ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 2, 2009

विदेशी च्यानलमा विज्ञापन रोक्ने तयारी

रोशन अधिकारी

काठमाडौं, भदौ १७ - सरकारले विदेशी टेलिभिजन च्यानलबाट आउने विज्ञापन रोक्ने -क्लिन फिड) को तयारी गरेको छ । क्लिन फिडमार्फत प्रसारण गर्दा कार्यक्रमबाहेक विज्ञापन बजाउन पाइँदैन । यसले नेपाली सञ्चारमाध्यममा विज्ञापन बढ्नेछ । हाल ३ अर्ब रुपैयाँ बराबर रहेको विज्ञापन बजार यो लागू भएपछि ५ अर्बको हाराहारीमा पुग्ने विज्ञापन व्यवसायीले बताएका छन् ।
नेपालमा बजिरहेका विदेशी विज्ञापन रोकिएमा उनीहरूले स्थानीय सञ्चारमाध्यममा विज्ञापन गनुपर्ने भएकाले बजार विस्तार हुने व्यवसायीहरू बताउँछन्् ।
नेपाल विज्ञापन संघ
-आन) ले विदेशी टेलिभिजन च्यानले क्लिन फिड प्रसारण गर्नुपर्ने माग राखेर केही समयअघि सञ्चार मन्त्रालयमा अध्ययन बुझाएको थियो । 'यो विषय प्रक्रियामा छ,' सूचना तथा सञ्चार सचिव सुशील घिमिरेले कान्तिपुरलाई भने । यसअघि चर्चा भए पनि कुरा अघि नबढेकाले व्यवसायी भने यसपटक लागू हुने आशामा छन् । 'सकारात्मक कुरा आएको छ,' विज्ञापन संघका अध्यक्ष निर्मलराज पौडेलले भने, 'नयाँ नियमावली पारित भएपछि लागू हुने
भनिएको छ ।'
हाल अधिकांश विदेशी च्यानलले विज्ञापनसहित सःशुल्क प्रसारण गरिरहेका छन् । 'अन्तर्राष्ट्रिय मान्यताअनुरूप विदेशमा प्रसारण गर्दा विज्ञापन बजाउन पाइँदैन,' विज्ञापन संघका अध्यक्ष निर्मलराज पौडेलले भने, 'विज्ञापन बजाउने हो भने शुल्क लिन पाइँदैन ।'
मुख्यरूपमा भारतीय टेलिभिजन च्यानलले नेपालमा प्रसारण गरेबापत शुल्क उठाउँदै विज्ञापन पनि प्रसारण गरेकाले यसलाई रोक्नुपर्ने उनले बताए । विज्ञापन प्रसारण गरे शुल्क नलिन र शुल्क लिए विज्ञापन प्रसारण नगर्ने व्यवस्था मिलाउन आन र अन्य संघसंस्थाले सरकारसमक्ष केही समयअघि प्रतिवेदन प्रस्तुत गरेका थिए । 'हामीले सरकारसँग छलफल गरेका छौं,' उनले भने, 'यसले ग्राहकलाई पनि उत्तिकै बेफाइदा भएको छ ।' क्लिन फिडमा प्रसारण गर्नुपर्ने कानुन बनाइए विज्ञापन बजार र ग्राहक दुवैलाई फाइदा हुने उनले बताए ।
'विश्वभरिको मान्यता नेपालमा लागू भएको छैन,' विज्ञापन व्यवसायी रञ्जित आचार्यले भने, 'विभिन्न देशमा यसबारे कडा कानुन बनाइएको छ ।' यससम्बन्धी कानुन बन्न सके विज्ञापनको संख्यामा पनि वृद्धि आउने उनले बताए । 'बंगलादेशमा विदेशी च्यानलले विज्ञापन प्रसारण गर्न पाउँदैनन् र स्वदेशी विज्ञापनमा पनि कम्तमिा ५० प्रतिशत स्थानीय स्रोत साधन प्रयोग गर्नुपर्छ,' उनले भने, 'यसले रोजगारी र आय दुवै बढाएको छ ।'
भारतमा निर्मित वस्तु नेपाल आयात गर्दा १० प्रतिशत विज्ञापन शुल्क मूल्यमा जोडिएको पनि क्लिन फिड प्रसारण गर्नुपर्ने पौडेल बताउँछन् । 'हामीले १० प्रतिशत विज्ञापन शुल्कसहित सामान खरिद गर्नुपर्छ,' उनले भने, 'तर अधिकांश उत्पादकले नेपालमा विज्ञापन नै तयार गर्दैनन् ।' क्लिन फिडमार्फत च्यानल प्रसारण गरे त्यो रकमको विज्ञापन नेपालमा नै तयार गर्न बाध्यता हुने उनी बताउँछन् ।
'अहिले नेपाली विज्ञापन बजार ३ अर्ब रुपैयाँ बराबरको छ,' पौडेलले भने, 'क्लिन फिड भए बजार ५ अर्बको हुन सक्छ ।' विज्ञापनसहित विदेशी च्यानल प्रसारण हुनेभएकाले केही अन्तर्राष्ट्रिय कम्पनीले नेपालमा 'मिडिया प्लानिङ' गर्ने नगरेको उनले बताए । 'नेपालमै मिडिया प्लानिङ हुने हो भने सञ्चार माध्यममा मात्र नभएर आउडोरमा पनि विज्ञापन बढ्छ,' उनले भने, 'यसले रोजगारी बढाउनेछ ।'
नेपालमा उपलब्ध विदेशका अधिकांश कम्पनीले विज्ञापन नगरेको आचार्य बताउँछन् । '७० प्रतिशत कम्पनीले विज्ञापन नै गरेका छैनन्,' आचार्यले भने, 'ती विज्ञापन नेपालमा नै बनाउने बाध्यता भए बजारको ठूलो विकास हुनेछ ।'
क्लिन फिड प्रसारणका लागि केबल टेलिभिजन कम्पनीहरूसँग पनि आग्रह गरेको व्यवसायीले बताए । 'हामीले केबल टेलिभिजन कम्पनीसँग पनि कुरा गरिसकेका छौं,' पौडेलले भने, 'यसमा च्यानल डिलरको पनि सहयोग चाहिन्छ ।' दक्षिण एसियाका मुलुक पाकिस्तान र बंगलादेशमा क्लिन फिड प्रसारण भइरहेकाले नेपालमा पनि यो लागू हुन सक्ने व्यवसायी बताउँछन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by