षेत्रमा स्वयम्सेवक परिचालन गर्ने, अति प्रभावित क्षेत्रमा केन्द्रित अभियान सञ्चालन गर्ने जानकारी दिए।

राष्ट्रिय स्वाधिनता, नागरिक सर्वोच्चता, शान्ति, नयाँ संविधान निर्माण, राष्ट्रिय युवा नीति, युवाहरूको राजनीतिक-आर्थिक-शैक्षिक-रोजगारी-स्वास्थ्य सहितका मुद्दाका आधारमा गणतन्त्रवादी, देशभक्त, वामपन्थी, राष्ट्रवादी युवाहरूबीच राष्ट्रिय, क्षेत्रीय र स्थानीय तहमा वार्ता, तालमेल, सहकार्य र सहमति गरी साझा कार्यक्रम तय गर्ने योजना बनाएको संयोजक पुनले बताए।

बैठकले आगामी फागुनसम्ममा सङ्गठनको राष्ट्रिय सम्मेलन गर्ने निधो गर्नुका साथै संविधानसभा, सरकारी कामकाज, विकास निर्माण, सहकारी लगायतका कामहरूलाई राष्ट्रिय-क्षेत्रीय-राज्य-जिल्ला र स्थानीय स्तरमा व्यवस्थित गर्न अभियान थाल्ने निर्णय पनि गरेको छ। सहिद परिवारहरूको घर तथा भौतिक संरचना मर्मत-सम्भार, जनसेवा, जनश्रमका लागि ठोस योजना बनाउने, संयुक्त राष्ट्रिय सरकारका लागि संयुक्त राष्ट्रिय जनआन्दोलनद्वारा घोषित कार्यक्रममा सघाउने निर्णय पनि वाइसीएलले बैठकले गरेको छ।

महिला हिंसाजस्ता सामाजिक मुद्दामा आवाज उठाउने, सङ्गठनमा शुद्धीकरण गर्न अनुगमन छानबिन विभाग गठन गर्ने, दसै तिहारमा युवा भेटघाट-जनसम्बन्ध-जनसाँस्कृतिक कार्यक्रम गर्ने, सङ्गठनको सदस्यता विस्तार गरी १० लाख पुर्‍याउनेलगायतका निर्णयहरू पनि गरेको अध्यक्ष पुनले बताए।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by