ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 24, 2009

पौरख गरे यहीँ 'अरब'


रुद्र खड्का, नेपालगन्ज(नागरिक) 

पछिल्लो पुस्ता काम र अवसरको खोजीमा विदेशिने चलन बढ्दो छ। स्वदेशमा केही गर्न सकिने अवस्था हुँदाहुँदै पनि विदेशिन मरिहत्ते गर्ने प्रचलनकै बीचमा बाँके, कोहलपुरका बलबहादुर बस्नेत भने जर्मनी बस्न पाउने अवसर छाडी कृषि खेतीमा लाग्दा सफलता पाएका छन्। मेहनत र लगनशील भएर काम गर्दै जाँदा विदेशको कमाइसरह खेतीबाट उनले आम्दानी गरिरहेका छन्। स्नातक तहको पढाइ पूरा गरे पछि कुनै रोजगारी नपाएपछि केही समय गुजारा चलाउन उनलाई निकै हम्मे परेको थियो।
त्यही बीचमा जर्मनीका आफन्तले बस्नेतलाई उत्तै बोलाए। जर्मनी बस्ने सुविधा पाएका आफन्तले बोलाएपछि उनकी श्रीमती जर्मनी गइन्। तर, उनी जान मानेनन्। श्रीमान् जर्मनी जान नमानेपछि श्रीमती पनि असी दिन बसेर नेपाल फर्किइन्।



जर्मनी जाने अवसर त्यागेपछि अरुको जग्गा भाँडामा लिएर तरकारी खेती गर्न थालेका बस्नेतले अहिले विदेशभन्दा बढी कमाइ गर्छन्। 'बस्ने घर बनाए। बिरामी हुँदा र बच्चाको पढाइका लागि अरुसँग माग्नुपरेको छैन,' उनी सुनाउँछन्, 'श्रम र जाँगर गर्नेलाई विदेश जानैपर्छ भन्ने छैन।'

खेती गर्नलाई उनको आफनो जग्गा छैन। तरकारी खेती गर्न पाँच वर्षका लागि लिजमा लिएको बीस बिघा जग्गाको समयावधि भर्खरै सकिएको छ। यतिखेर पचास बिघा जग्गा खोजिरहेको जानकारी दिँदै उनले भने, 'प्रयोग हुन नसकेको सरकारी जग्गा पाए अझै राम्रो हुन्थ्यो।' यस्तो जग्गा मिल्यो भने सरकारलाई राजस्व तिर्न पाइन्थ्यो भन्ने उनको चाहना छ। 'जग्गा लिजमा लिएर आलु, केरा, आँप, बदाम र हरियो तरकारी फलाएँ। तरकारी बेचबिखनबाट करिब २० लाख आम्दानी भयो । बजारमा हरियो तरकारी फलाउने व्यक्तिको रूपमा चिनिन पाए। उनले बेरोजगारलाई रोजगारी दिए।

जग्गा लिजमा लिएर खेती गर्ने बस्नेत तरकारी र फलफूल बिक्रेता पनि हुन्। उनी मध्य तथा सुदूर पश्चिमका विभिन्न जिल्लामा उत्पादन हुने फलफूल र तरकारी खेती खरिद गर्छन्। यसपाली जुम्लाबाट ५० मेट्रिक टन स्याउ खरिद गरेका उनले कैलालीका केरा, सल्यानका सुन्तला र सल्यान कपुरकोटको तरकारी खरिद गरी विभिन्न जिल्लामा बिक्री गर्छन्।



काममा सफलता पाउँदै गएपछि यो वर्षको विश्व खाद्य दिवसमा कृषि विभागले बस्नेतलाई पुरस्कार पनि दियो। पुरस्कारले अझै हौसला बढाएको उनले बताए। कृषि खेतीबाटै उनले दुई छोरालाई राजधानीका नाम चलेका कलेजमा ए लेभल र इन्जिनियरिङ पढाइरहेका छन्। आफूले उत्पादन तथा खरिद गरेकेा तरकारी र फलफूल ओसार्न बस्नेतले तीन वटा पिक अप गाडी किनेका छन्। कामका बेला ३०-३५ जना र सामान्य अवस्थामा ५-७ जनालाई रोजगारी दिइरहेका छन्।

नेपालमा एउटा पनि कृषि विश्वविद्यालय नहुनु लाजमर्दो उनको ठम्याइ छ। कृषि बालीका लागि बिमा गर्ने काम थालिए देशमा भोकमरीको अवस्था नआउन सक्ने उनको अनुमान छ। 'यो वर्ष पश्चिम तराईको धान बाली बाढीले नष्ट पार्‍यो। बिमा गर्न सकेकेा भए पश्चिममा पूर्वको अन्न ल्याएर आवश्कता पूरा हुन्थ्यो,' उनले भने।

दश वर्षमा करोडपति बनेका बस्नेतले कृषिमा कति लगानी गरेका थिए त? सुरुमा २-३ लाख लगानी गरिएको उनले जानकारी दिए। १० वर्षअघि तरकारी खेती गरी बिक्री गर्ने उनी एक्लो थिए। उनको बिक्री देखेर अन्य व्यक्तिले कोहलपुरमा तरकारी व्यापार थालेका छन्। तरकारी खेतीबाट सफलता पाउँदै गएका बस्नेतको कोहलपुरमा शीत भण्डार बनाउने योजना छ। कोहलपुरको व्यापार बढेपछि उनी आजकल काठमाडौलगायत ठूला सहरमा मात्र नभई भारतमा तरकारी र फलफूल पठाउँछन्। उनकाअनुसार तरकारी र फलफूलबाट वर्षमा ३ करोडभन्दा बढी कारोबार हुन्छ।

१०-१५ हजारका लागि खाडी मुलुक जानु भन्दा गाउँमै जाँगर चलाएर कृषि खेती गर्न सके देश र जनतालाई फाइदा हुने उनको धारणा छ। 

2 comments:

  1. वास्तवमा जाँगर र सिप भए आफ्नै देशमा पैसा कमाउन सकिन्छ। विदेश भनेपछि के के न पाईन्छ भनेर आँखा चिम्लेर पैसा दलालहरुलाई सुम्पन चाहन्छन तर त्यही पैसा लगानी गरेर मेहनत गरे नेपालमा नै पैसा कमाउन सकिन्छ भन्ने उदाहरण दिएका छन् हाम्रा पौरखी दाजु बल बहादुर बस्नेत ले। सबै नेपालीहरुले यही शिक्षा लिनु नै बुद्धिमानी हुन्छ। धन्यवाद।।

    ReplyDelete
  2. ramro kura garnu bho suman ji le, ho sabai nepali haru le yesari paurakh garne ho bhane bideshinu nai pardaina.

    ReplyDelete

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by