ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 25, 2009

माओवादी यही सरकारमा आउनुपर्छ : देउवा

दिलबहादुर छत्याल, धनगढी(नागरिक)- 

नेपाली कङ्ग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधान मन्त्री शेरबहादुर देउवाले सरकार परिवर्तन नहुने उल्लेख गर्दै माओवादी यही सरकारमा आउनुपर्ने बताएका छन्। 'यो सरकार परिवर्तन हुँदैन, माओवादीलाई पनि समावेश गराएर यही सरकारलाई राष्ट्रिय सरकार बनाउनुपर्छ'- उनको भनाइ थियो। नेपाली कङ्ग्रेसका नेता टेकबहादुर चोख्यालको १३ औं पुण्यतिथिका अवसरमा धनगढीमा आयोजित श्रद्धान्जली सभामा भाग लिन आएका देउवाले विमानस्थलमा पत्रकारसँगको भेटघाटमा माओवादीलाई यही सरकारमा ल्याउन कोसिस गर्नुपर्ने बताए।उनले भने- माओवादीलाई सरकारमा ल्याउन कोसिस गर्नुपर्छ। बजेट पारितका लागि सदन चल्न दिएको कुरा सकारात्मक भएको बताउँदै यसले सहमतिका लागि सहज वातावरण बनेको उनले बताए।
राष्ट्रपतिको कदम गलत भएको भनेर सङ्कल्प प्रस्ताव सदनमा लैजाने कुरा नैतिकताले पनि नमिल्ने उनले बताए। 'हिजो १८ दल हामीले नै राष्ट्रपतिकहाँ गएर प्रधान सेनापति हटाउने निर्णय रोकिदिनुपर्‍यो भनेर भनेका हौं। राष्ट्रपतिले चालेको कदम संवैधानिक पनि हो। अहिले त्यो कदम गलत भनेर कसरी भन्न मिल्छ ? नैतिकताले पनि भन्न मिल्दैन'- उनले भने । सेना समायोजन र पुनर्स्थापना गरिनुपर्ने उनको धारणा थियो। तुरन्तै उच्चस्तरिय संयन्त्र गठन भएर समस्या समाधान गरिने पनि उनले बताए।

बुद्ध एयरको उडानबाट श्रद्धान्जली सभामा भाग लिन धनगढी आएका नेता देउवा भावविह्वल देखिएका थिए। विमानस्थलमा पुगेका कार्यकर्ताले स्वागतार्थ दिएका फूलगुच्छा पनि उनले समातेनन्। नमस्कार गर्दै उनी फूलगुच्चा नसमाती अगाडि बढेका थिए।

सुदूरपश्चिमममा नेपाली कङ्ग्रेसका स्वर्गीय नेता चोख्याल देउवापछिका महत्वपूर्ण नेता मानिन्थे।  कैलाली जिविस सभाकक्षमा आयोजित नेपाली कङ्ग्रेसका नेता तथा पूर्व कानुन तथा न्याय मन्त्री चोख्यालका श्रद्धान्जली सभामा बोल्ने वक्ताले उनको निधनले अपुरणीय क्षति पुगेको बताएका थिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by