ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 2, 2009

नेपाल- कतार हवाई संझौता/अब सातामा २८ उडान गर्न सकिने

दिनेश रेग्मी
दोहा , भदौ १७ - नेपाल र कतारका सरकारी अधिकारीहरुले कतारको राजधानी दोहामा दुई पक्षीय हवाई सेवा संझौता गरेका छन् । संझौतापछि दुवै देशका अधिकारीहरुले नागरिक उड्डयनलाई व्यवस्थित बनाउन मंगलवार पाँचबुदे समझदारी पत्र समेत तयार पारेका छन् ।
नेपाल- कतार संझौता अनुसार अबदेखि दुवै देशका यात्रु बाहक विमानहरुले हप्तामा २८ उडान भर्न पाउने भएका छन् । हाल कतार एयरवेजले हप्तामा १४ उडान र नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाईन्सले हप्तामा ४ उडान भर्दै आएको छ ।
यो संझौताबाट नेपालका निजी विमान कंपनीहरुलाई पनि दोहा उडान गर्न बाटो खुलेको छ । हप्तामा २८ उडान अनुमति पाएको नेपालले निजी हवाई कंपनीको सहयोग वीना सबै उडान भर्न सक्दैन ।
दुई दिनको बार्ता पछि भएको संझौतामा नेपालका तर्फबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव नगेन्द्रप्रसाद घिमिरे र कतार नागरिक उड्डय प्राधिकरणका अध्यक्ष अब्बुल अजिज मोहम्मद अल नोएमीले हस्ताक्षर गरेका छन् । नेपाल- कतार पहिलो हवाई संझौता २००२ मा भएको थियो । अहिले त्यसैलाई परिमार्जन र नविकरण गरिएको हो ।
यो संझाताबाट नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने वार्ताको नेतृत्व गरेका सचिव घिमिरेले कान्तिपुरसंगको कुराकानीमा बताएका छन् । उनले कतारसंग भएको नयाँ संझौताबाट युरोप र अमेरिकाबाट नेपाल आउने पर्यटकको आवागमनमा बृद्धि भई भ्रमण वर्ष समेत सफल हुने दावी गरे । नेपालले घोषणा गरेको पर्यटन वर्ष-२०११मा १० लाख विदेशी पर्यटक भित्राउने लक्ष लिएको छ ।
नेपाल-कतार संझौता अनुसार दुवै देशका माल बाहक विमानहरुले हप्तामा ७ उडान संचालन गर्न पाउने छन् । हालसम्म यो सेवा संचालन भएको थिएन । त्यस्तै, नेपालले काठमाडौंबाट दोहा आउँदा र दोहाबाट काठमाडौं जाँदा अन्य तीन वटा मध्यविन्दुमा यात्रुहरु लिन र छोड्न पाउने पनि भएको छ । त्यस्तै, नेपालले काठमाडौंबाट दोहा उडान गरेपछि दोहाबाट यात्रु लिएर अन्य तीन वटा गन्तव्यमा पनि जान पाउने छ । यो सुविधा नेपाली वायु कम्पनीले मात्र पाएको हो ।
संझौतामा अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठनले निर्दिष्ट गरेको ढांचा र प्रावधान सहितको हवाई सुरक्षा जांच गर्न पाउने र दुवै देशले नागरिक उड्डयन क्षेत्रमा सहयोग वृद्धि गर्दै लैजाने उल्लेख छ ।
संझौतापछि कान्तिपुसंग कुरा गर्दै नेपाल एयरलाईन्स कर्पोरेशन्सका निर्देशक राजुबहादुर केसीले निकट भविष्यमा काठमाडौं-दोहा उडानलाई दैनिक गर्ने योजना बनाएको बताए । नेपालले थप उडानहरु संचालन गर्न विमान किन्ने भने पनि हालसम्म ल्याएको छ्रैन ।
कतार एयरवेजले नेपालमा सन् १९९५ देखि दोहा- काठमाडौं उडान सुरु गर्दै आएको छ । नेपाल एयरलाईन्सले भने २००९ जनवरी १ देखि काठमाडौं-दोहा उडान सुरु गरेको हो । दोहाको लागि यस अघि नेपाल एयरलाईन्सले काठमाडौं- दुवई- दोहा संचालन गरेको थियो ।
बार्तामा नेपाली प्रतिनिधि मण्डलनका अन्य सदस्यहरुमा कानुन तथा न्याय मन्त्रालयमा सहसचिव नरेन्द्रमान श्रेष्ठ, नागरिक उड्यान प्राधिकरणका महानिर्देशक केशवराज खनाल, नागरिक तथा पर्यटन मन्त्रालयका उपसचिवद्वय सुरेश आचार्य र प्रभा वैद्य, र नेपाल एयरलाईन्स कर्पोरेशनका निर्देशक केसी सहभागी थए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by