ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 3, 2009

पशुपतिका नवनियुक्त भारतीय पुजारी गुप्तवासमा


केपी ढुंगाना/नयाँ पत्रिका

काठमाडौं, १७ भदौ

नेपाली मन्दिर पशुपतिनाथमा भारतीय पुजारी नियुक्त भएपछि तनाव सिर्जना भएको छ । संस्कृति मन्त्रालयको सिफारिस प्रधानमन्त्री माधवकुमार नेपालले अनुमोदन गरेपछि बुधबारबाट भारतीय नागरिक गिरीश भट्ट र राघवेन्द्र भट्ट नियुक्त भएका हुन् ।

भारतको कर्नाटकबाट एक साताअघि ल्याइएका दुवै पुजारी मन्दिरमा प्रवेश गर्न बुधबार बेलुकाबाट भण्डार तहबिल कार्यालयको गुफा बसेका छन् । तीन रातको गुप्तबासपछि पशुपति मन्दिरका मूलपुजारी महाबलेश्वरले दीक्षा दिएपछि दुवै पुजारीले वैधानिकता पाउनेछन् ।

कोषका सदस्यसचिव सुशील नाहाटाले पुजारी नियुक्ति भएको पुष्टि गर्दै भने, 'प्रधानमन्त्रीज्यूबाट दुवैको नियुक्तिको निर्णय भएपछि दुवैजना गुप्तबास बस्नुभएको छ ।'

पशुपति मन्दिरमा पाँचजना पुजारी रहने व्यवस्था भए पनि दुई भारतीय भट्ट गत वर्ष फर्किएपछि वासुकी मन्दिर र मूल मन्दिरका गरी दुईवटा पुजारीको पद रिक्त छ । रामचन्द्र भट्ट र कृष्णयोग भट्टले अस्वस्थताको कारण देखाउँदै दिएको राजीनामा स्वीकृत भएलगत्तै उनीहरू स्वदेश फर्किसकेका छन् ।

अघिल्लो सरकारले पशुपतिमा भारतीय पुजारी राख्ने परम्परा खारेज गर्दै नेपाली पुजारी राखेको थियो । तर, नेपाली पुजारीको नियुक्ति नीतिसंगत नभएको भन्दै विरोध भएपछि दुवै पुजारीको पद खाली थियो । तर, सरकार परिवर्तनसँगै कोषको नेतृत्व पनि परिवर्तन भएपछि भारतीय नागरिकलाई पुजारीमा नियुक्त गर्ने प्रक्रिया सुरु भएको थियो ।

कोष सञ्चालक परिषद्ले मन्दिरमा नयाँ भारतीय पुजारी खोज्न मूलपुजारी महाबलेश्वर भट्टको संयोजकत्वमा शिवशरण राजभण्डारी र विद्यानाथ भट्ट रहेको समिति गठन गरेको थियो । समितिलाई संस्कृति मन्त्रालयले १९ साउनमा दक्षिण भारतमा गएर पुजारी खोज्न अधिकार दिएको थियो । समितिले गिरीश र राघवेन्द्रलाई पुजारीको नाम चयन गरी संस्कृति मन्त्रालयले स्वीकृतिका लागि कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री नेपालसमक्ष सिफारिस गरेको थियो ।

अघिल्लो सरकारका पाला पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले 'नेपाली नागरिकलाई पशुपति मन्दिरको पुजारीमा नियुक्त गर्न सकिने' प्रावधानसहित पशुपति क्षेत्र विकास कोष कार्यव्यवस्था नियमावली, २०६६ को निर्माण गरेको थियो । सो नियमावलीमा मन्दिरको पुजारी नियुक्ति प्रतिस्पर्धाको आधारमा गरिने उल्लेख भए पनि संस्कृतिमन्त्री मीनेन्द्र रिजालले भारत गएर पुजारी ल्याउन समितिलाई निर्देशन दिएका हुन् ।

प्रतिस्पर्धाका आधारमा नेपाली वा भारतीय पुजारी नियुक्त गर्नुपर्ने माग राख्दै कोषका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । तर, आन्दोलनलाई बेवास्ता गर्दै प्रधानमन्त्री नेपालले भारतीय पुजारीलाई नियुक्तिको स्वीकृति दिएपछि बुधबारैबाट भारतीय पुजारी संस्कारअनुसार गुप्तबासमा गएका छन् कर्मचारीको आन्दोलन चर्किएको छ ।

कार्यव्यवस्था नियमावलीको प्रावधानअनुसार काम नभएको भन्दै आन्दोलनमा उत्रिएका कर्मचारीले दुवै पुजारीलाई गुप्तबास राख्न लैजानेक्रममा पशुपति मन्दिरको मूलढोकामा अवरोध गरेका थिए । सो क्रममा सुरक्षाकर्मी र कर्मचारीबीच झडप पनि भएको थियो ।

प्रदर्शनकारीले नियमावलीअनुसार प्रतिस्पर्धाको आधारमा पुजारीको चयन हुनुपर्ने र पुजारीको मासिक पारिश्रमिक तोकी मन्दिरको भेटी पारदर्शी गराउनुपर्ने माग राख्दै नाराबाजी गरी मूलढोकामा अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरी नवनियुक्त दुवै पुजारीलाई गुप्तबासमा पुर्‍याएको थियो ।

कोष कर्मचारीहरू मन्दिरको आम्दानी पारदर्शी र संस्थागत हुनुपर्ने र मन्दिरको रिक्त पुजारीमा नियुक्ति गर्दा कार्यव्यवस्था नियमावलीअनुसार नेपाली र भारतीय नागरिकबीच प्रतिस्पर्धा गराई योग्य र सक्षम पुजारीको चयन हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।

पशुपतिमा नेपाली पुजारी राख्न गठित संघर्ष समितिका संयोजक डा. ऋषि शर्माले नेपाली मन्दिर पशुपतिनाथमा नेपाली पुजारी राख्न आन्दोलन गर्ने र आवश्यक परे बलिदान दिने बताएका छन् । 'पशुपतिनाथमा फेरि पनि प्रतिस्पर्धाविना भारतीय पुजारी राखियो भने हामी नेपाली नपुंसक सावित हुनेछौँ, हामी नेपाली नपुंसक होइनौँ भन्ने सावित गर्न ज्यान दिन तयार छौँ,' उनले भने ।

आफ्नो मागका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएपछि कोष कर्मचारी थप कडा आन्दोलनको तयारीमा लागेको अखिल नेपाल सरसफाइ मजदुर संघ पशुपति एकाइका अध्यक्ष कुलप्रसाद उपाध्यायले बताए । उनले निर्णय नसच्याएसम्म कोषमा तालाबन्दी जारी राख्ने बताए ।

अहिलेसम्म मन्दिरको पूजामा मूलपुजारीको रूपमा महाबलेश्वर भट्ट र उनको सहयोगीमा रामाकारान्त भट्ट र गणेश भट्ट कार्यरत छन् । यी तीनजना पनि कामचलाउ मात्र हुन् । तीनैजनाले दिएको राजीनामा स्वीकृत भइसकेको छ ।

सदस्यसचिव नाहाटाले हाल कार्यव्यवस्था नियमावली निष्त्रिmय भएकाले कोषको ऐनमा व्यवस्था भएअनुसारको प्रक्रियाबाट भारतीय पुजारी नियुक्त गरिएको बताए । उनले भने, 'कार्यव्यवस्था नियमावलीअनुसार कुनै काम नगर्न अदालतले आदेश जारी गरेको वेलामा कसरी त्यही नियमावली टेकेर काम गर्ने ?'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by