ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 28, 2009

राजस्व लक्ष्यभन्दा १२ प्रतिशत बढी

काठमाडौ- 

सरकारले चालू आर्थिक वर्षको चार महिनामा लक्ष्यभन्दा १२ प्रतिशत बढी राजस्व असुली गरेको छ । असुली गत वर्षको यसै अवधिभन्दा ४१ प्रतिशतले बढी छ । लक्ष्यभन्दा बढी भए पनि अघिल्ला महिनाहरूभन्दा वृद्धिदर घटेको छ । अघिल्लो वर्षभन्दा साउनमा ५३, भदौमा ५४ तथा असोजमा ५२ प्रतिशतको वृद्धि दर थियो । 'आर्थिक वर्षको सुरुमै हामीले ऐतिहासिक वृद्धिदर हासिल गरेका थियौं,' राजस्व सचिव कृष्णहरि बाँस्कोटाले कान्तिपुरसँग भने, 'यस्तो वृद्धिदर सधै कायम राख्न गाह्रो हुन्छ ।' लक्ष्य हासिल गर्न गत वर्षभन्दा २४ प्रतिशत बढी असुली गरे पुग्ने भएकाले चिन्तित हुने कारण नरहेको उनले बताए । सबैभन्दा बढी असुली हुने ठाउँ वीरगन्ज भन्सारमा कात्तिकमा तनाव भएकाले प्रभाव परेको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार केशव आचार्यले बताए । भन्सार विभागले असुल गर्नेमा ५० प्रतिशतभन्दा बढी योगदान वीरगन्ज भन्सारको छ । कुल असुलीमा भने यो भन्सारको हिस्सा २६ प्रतिशत छ । 
कात्तिकसम्म ४६ अर्ब ६९ करोड रुपैयाँ असुली भएको छ । चार महिनामा ४१ अर्ब ३३ करोड रुपैयाँ असुल गर्ने लक्ष्य थियो । कर राजस्वबाट ४१ अर्ब १६ करोड २५ लाख रुपैयाँ असुली भएको छ । गैरकर राजस्वबाट ५ अर्ब ५२ करोड ९५ लाख रुपैयाँ असुली भएको छ । 

सरकारले भन्सार महसुल, अन्तःशुल्क, आयकर, शिक्षा सेवा शुल्क, रजिस्ट्रेसन दस्तुर, सवारी साधन कर तथा गैरकर राजस्वमा लक्ष्यभन्दा बढी राजस्व प्राप्त गरेको छ । तर मूल्य अभिवृद्धि कर (भ्याट) चाहिँ लक्ष्यभन्दा करिब ४ प्रतिशतले घटेको छ । भ्याटमा सबैभन्दा बढी ५१ अर्ब ५६ करोड रुपैयाँ असुली गर्ने लक्ष्य छ ।

निर्यात गरेपछि फिर्ता भएको भ्याट घटाइएको कारण असुली लक्ष्यभन्दा कम देखिएको आन्तरिक राजस्व विभागका उपमहानिर्देशक लक्ष्मण अर्यालले बताए । 'विभागले लक्ष्यभन्दा १० प्रतिशत बढी भ्याट उठाएको छ,' उनले भने । बढी भ्याट फिर्ता हुनुले निर्यात बढेको संकेत गर्ने उनले जनाए । 

शिक्षा सेवा शुल्कमा सबैभन्दा बढी २ सय ६२ प्रतिशतले वृद्धि भएको छ । अन्तःशुल्कमा ७३ प्रतिशतको वृद्धि दर छ । रजिस्ट्रेसन दस्तुरमा १९ प्रतिशतले वृद्धि भएको छ । भन्सार महसुलतर्फ १६ प्रतिशतले वृद्धि भएको छ ।

भन्सार महसुल १० अर्ब ३१ करोड ४३ लाख असुली भएको छ । भ्याट १५ अर्ब ६२ करोड ६६ लाख असुली भएको छ । अन्तःशुल्क ७ अर्ब २० करोड ९५ लाख रुपैयाँ असुली गरेको छ । आयकरतर्फ ५ अर्ब ४ करोड ८५ लाख रुपैयाँ असुली भएको छ । रजिस्ट्रेसन दस्तुर १ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ असुली भएको छ । १ अर्ब १६ करोड ५५ लाख रुपैयाँ सवारी साधन कर असुली भएको छ ।

भन्सार विभागले सबैभन्दा बढी २२ अर्ब ९४ करोड ७ लाख रुपैयाँ योगदान गरेको छ । आन्तरिक राजस्व विभागले १५ अर्ब २९ करोड ९५ लाख रुपैयाँ असुली गरेको छ । अन्य विभागहरूबाट २ अर्ब ९२ करोड २३ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by