ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 5, 2009

सजिलै भिसा पाउने मुलुक खोज्छन् विद्यार्थी

image

शैक्षिक मेलामा आउने अधिकांश विद्यार्थीले सहज भिसा पाउन सकिने मुलुकलाई विदेश अध्ययनका लागि जाने पहिलो सूचीमा राख्ने गरेका छन् । त्यसपछि गुणस्तरीय शिक्षा दिने शिक्षण संस्थालाई प्राथमिकता दिने गरेका छन् । शुक्रबारदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको 'नयाँ पत्रिका-नेका इन्टरनेसनल एजुकेसन फेयर २००९' मा आएको अधिकांश विद्यार्थीको धारणा हो यो ।

सहजताका हिसाबले मेलामा आएका विद्यार्थीले सबैभन्दा बढी युके र क्यानडाका बारेमा जानकारी लिने गरेका छन् । युके, क्यानडापछि अमेरिका र अस्ट्रेलियाका कलेज तथा युनिभर्सिटीका जानकारी लिने विद्यार्थी धेरै भएको परामर्शदाताले बताएका छन् ।

भृकुटीमण्डपमा शैक्षिक मेला आयोजना भएको जानकारी पाएर शुक्रबार प्रदर्शनी हलमा आएका सुजन मानन्धर एक दर्जनभन्दा बढी परामर्शदाताबाट धेरै जानकारी पाएको बताउँछन् । अमेरिका अध्ययनको लक्ष्य बनाएका मानन्धरले त्यहाँका राम्रा कलेज र विषयका बारेमा प्रशस्त जानकारी पाएको बताए । 'म मिडियम खालको कलेज, उपयुक्त विषय र फी स्ट्रक्चरबारे बुझ्न आएको थिएँ, अपेक्षा गरेको सूचना पाएँ,' मानन्धरले भने । उनीसँगै आएका दुर्गेश थापाले एकै ठाउँमा धेरै सूचना पाउन सकेकामा खुसी व्यक्त गरे ।

मेलामा आएका सुबोध पाण्डे 'भिसा प्रोसेसिङ' सजिलो भएकाले युके पढ्न जाने लक्ष्य राखेको बताउँछन् । पाण्डेले भने, 'प्रोसेसिङ सजिलो छ भनेर युकेको बारेमा बुझेँ राम्रो परामर्श पाएँ ।'

शर्मिला पौडेल अमेरिकामा राम्रो शिक्षा र सहजै रोजगारी पाउने भनेको सुनेर त्यहाँका कलेजबारे जानकारी लिन आएको बताइन् । शर्मिलाले नयाँ पत्रिकासँग भनिन्, 'अमेरिकाको बारेमा बुझेँ एक-दुईवटा कलेज मैले खोजेजस्तै पाएँ ।' युकेमा 'जब' ग्यारेन्टी भने पनि पछि नपाउने समस्या छ भन्ने सुनेर उनले अमेरिका जाने सोच बनाएको बतााइन् ।

विदेश अध्ययनबारे परामर्श लिन आउने धेरै विद्यार्थीको चासो सहज रूपमा जान पाउने देशमा केन्दि्रत हुने गरेको परामर्श व्यवसायीले बताएका छन् । सताक्षी एजुकेसन फाउन्डेसनका उमेश ढुंगेलले धेरै विद्यार्थीले देशको वातावरण, शिक्षाको गुणस्तरभन्दा सहजतालाई महत्त्व दिने गरेको बताए । 'यहाँ आउने अधिकांश विद्यार्थी युके, अमेरिका, अस्ट्रेलिया जहाँ भए पनि सजिलै जान पाए हुन्थ्यो भन्ने सोच्छन्,' ढुंगेलले भने, 'पल्लो घरको दाई गइसक्यो, म पनि जान पाए हुन्छ भन्ने पनि सोचेका हुन्छन् ।' विद्यार्थीमा 'करियर अप्सन' मै जानकारी कम भएको र गुणस्तरमा धेरैले ध्यान दिन नसकेको अनुभव उनले सुनाए ।

पाँच देशका कलेज तथा युनिभर्सिटीका बारेमा जानकारी दिने योङ एजुकेसन सेन्टरकी अञ्जना श्रेष्ठले युके र क्यानडाका बारेमा धेरैले जानकारी लिने गरेको अनुभव सुनाइन् । श्रेष्ठले भनिन्, 'फी स्ट्रक्चर र 'जब' कहाँ पाउँछ भनेर सोध्छन्, राम्रो कलेज र जति पनि पैसा तिर्छु भन्ने थोरै आउँछन् ।' विद्यार्थीले जुन देशका बारेमा चासो राखे पनि राम्रा र नराम्रा पक्ष औंल्याइदिने गरेको उनले बताइन् ।

करियर लन्चर एजुकेसन प्रालिका काउन्सिलिङ डाइरेक्टर सन्तोषसिंह बस्नेतले पनि सबैभन्दा बढी युके र क्यानडाका बारेमा जानकारी लिन आएको अनुभव सुनाए । युकेको टाएर फोर र क्यानडाको नयाँ आउन लागेको भिसा सिस्टमका बारेमा चासो राखेको बस्नेत बताउँछन् । 'कम खर्चमा, सजिलै भिसा पाउन सकिने र त्यसपछि मात्र गुणस्तरीय शिक्षामा चासो दिएको देखियो,' बस्नेतले भने ।

अधिकांश नेपाली विद्यार्थीमा घरबाट पैसा लगेर विदेशमा अध्ययन गर्न नसक्ने अवस्था भएकाले पनि धेरैले सहजता र रोजगारीका बारे चासो लिने गरेको परामर्श व्यवसायीको अनुभव छ । मेलामा आउने अधिकांश विद्यार्थीले चाहेको सूचना पाएको र विदेश अध्ययनको जिज्ञासा मेटिएको बताए ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by