प्रताप बिष्ट/हेटौंडा(कान्तिपुर) -
चार अर्ब रुपैयाँ लगानी भएको शिवओम सिमेन्टको निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा स्थापना गर्न लागिएको यो उद्योगमा ४ व्यावसायिक समूहले लगानी गरेका छन् । हेटौंडा बजारबाट करिब ११ किलोमिटर पूर्वमा रहेको सिमेन्ट उद्योगमा एचआर गोयल, शारदा, लक्की र मारुती समूहले लगानी गरेका हुन् । उद्योगको दैनिक उत्पादन क्षमता १ हजार २ सय मेट्रिकटन हुनेछ । हाउजिङ, औद्योगिक र पूर्वाधार निर्माणका कारण सिमेन्टको माग व्यापक भइरहेको अवस्थामा उद्योगको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । लगानीकर्ता आगामी वैशाख महिनादेखि आंशिक रूपमा सिमेन्ट उत्पादन गर्ने जनाउँछन् । 'वैशाखदेखि नै सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ,' शिवओम सिमेन्टका अध्यक्ष सुरेन्द्र गोयलले भने । उद्योगले पूर्ण क्षमताअनुसारको उत्पादन भने २०१० देखि गर्नेछ ।
हटिया ४ र ५ वडाको लक्ष्मीपुरमा निर्माणाधीन शिवओम सिमेन्टको निर्माण कार्य भने गत वर्षदेखि नै सुरु गरिएको हो । भारतीय निर्माण कम्पनीको संलग्नतामा भौतिक निर्माण भइरहेको उक्त उद्योगमा ३ सय कामदार भारतबाट आएका छन् । दैनिक ४ सयजना निर्माण कार्यमा खटिएको कम्पनीले जनाएको छ । निर्माण कार्यमा अझ तीवत्रा आउने भएकाले कामदारको संख्या अझ थपिने देखिन्छ ।
देशमै उपलब्ध चुनढुंगालाई कच्चा पदार्थका रूपमा प्रयोग गरेर कम्पनीले सिमेन्ट उत्पादन गर्नेछ । कम्पनीका अनुसार सिमेन्टको कच्चा पदार्थ अन्य कम्पनीलाई पनि बिक्री गरिनेछ । हेटौंडा सिमेन्ट उद्योगले पनि चुनढुंगालाई नै कच्चा पदार्थका रूपमा प्रयोग गरे पनि अन्यलाई बिक्री भने गर्ने गरेको छैन ।
चुनढुंगाको उत्खनन् अनुमति लिएको कम्पनीले उक्त स्थानबाट करिब १६ किलोमिटरको दूरीमा कारखाना स्थापना गरेको छ । उत्खनन् सुकौरा र बूढीचौरको पहाडमा हुनेछ । यसका लागि उद्योगले ३० वर्षको लिज सरकारसँग गरेको छ ।
हेटौंडा सिमेन्ट उद्योगले प्रयोग गर्दै आएको ओखरे खानीको चुनढुंगाभन्दा आफ्नोको गुणस्तर राम्रो भएको दाबी शिवओम सिमेन्ट प्रालिका योजना प्रमुख तथा शिरोमणि ढकालले गरे । 'ओखेरखानीको चुनढुंगामा ४५ देखि ४६ प्रतिशत लाइम छ,' उनले भने, 'सुकौरा र बूढीचौरको चुनढुंगामा ४८ प्रतिशतभन्दा बढी लाइम पाइन्छ ।' उद्योगलाई दैनिक १ हजार ८ सय मेटि्रकटन चुनढुंगा आवश्यक पर्नेछ ।
उद्योगमा जडान गर्ने मुख्य उपकरण जर्मनी क्रुप पोलिसस प्रविधिमा आधारित रहेका छन् । ती उपकरणहरू भारतको पुनाबाट ल्याउन अर्डर भइसकेको योजना प्रमुख ढकालले बताए । ५२ बिघा जमिनमा उद्योग स्थापना गर्न लागिएको छ ।
'मुलुकमा हालसम्म सञ्चालनमा आएका र निर्माणाधीन सिमेन्ट उद्योगमा सबैभन्दा बढी क्षमता भएको शिवओम सिमेन्ट उद्योग हो,' योजना प्रमुख ढकालले भने । उद्योग सञ्चालनमा आएपछि ३ सयजनाले प्रत्यक्ष रोजगारी पाउनेछन् भने २ हजार ५ सयजनाभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाउने उद्योगले जनाएको छ ।
उद्योग सञ्चालन गर्न १० मेगावाट विद्युत आवश्यक पर्छ । काराखानास्थल वरिपरि धूलो नियन्त्रण गर्न ब्याक हाउस जडान गर्ने कम्पनीले जनाएको छ । 'ब्याक हाउस जडान गरेर पूर्ण रूपमा धूलो नियन्त्रण गर्छौं,' योजना प्रमुख तथा प्राविधिक ढकालले भने ।
नेपालमा गत वर्ष २ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सिमेन्ट भारतबाट आयात गरिएको थियो । कुल खपतको ७० प्रतिशत सिमेन्ट भारतबाट आयात गरिन्छ । 'शिवओम सिमेन्ट उद्योगजस्ता तीन दर्जनभन्दा बढी सिमेन्ट उद्योग स्थापना भएपछि मात्र नेपाल सिमेन्टमा आत्मनिर्भर हुन सक्छ,' कम्पनीका अध्यक्ष सुरेन्द्र गोयलले भने । हाल सञ्चालनमा रहेका उद्योगहरूले वाषिर्क ७ लाख मेट्रिकटनको हाराहारीमा सिमेन्ट उत्पादन गरिरहेका छन् ।
No comments:
Post a Comment